© 2026
गुल्मी।
गुल्मीका विभिन्न कोतघर तथा मन्दिरहरूमा यतिबेला परम्परागत सराय नाच कोजाग्रत पूर्णिमाको दिनसम्म भव्य रूपमा प्रदर्शन गरिएको छ । दसैँ सकिए लगत्तै एकादशीदेखि सुरु भएको सराय नाच कोजाग्रत पूर्णिमाका दिनसम्म नाच्ने प्रचलन छ ।
गुल्मी ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अत्यन्त धनी मानिन्छ । बडादसैँको एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म जिल्लाका विभिन्न शक्तिपीठ, कोत र ऐतिहासिक स्थलहरूमा परम्परागत सराय नाचको रौनक छाउने गर्दछ । मन्दिर तथा कोतहरूबाट खुकुरी, तरबार, खँुडा लगायतका परम्परागत हतियार निकालेर बाजागाजाको तालमा नाच्दै खेलिने यो नाच गुल्मीको प्रमुख सांस्कृतिक पहिचानको रूपमा स्थापित बनेको छ ।
विशेषगरी गुल्मीका ऐतिहासिक तथा प्रसिद्ध स्थानहरूमा सराय नाचको मुख्य आकर्षण रहने गर्दछ । धुर्कोट गाउँपालिकाको ऐतिहासिक धुर्कोटदरबार कोतमा परम्परागत शैलीमा भव्य रूपमा सराय नाच प्रदर्शन गरिएको छ । यस्तै इस्मा गाउँपालिकाको बुल्म, तालतुङ् लगायतका क्षेत्रहरूमा हजारौँ श्रद्धालु तथा दर्शकहरूको उपस्थितिमा सराय नाच नाच्ने परम्परा छ ।
त्यसैगरी मालिका गाउँपालिकाको अर्जै, छाप र घमिरमा पनि दसैँपछिको सराय नाचको विशेष रौनक छाएको छ । मुसीकोटको ऐतिहासिक जोगिथुम मन्दिर, छत्रभूूमि लगायतका क्षेत्रहरू तथा मदाने गाउँपालिकाको रोल्ममा पनि उत्सवका साथ सरायँ मनाइन्छ । सदरमुकाम तथा आसपासका क्षेत्रहरू जस्तै रेसुङ्गा नगरपालिकाको अर्खलेको जोगीथुम, धागीथुम र छत्रकोट गाउँपालिकाको चोयगामा पनि परम्परागत सराय नाच आयोजना गरिएको छ ।
गुल्मीमा खेलिने सरायँ नाच केवल मनोरञ्जनमा मात्र सीमित नभई यसको गहिरो धार्मिक, सामाजिक र सांस्कृतिक महत्व रहेको छ । असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीक मानिने विजयादशमीका अवसरमा देवीको आराधना गरी हतियारको पूजाआजा गरेर सरायँ खेल्ने परम्परा रहँदै आएको छ । परम्परागत पञ्चैबाजा, नर्सिङ्गा, कर्नाल र दमाहको तालमा विभिन्न मौलिक लोकभाका गाउँदै नाच्ने यस नाचले समाजमा आपसी सद्भाव, मेलमिलाप र मित्रवत भावनालाई थप प्रगाढ बनाउन समेत मद्दत पुगेको बताईन्छ ।
बाइसे–चौबिसे राज्यकालदेखि चल्दै आएको यो ऐतिहासिक संस्कृतिलाई जोगाउनु आजको प्रमुख आवश्यकता बनेको छ । पछिल्लो समय युवापुस्ताको वैदेशिक रोजगारी र बसाइँसराइका कारण मौलिक परम्परा संकटमा पर्न सक्ने जोखिम बढेकाले स्थानीय तह र विभिन्न संघसंस्थाहरूले सराय नाचको संरक्षण र पुस्तान्तरणका लागि विशेष योजना ल्याउनुपर्ने सरोकारवालाहरूको जोड रहेको छ ।
सराय नाच हेर्नको लागि टाढाटाढाबाट पुगेका मानिसहरूको बाक्लो उपस्थिति रहेको थियो । गुल्मीमा एकादशी, द्वादशी, त्रयोदशी र पूर्णिमाका दिन विभिन्न स्थानमा सराय नाच हुने गर्दछ । पूर्णिमाका दिन धुर्कोट, अर्जै र जोगिथुममा विशेष रूपमा सराय नाच प्रर्दशन गर्ने परम्परा छ । सराय नाचलाई प्राचीन युद्धकलाको झल्को दिने परम्पराका रूपमा लिइन्छ । यसलाई देवीप्रतिको श्रद्धा र धार्मिक आस्थाको प्रतीक समेत मानिन्छ । स्थानीय मुसिकोट कोत व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर सिंहका अनुसार बाइसे‐चौबिसे राज्यकालमा भुरे राजाहरूले आफ्ना कोतघरबाट सराय नाच नाच्ने परम्परा सुरु गरेको बताइएको छ ।
सराय नाचका क्रममा सहभागीले हातमा खुडा, भाला, तरबार र खुकुरी जस्ता परम्परागत हतियार लिएर युद्ध अभ्यासको झल्को दिने गरी प्रदर्शन गर्ने गरिन्छ । यसलाई असत्यमाथि सत्यको विजय र भगवती देवीप्रतिको भक्तिभावका रूपमा समेत लिने गरिएको अध्यक्ष सिंहले बताए ।
पछिल्लो समयमा तीव्र बसाइँसराइका र वैदेशिक रोजगारीका कारण मौलिक सँस्कृति तथा पुराना परम्परा ओझेलमा पर्दै जान थालेका छन् । नयाँ पुस्ताले परम्परा सिक्न चासो नदेखाउनु र पुरानो पुस्ताले आफूले जानेका कुरा हस्तान्तरण गर्ने उत्तराधिकारी नपाउँदा सराय नाचको ऐतिहासिक परम्परा जोगाउन चुनौती थपिएको मुसिकोट नगरपालिका–२ का बुद्धिबहादुर ढकुरीले बताए ।
गुल्मीमा यो मौलिक सँस्कृति संरक्षणका लागि स्थानीय तह तथा विभिन्न संस्था तथा क्लवहरूले पनि चासो देखाउन थालेका छन् । पछिल्लो समयमा धार्मिक आस्थासँगै ऐतिहासिक महत्व र साँस्कृतिक पहिचान जोडिएको यस परम्परालाई निरन्तरता दिन स्थानीय समुदाय, युवा पुस्ता तथा स्थानीयतहको सक्रियता र भूमिका थप महत्वपूर्ण हुने बताईएको छ ।