© 2026
नेपालमा पछिल्लो समय पत्रकारिता क्षेत्रमाथि उठ्ने प्रश्नहरू बढ्दै गएका छन् । जनताको सूचना पाउने अधिकार सुनिश्चित गर्न, राज्यका गतिविधिमाथि निगरानी राख्न र समाजमा सचेतना फैलाउन स्थापित पत्रकारिता स्वयं आज आलोचनाको घेरामा परेको छ ।
यसको मुख्य कारण पत्रकारिता पेसामा देखिएको व्यावसायिकता, दर्ता बिना सञ्चालित मिडियाको वृद्धि, पत्रकारको नाममा व्यक्तिगत लाभ खोज्ने प्रवृत्ति तथा मिडिया सञ्चालक स्वयं पत्रकार बनेर हिँड्ने गलत अभ्यास हो ।
आज धेरै ठाउँमा कुनै घटना, विवाद वा सार्वजनिक सरोकारको विषय उठ्ने बित्तिकै केही व्यक्तिहरू सिधै माइक र क्यामेरा तेर्साउँदै पुग्ने गरेका छन् । तर, ती व्यक्ति वास्तवमै पत्रकार हुन् कि होइनन् भन्ने विषयमा समाज नै अन्योलमा देखिन्छ ।
पत्रकारको परिचयपत्र छैन, मिडिया दर्ता छैन, श्रमजीवी पत्रकारसँग कुनै सम्बन्ध छैन, तर “मिडिया” को नाम प्रयोग गरेर प्रभाव र पहुँच देखाउने प्रवृत्ति बढ्दो छ । यस्तो अवस्थामा अब समाज, सरोकारवाला र राज्य सबैले पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउने दिशामा सोच्न आवश्यक भइसकेको छ । पत्रकारिता भनेको केवल माइक बोकेर प्रश्न सोध्नु मात्र होइन ।
यो जिम्मेवारी, आचारसंहिता र सामाजिक उत्तरदायित्वसँग जोडिएको पेसा हो । त्यसैले कसैले आफूलाई पत्रकार भनेर प्रस्तुत गर्दा उसले कुन सञ्चार गृहको प्रतिनिधित्व गर्छ, त्यो संस्था दर्तावाला हो कि होइन, प्रेस काउन्सिल वा सम्बन्धित निकायमा आबद्ध छ कि छैन भन्ने कुरा पहिचान गर्न आवश्यक छ ।
यदि कुनै व्यक्ति पत्रकार महासङ्घको सदस्य भएको दाबी गर्छ भने उसको परिचयपत्र र संस्थागत आबद्धता पनि स्पष्ट हुनुपर्छ । अन्यथा पत्रकारिताको नाममा गलत फाइदा उठाउने प्रवृत्तिले सिङ्गो पेसाकै विश्वसनीयता कमजोर बनाउँछ ।
नेपाल पत्रकार महासङ्घ श्रमजीवी पत्रकारहरूको साझा संस्था हो । तर पछिल्लो समय सञ्चार गृहका मालिक, लगानीकर्ता र सञ्चालक स्वयं महासङ्घको नेतृत्वमा पुग्ने प्रवृत्तिले श्रमजीवी पत्रकारका वास्तविक मुद्दा ओझेलमा परेका छन् ।
जो व्यक्ति सञ्चार गृहको मालिक हो, उसले व्यावसायिक सङ्गठनमार्फत आफ्नो हित रक्षा गर्नुपर्छ; श्रमजीवी पत्रकारको छाता सङ्गठनको नेतृत्व लिएर द्वन्द्व सिर्जना गर्नु उचित हुँदैन । पत्रकार र मिडिया व्यवसायीको भूमिका फरक हो भन्ने कुरा स्पष्ट हुन जरुरी छ । अर्को गम्भीर समस्या भनेको सञ्चार गृह सञ्चालन गर्ने तर पत्रकार तथा कर्मचारीलाई न्यूनतम सेवा सुविधा दिन नसक्ने अवस्था हो ।
वर्षौँदेखि मिडिया चलाउने, तर पत्रकारलाई तलब नदिने, सामाजिक सुरक्षा कोषमा आबद्ध नगर्ने, सम्झौता बिना काम लगाउने जस्ता गतिविधिले पत्रकारिता पेसालाई असुरक्षित बनाएको छ । यदि कुनै सञ्चार संस्था आफ्ना कर्मचारीलाई आधारभूत सुविधा दिन सक्दैन भने त्यस्तो संस्था सञ्चालन भइरहनु भन्दा बन्द हुनु नै उपयुक्त देखिन्छ ।
किनकि मिडिया केवल नामको लागि होइन, श्रम र जिम्मेवारीको सम्मान गर्ने संस्था हुनुपर्छ । आज धेरै मिडियामा उही व्यक्ति सञ्चालक, सम्पादक, व्यवस्थापक र रिपोर्टर सबै भएको अवस्था पनि देखिन्छ । यसले संस्थागत पत्रकारिता होइन, व्यक्तिगत प्रभाव र स्वार्थलाई बढावा दिन्छ । पत्रकारिता टिमवर्क, सम्पादकीय नीति र संस्थागत संरचनामा आधारित हुनुपर्छ ।
कागज मिलाउन मात्र कर्मचारी देखाउने तर व्यवहारमा कुनै कर्मचारी नै नहुने प्रवृत्ति पनि नियन्त्रण गर्न आवश्यक छ । राज्यले यस्ता संस्थाको नियमित अनुगमन गरी नाम अनुसारको कर्मचारीले वास्तवमै काम गरेको छ कि छैन, मासिक तलब पाएको छ कि छैन, सामाजिक सुरक्षा काटिएको छ कि छैन भन्ने कुरा जाँच गर्नुपर्छ ।
त्यस्तै पारिवारिक रूपमा सञ्चालित मिडियाको उद्देश्य, संरचना र सामाजिक उत्तरदायित्व पनि मूल्यांकन हुन आवश्यक छ । यदि मिडिया केवल व्यक्तिगत स्वार्थ, पहुँच र आर्थिक लाभका लागि प्रयोग भइरहेको छ भने त्यसले लोकतन्त्रलाई बलियो बनाउँदैन, बरु पत्रकारितामाथिको विश्वास घटाउँछ । अब समय आएको छ –पत्रकारिता र व्यवसायबीच स्पष्ट रेखाकोर्ने ।
जसको काम जे हो, उसले त्यही भूमिका निर्वाह गर्नुपर्छ । पत्रकारले पत्रकारिता गरून्, व्यवसायीले व्यवसाय चलाऊन् । क्षणिक लाभ, पहुँच र राजनीतिक प्रभावका लागि “स्वयं साहु स्वयं पत्रकार” बन्ने प्रवृत्ति अन्त्य गर्न जरुरी छ । मिडियाको असली शक्ति जनताको विश्वास हो र त्यो विश्वास जिम्मेवार, दर्तावाला, उत्तरदायी र श्रमजीवी पत्रकारिताबाट मात्र स्थापित हुन सक्छ ।
राज्यप्रति उत्तरदायी नभएका, दर्ता नभएका र कुनै आचारसंहितामा नबाँधिएका व्यक्तिलाई पत्रकार वा मिडियाको मान्यता दिनु हुँदैन । यदि नेपाली पत्रकारितालाई वास्तवमै मजबुत, विश्वसनीय र जनमुखी बनाउने हो भने अब सुधारको बहस होइन, व्यवहारिक कार्यान्वयन आवश्यक भइसकेको छ ।