Butwal Today

भारतीय पर्यटक भित्र्याउने नयाँ रणनीति

सीमापार पर्यटन जोड्ने प्रयास, भारतीय ट्राभल एजेन्टलाई लुम्बिनीदेखि चितवनसम्मको यात्रा
१० कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

भैरहवा ।
नेपालमा बाढी आयो, सडक बिग्रिए, यात्रा जोखिमपूर्ण छ–यस्तै सन्देशले भारतीय पर्यटकको मनमा नेपालप्रति डर पैदा गरिरहेका बेला पर्यटन व्यवसायीहरू उनीहरूलाई उल्टै नेपाल घुम्न निम्तो दिइरहेका छन् । सन्देश एउटै छ—केही क्षेत्र प्राकृतिक विपत्तिबाट प्रभावित भए पनि नेपालका धेरैजसो पर्यटकीय गन्तव्यमा घुमफिर गर्न सकिन्छ ।

यही सन्देश लिएर आइतबार साँझ भारतका ट्राभल एजेन्ट, पर्यटन क्षेत्रका विज्ञ र कन्टेन्ट क्रियटरको एउटा समूह बेलहिया नाका हुँदै नेपाल आएको छ । उनीहरूको उद्देश्य केवल घुम्नु होइन, यहाँ देखेका ठाउँ, अनुभव गरेका आतिथ्यता र पर्यटनका सम्भावनालाई भारतका विभिन्न राज्यसम्म पु¥याउनु हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको पर्यटन प्रवद्र्धन समितिले ‘नेपाल–इन्डिया क्रस बोर्डर टुरिजम कनेक्ट’ अभियानमार्फत यो पहल गरेको हो । संघका प्रवक्ता तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष सोम सापकोटाका अनुसार भारतका करिब २३ जना ट्राभल एजेन्ट, ब्लगर र पर्यटन क्षेत्रका व्यक्तिलाई नेपालका गन्तव्य देखाएर वास्तविक अवस्था बुझाउने प्रयास गरिएको छ ।

प्राकृतिक विपत्तिको खबरले पर्यटकको मनमा कस्तो असर पार्छ भन्ने कुरा पर्यटन व्यवसायीले पछिल्लो समय अनुभव गरिरहेका छन् । कुनै एउटा क्षेत्रमा बाढीपहिरो जाँदा त्यसको प्रभाव कहिलेकाहीँ पूरै देशको पर्यटन छविमा पर्छ । यात्रा सुरक्षित नहुने आशंकाले पर्यटकले योजना रद्द गर्छन्, होटलका बुकिङ घट्छन् र पर्यटनमा निर्भर व्यवसाय प्रभावित हुन्छन् ।
नेपालबारे बनेको यही धारणा बदल्न भारतीय पर्यटन व्यवसायीलाई प्रत्यक्ष भ्रमण गराइएको सापकोटा बताउँछन् । उनका अनुसार पर्यटकलाई नेपालका गन्तव्यको वास्तविक अवस्था देखाउनु र त्यसको सन्देश आफ्ना ग्राहक तथा सामाजिक सञ्जालका दर्शकसम्म पु¥याउनु अभियानको मुख्य उद्देश्य हो ।

बेलहिया नाकाबाट सुरु भएको यात्रामा लुम्बिनी, रामग्राम स्तूप र चितवनको अमलटारीलगायतका गन्तव्य समेटिएका छन् । बुद्धको जन्मस्थल, बौद्ध सम्पदा, थारु संस्कृति, जंगल सफारी र पर्यटकलाई लक्षित होटल तथा आतिथ्य सेवाबारे उनीहरूलाई जानकारी गराइएको छ ।

पर्यटन व्यवसायीको बुझाइमा भारतीय पर्यटकलाई नेपालबारे जानकारी दिनु मात्र पर्याप्त छैन, उनीहरूलाई यहाँ आउनुको कारण पनि दिनुपर्छ । धार्मिक आस्था, प्रकृति, वन्यजन्तु, संस्कृति र पारिवारिक घुमफिरलाई एउटै यात्रामा जोड्न सके नेपाल भारतीय पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ ।
लुम्बिनीको ढोकाबाट भारतसँग पर्यटनको सम्बन्ध

नेपाल–भारत सीमाको बेलहिया नाका व्यापार र आवागमनको प्रवेशद्वार मात्र होइन, भारतीय पर्यटकलाई लुम्बिनी र आसपासका गन्तव्यसम्म ल्याउने महत्वपूर्ण मार्ग पनि हो । यही सम्भावनालाई उपयोग गर्दै लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्ले एनआरएनएसँग सहकार्य गरेको छ ।

परिषद्की कार्यकारी निर्देशक शारदा बस्यालका अनुसार भारतबाट आएका पर्यटन व्यवसायीलाई लुम्बिनी प्रदेशसहित नेपालका विभिन्न पर्यटकीय स्थलसँग परिचित गराउनु र तिनको प्रचारप्रसार बढाउनु कार्यक्रमको उद्देश्य हो ।
बुद्ध जन्मस्थल लुम्बिनी विश्वभर परिचित भए पनि आसपासका अन्य बौद्ध सम्पदा र पर्यटकीय गन्तव्यले अपेक्षित पहिचान पाउन सकेका छैनन् । रामग्राम स्तूपजस्ता सम्पदालाई लुम्बिनी भ्रमणसँग जोड्न सके पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ । त्यस्तै, लुम्बिनीबाट चितवनसम्मको यात्रा विस्तार गर्न सके धार्मिक पर्यटनसँगै प्रकृति र संस्कृतिमा आधारित पर्यटनको सम्भावना पनि बढ्छ ।
यसका लागि भारतीय ट्राभल एजेन्ट र नेपाली पर्यटन व्यवसायीबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्नु महत्वपूर्ण छ । उनीहरूले नेपालका गन्तव्यलाई आफ्ना भ्रमण प्याकेजमा समेट्न सके प्रचारको प्रभाव पर्यटक आगमनमा देखिन सक्छ ।
नेपाल भ्रमण गर्दै आएका भारतीय कन्टेन्ट क्रियटर ऋषि अरोरा बाढीपहिरोसम्बन्धी समाचार र वास्तविक अवस्थाबीच ठूलो अन्तर रहेको बताउँछन् । विगत डेढ वर्षदेखि नेपालका विभिन्न ठाउँ घुमिरहेका उनले प्राकृतिक विपत्तिका कारण बनेको नकारात्मक धारणालाई बदल्न प्रत्यक्ष अनुभव साझा गर्नुपर्नेमा जोड दिएका छन् ।

उनको सन्देश सरल छ—नेपालका धेरैजसो पर्यटकीय गन्तव्यमा घुम्न सकिन्छ, त्यसैले एउटा क्षेत्रको विपत्तिलाई लिएर पूरै देशबारे धारणा बनाउनु हुँदैन । उनले भारतीय पर्यटकलाई परिवार र साथीभाइसँग नेपाल भ्रमण गर्न आग्रह गरेका छन् ।
इन्डो–नेपाल टुरिजम वेल्फेयर सोसाइटीका संस्थापक डा. जतिन्दर पाल सिंह पनि भारतीय पर्यटकलाई नेपाल ल्याउन नियमित प्रयास भइरहेको बताउँछन् ।

काठमाडौँ होटल संघका अध्यक्ष सुरेश बरालसँगको सहकार्यमा नेपालका विभिन्न क्षेत्रको पर्यटन प्रवद्र्धन गर्दै आएका उनले भारतका विभिन्न राज्यमा नेपालको प्रचार गरेर पर्यटकको संख्या बढाउने लक्ष्य राखेको बताए ।
नेपाल घुमेर फर्किएका पर्यटकको अनुभव, सामाजिक सञ्जालमा देखाइने दृश्य र ट्राभल एजेन्टको सिफारिसले नयाँ पर्यटकलाई निर्णय लिन प्रभाव पार्न सक्छ । त्यसैले पर्यटन व्यवसायीले परम्परागत प्रचारसँगै प्रत्यक्ष अनुभवमा आधारित सामग्रीलाई पनि महत्व दिन थालेका छन् ।

पर्यटकलाई निम्तो छ, तर बाटो सहज छ ?

नेपालको पर्यटन प्रवद्र्धनमा एउटा व्यावहारिक प्रश्न भने अझै बाँकी छ—पर्यटकलाई नेपाल आउन आग्रह त गरिन्छ, तर उनीहरूलाई सहज रूपमा आउन र बस्न सक्ने वातावरण कति छ ?

काठमाडौँ होटल संघका अध्यक्ष सुरेश बरालका अनुसार भारतीय पर्यटकले सीमा क्षेत्रमा लामो सवारी लाइन र पटकपटकको जाँचका कारण सास्ती भोग्नुपरेको गुनासो गरेका छन् । लामो समय नेपालमा बस्न चाहने पर्यटकका लागि ३० दिनको समयसीमासम्बन्धी व्यवस्था पनि पुनरावलोकन गर्नुपर्ने उनको माग छ ।

उनका अनुसार पर्यटकलाई एउटा प्रदेशबाट अर्को प्रदेशसम्म सहज रूपमा घुमाउन यातायात, सूचना र पर्यटन सेवाबीच समन्वय आवश्यक छ । भारतका विभिन्न राज्यमा पर्यटनसम्बन्धी सम्पर्क कार्यालय स्थापना गरी प्रचारप्रसार विस्तार गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

यी समस्या समाधान नभएसम्म प्रचारले मात्र अपेक्षित परिणाम दिन नसक्ने पर्यटन क्षेत्रका जानकारहरूको बुझाइ छ । पर्यटकलाई नेपालबारे राम्रो जानकारी दिनु पहिलो चरण हो; सीमा पार गर्ने प्रक्रिया सहज बनाउनु, गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउनु र गुणस्तरीय सेवा दिनु त्यसपछिका महत्वपूर्ण काम हुन् ।

एनआरएनएको ९२ भन्दा बढी देशमा रहेको सञ्जाललाई नेपालको पर्यटन प्रवद्र्धनमा उपयोग गर्न सकिने सोम सापकोटाको विश्वास छ । विदेशमा रहेका नेपालीमार्फत नेपालको पर्यटकीय सम्भावना अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन र डायस्पोराको लगानीलाई होटल, आतिथ्य सेवा तथा पर्यटनका अन्य क्षेत्रमा आकर्षित गर्न सकिने अपेक्षा गरिएको छ ।
सापकोटाका अनुसार अभियान पर्यटन व्यवसायीको सहयोग र प्रायोजनमा सञ्चालन गरिएको हो । यसको लक्ष्य तत्काल पर्यटकलाई नेपाल घुमाउनु मात्र नभई भारतीय पर्यटन व्यवसायी र नेपाली व्यवसायीबीच दीर्घकालीन सहकार्यको आधार तयार गर्नु पनि हो ।

अन्ततः नेपालका लागि चुनौती पर्यटकीय गन्तव्यको अभाव होइन, भएका गन्तव्यलाई सही रूपमा चिनाउनु र पर्यटकको यात्रा सहज बनाउनु हो । लुम्बिनीको धार्मिक आस्था, रामग्रामको ऐतिहासिक महत्व र चितवनको प्राकृतिक आकर्षणलाई एउटै पर्यटन मार्गमा जोड्न सके भारतीय पर्यटकको बसाइ र खर्च बढ्ने सम्भावना छ ।

बाढीपहिरोपछि बनेको नकारात्मक छवि बदल्ने यो अभियानको सफलता अब प्रचारमा मात्र होइन, त्यसपछि नेपाल आउने पर्यटकको संख्यामा देखिनुपर्ने नेपाल होटल संघ, लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको छ । भारतीय ट्राभल एजेन्टले यहाँ देखेका गन्तव्यलाई आफ्ना प्याकेजमा समेट्छन् कि समेट्दैनन्, सीमा क्षेत्रमा पर्यटकले भोग्ने झन्झट घट्छ कि घट्दैन र पर्यटन व्यवसायले त्यसको लाभ पाउँछ कि पाउँदैन—यसैले अभियानको वास्तविक उपलब्धि निर्धारण उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?