Butwal Today

कक्षा १० का विद्यार्थी माथि किन दबाब ?

३० चैत्र २०८२, सोमबार
अ+
अ-

हाम्रो समाजमा एउटा साझा अनुभव छ । घरमा कक्षा १० को विद्यार्थी पुगेपछि वातावरण बदलिन्छ । पहिले खेल्ने, हाँस्ने, घुम्ने बच्चा अचानक “गम्भीर” बनाइन्छ । उसलाई भनिन्छ– अब जिन्दगीको मोड हो । अब गल्ती गर्न पाइँदैन ।

अब पढाइ नै सबै थोक हो । तर प्रश्न उठ्छ, के साँच्चै कक्षा १० जिन्दगीको अन्तिम परीक्षा हो, कि हामीले त्यसलाई अनावश्यक रूपमा भयको रूप दिएका छौँ ? कक्षा १० बाल्यकालको अन्तिम खुड्किलो हो । यसपछि विद्यार्थीले आफ्नो रुचि अनुसार बाटो रोज्छ । तर आजको वास्तविकता फरक छ ।

यहाँ पढाइभन्दा प्रतिस्पर्धा ठुलो भएको छ । ज्ञानभन्दा अङ्क ठुलो भएको छ । सिकाइभन्दा तुलना ठुलो भएको छ । आज गाउँदेखि सहरसम्म एउटै कुरा सुनिन्छ । “फलानाको छोरोले ४.०० ल्यायो”, “फलानी छोरीले ए प्लस ल्याइन् ।” तर कसैले सोध्दैन– त्यो बच्चाले के बुझ्यो, के सिक्यो, उसले जीवनमा के उपयोग गर्न सक्छ ।

हामीले अङ्कलाई यति ठुलो बनाएका छौँ कि ज्ञान आफैँ सानो देखिन थालेको छ । कक्षा १० मा पुगेपछि विद्यार्थीको मनमा एउटा डर बस्छ । “यदि राम्रो अङ्क आएन भने के हुन्छ ?” यही प्रश्नले उसको सोच ओगट्छ ।

उसले पढ्न थाल्छ, तर बुझ्नका लागि होइन, परीक्षा पास गर्नका लागि । किताब खोल्दा ज्ञान खोज्दैन, सम्भावित प्रश्न खोज्छ । नोट पढ्दा अर्थ खोज्दैन, उत्तर कण्ठ गर्छ । के यही हो शिक्षा ? हामी अभिभावक पनि यसमा बराबर जिम्मेवार छौँ । हामी भन्छौँ– “तँ अरूभन्दा अगाडि हुनुपर्छ ।” तर कहिल्यै सोध्दैनौँ, “तँ के बन्न चाहन्छस् ?” हामी तुलना गर्छौँ ।

छिमेकीको बच्चासँग, आफन्तको बच्चासँग । यो तुलना बच्चाको मनमा गहिरो बस्छ । उसले आफूलाई अरूसँग नाप्न थाल्छ । कहिले ऊ घमन्डी बन्छ, कहिले ऊ आफैँलाई कमजोर ठान्छ ।

विद्यालयको अवस्था पनि फरक छैन । पाठ्यक्रम १० महिना पढाउन बनाइएको हुन्छ । तर, धेरै ठाउँमा ३–४ महिनामै सकिन्छ । किन ? ताकि बाँकी समय “तयारी” मा लगाउन सकियोस् । तयारी के को ? परीक्षा जित्ने । यसबिचमा सिकाइ हराउँछ । विद्यार्थीले बुझ्न पाउने समय हराउँछ । त्यसपछि सुरु हुन्छ टेस्टको चक्र ।

आज टेस्ट, भोलि टेस्ट, हरेक हप्ता परीक्षा । विद्यार्थीले सास फेर्ने समय पाउँदैन । बिहान छ बजेदेखि बेलुका सात बजेसम्म कक्षा । घर आएपछि पनि होमवर्क । यस्तो तालिकामा बच्चा विद्यार्थी होइन, श्रमिक जस्तो देखिन्छ ।

हामीले पढाउन खोजेका हौँ कि पेल्न खोजेका हौँ ? अझ अर्को कुरा । विद्यालयमा विद्यार्थीलाई ग्रेडका आधारमा छुट्याइन्छ । ए समूह, बी समूह । ए मा पर्नेहरू “राम्रा” कहलिन्छन् । बी मा पर्नेहरू “कमजोर” । तर के बच्चाको मूल्य यति सजिलै तय गर्न मिल्छ ? एउटै कक्षामा बसेका दुई विद्यार्थीको सम्भावना फरक हुन सक्छ तर अवसर किन फरक बनाइन्छ ? यसले बच्चाको मनमा गहिरो असर पार्छ ।

ए समूहमा पर्ने बच्चा आफूलाई सबैभन्दा राम्रो ठान्न सक्छ । बी समूहमा पर्ने बच्चा आफैँलाई कमजोर मान्न थाल्छ । उसले प्रयास गर्न छोड्न सक्छ । उसले सोच्छ, “म त सक्दिनँ ।” यही सोच नै सबैभन्दा खतरनाक हो । आजको शिक्षा धेरै हदसम्म रटानमा आधारित छ । विद्यार्थीले उत्तर याद गर्छ । परीक्षा दिन्छ । अङ्क ल्याउँछ ।

तर केही समयपछि सबै बिर्सिन्छ । यदि सोधियो भने– उसले किन पढ्यो, के बुझ्यो, जवाफ दिन सक्दैन । यसरी हामीले कस्तो पुस्ता तयार गरिरहेका छौँ ? हामीले कहिल्यै गम्भीर रूपमा सोचेनौँ, यो दबाबले बच्चामा कस्तो असर पार्छ । ऊ थाक्छ । ऊ तनावमा जान्छ । ऊ डराउँछ । कहिलेकाहीँ ऊ एक्लो महसुस गर्छ । जब अपेक्षा अनुसार अङ्क आउँदैन, ऊ भित्रैबाट भाँचिन्छ । समाजले उसलाई असफल ठान्छ । तर कसैले सोध्दैन, असफल कसले बनायो ?

विद्यार्थीमा हुने मानसिक तनाव कम गर्ने उपायका विषयमा विभिन्न कुरा बाहिर आएका छन । वास्तवमा पश्चिमा वैज्ञानिकले सिद्ध गरिसकेका छन् कि विद्यार्थीमा चिन्ता, पीर, खुसी, सकारात्मक र नकारात्मक भावना सबैले शरीरका कोषिकामा असर पार्छन् ।

त्यही कारणले गर्दा मानवीय भावनासँग शरीरभित्रको हर्मोन (आन्तरिक रस) पनि बढ्ने वा घट्ने प्रक्रिया हुन्छ । ‘मानसिक चिन्ताले ग्रस्त व्यक्तिहरूमा रोग प्रतिरोधात्मक शक्ति पनि कम हुन्छ । हाल आएर विभिन्न अनुसन्धानबाट के देखिएको छ भने मानसिक तनावले विभिन्न कोषिका, ग्रन्थी र अङ्गहरूमा ठुलो प्रभाव पार्छन् ।

तसर्थ विद्यार्थीहरू तनावबाट जोगिनेतर्फ ध्यान दिनु जरुरी छ । यसैले चिन्ता र पीरले ग्रस्त विद्यार्थीलाई घरीघरी विभिन्न रोगले समेत सताउन सक्छ । रुघाखोकी लाग्न सक्छ । विभिन्न अनुसन्धानले मानव शरीरमा संवेदना, आवेग र विशेषगरी नकारात्मक भावनासँग ठुलो सम्बन्ध रहेको स्पष्ट पारेका छन् ।

भावनात्मक असर प्रत्येक मानिसको जीवनमा परिरहेकै हुन्छ । तर कुनै मानिस तनाव र समस्याले होइन, त्यसप्रति प्रतिक्रिया गर्ने हाम्रो दृष्टिकोण कस्तो छ त्यसले हाम्रो शरीरमा असर पारिरहेको हुन्छ ।

त्यस्तै प्रकारले घरमा बिरामी मान्छेको हेरचाह गर्ने गृहिणी र स्कुलमा बच्चाले जाँचमा कम नम्बर ल्याउँदा बच्चालाई पिट्ने, झपार्ने, कराउने मातापिता आदिमा मानसिक तनाव परिरहन्छ । मानसिक तनाव हटाउन सकिँदैन तर कुनै समस्यालाई तपाईं कसरी हेर्नुहुन्छ भन्ने दृष्टिकोण फरक पारेर पनि चिन्ता र तनावबाट केही हदसम्म बच्न सकिन्छ ।

मानसिक तनाव कम गर्ने अर्को उपाय हो– शारीरिक व्यायाम । बिहान–बेलुका हिँड्ने, कसरत गर्ने र केही नभए साथीहरूकहाँ गएर गफ गर्ने गरेर तनाव घटाउन सकिन्छ । हिँडाइले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक असर पार्छ भन्ने विभिन्न अनुसन्धानले बताएका छन् । हिँड्दा, दौडँदा, खेल्दा, हाँस्दा शरीरमा सकारात्मक रसहरू पैदा हुन्छन् ।

तिनले शारीरिक तनावबाट पैदा हुने विषालु तत्त्वका असर हटाउनमा मद्दत गर्छन् । त्यस्तै योग साधना पनि सहायक हुन सक्छ । विद्यार्थीका लागि यी टिप्स निश्चय नै महत्वपूर्ण हुन सक्छन ।

पछिल्लोसमय विद्यार्थीमा बढ्दो मानसिक समस्या र आत्महत्याका घटनाले हामीलाई चेतावनी दिइरहेका छन् । यो केवल व्यक्तिगत समस्या होइन । यो हाम्रो शिक्षा प्रणालीको समस्या हो । हामीले बच्चालाई बुझेनौँ । हामीले उसलाई केवल नतिजामा नाप्यौँ । शिक्षा भनेको केवल किताब होइन । शिक्षा भनेको सोच्ने क्षमता हो । प्रश्न गर्ने साहस हो

। समस्या समाधान गर्ने सीप हो । जीवन बुझ्ने माध्यम हो । यदि यी कुरा विकास भएनन् भने, ४.०० ल्याएर पनि के अर्थ ? अब परिवर्तन आवश्यक छ । विद्यालयले पढाइलाई सहज बनाउनुपर्छ । समय अनुसार पाठ्यक्रम पूरा गर्नुपर्छ ।

अनावश्यक टेस्ट घटाउनुपर्छ । विद्यार्थीलाई आराम र खेलकुदको समय दिनुपर्छ । सिकाइलाई व्यवहारिक बनाउनुपर्छ ।
अभिभावकले पनि सोच बदल्नुपर्छ । आफ्नो बच्चालाई अरूसँग तुलना नगर्नुहोस् । उसको रुचि बुझ्नुहोस् ।

उसलाई सुन्नुहोस् । उसको प्रयासलाई मूल्य दिनुहोस् । अङ्कलाई मात्र सफलता नमान्नुहोस् । सरकार र सम्बन्धित निकायले पनि अनुगमन कडा बनाउनुपर्छ । नियम बनाउने मात्र होइन, कार्यान्वयन गर्नुपर्छ । विद्यालयलाई जिम्मेवार बनाउनु आवश्यक छ । सबैभन्दा महत्वपूर्ण कुरा, हामीले बच्चालाई बच्चा नै रहन दिनुपर्छ ।

उसलाई सिक्न दिनुपर्छ, गल्ती गर्न दिनुपर्छ, फेरि उठ्न दिनुपर्छ । शिक्षा डर होइन, अवसर बन्नुपर्छ । कक्षा १० अन्तिम गन्तव्य होइन । यो त केवल सुरुवात हो । यदि हामीले यसलाई केवल प्रतिस्पर्धामा सीमित गर्यौँ भने, हामीले एउटा पुस्ताको सम्भावना सिमित बनाउनेछौँ । अब समय आएको छ, हामीले सोध्ने । हामीले के चाहन्छौँ ? अंकमा जित्ने विद्यार्थी, कि जीवनमा सक्षम नागरिक ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?