Butwal Today

गणतन्त्रको अनुभूति कहिले ?

१५ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

आज जेठ १५ गते १९ औँ गणतन्त्र दिवस । गणतन्त्रका लागि ज्यानको उत्सर्ग दिने तमाम सहिदहरूप्रति नतमस्तक हुँदै उनीहरूको बलिदानको चर्चा र प्रशंसा गर्ने आजको दिन हो । गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी आज देशै भरी मनाईदैछ ।

गणतन्त्र दिवसको अवसरमा हुने औपचारिक कार्यक्रममा यसअघि राष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिने नियमित औपचारिकता जस्तै थियो तर यो वर्ष प्रधानमन्त्री बालेन शाहले शुभकामना दिए पनि मञ्चबाट सम्बोधन नगर्ने घोषणा गरेका छन् ।

राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख गरिए जसरी देश आज विकास र उन्नतिको शिखरमा चढ्न सकेको छैन । जुन आशा र अपेक्षा लिएर नेपाली जनताले गणतन्त्र प्राप्तिका लागि बलिदान गरे त्यो लक्ष्य र अभियान अझै पूरा हुने सङ्केत देखिएको छैन । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले मुलुकलाई नयाँ आवरणमा रूपान्तरण गरेको छ ।

नयाँ सरकार बनेको छ तर निहत्था गरिब जनताको घरमा सरकारले डोजर चलाएर गणतन्त्रको उपहास गरेको छ । अझै पनि मुलुकले चाहेको परिवर्तन नआउने जनतामा ठुलो चिन्ता छ । नयाँ सरकार बनेको दुई महिना पूरा भएको छ तर सरकारका गतिविधिले जनतामा उत्साह भन्दा निराश बनाउने अवस्था छ । गणतन्त्रका लागि सङ्घर्ष र त्याग गर्ने तमाम नेपाली जनताहरूको मनमा गणतन्त्रप्रतिको विश्वास धर्मराएको छ ।

जनतामा चारैतिर निरासा छाएको छ । त्यसो त २००७, २०४६ र ऐतिहासिक जनआन्दोलन २०६२/०६३ ले जुन उल्लास र उभार सिर्जना गरेको थियो, त्यसको रत्तिभरपनि उपलब्धि जनताले प्राप्त नगरेको गुनासो गरिरहेका छन् ।

नेपाली जनताले प्राप्त गरेको प्रजातान्त्रिक अधिकारको उचित सम्मान, मूल्यांकन हुन नसकेको महसुस गरिदैछ । अव गणतन्त्र संस्थागत गर्ने हो भने विगतमा देखिएका त्रुटी र दलहरूले लिने नीतिमा पुनर्विचार गर्नुपर्ने आवश्यकता छ ।

राज्य सञ्चालकहरूमा विगतमा गंभीर त्रुटी देखिएको छ । दलहरूको आन्तरिक व्यवस्थापन कमजोर देखिएको छ । राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने सबै राजनीतिक दल र यससँग जोडिएको बर्ग नागरिक समाज एक ठाउँमा बसेर पुनर्विचार गर्ने समय आएको छ ।

जनताले जसरी असन्तुष्टी ब्यक्त गरेर नयाँ दललाई दुई तिहाईको पगरी गुथाएर पठाएका छन, तर त्यसबाट पनि उनीहरू सन्तुष्ट हुन सक्ने अवस्था देखिएको छैन । सरकारले जे गर्नुपथ्र्याे त्यसतर्फ ध्यान दिन सकेन । अझै पनि जनताको आर्थिक, सामाजिक प्रगति, देशलाई समुन्नत र समृद्ध राष्ट्र बनाउने अभियानमा उल्लेख्यनीय काम हुन सके देशले सम्मृद्धि प्राप्त गथ्र्यो तर निहित स्वार्थ, सत्ता लिप्सा, अभिमान जस्ता काम सुरु भएका छन् ।

भोलिको दिनमा राष्ट्रका महत्वपूर्ण मुद्दामा राजनीतिक दलहरू एक ठाउँमा उभिएर साझा ढङ्गले दृष्टिकोण बनाउनेतर्फ अव ढिलाई गर्नु हुँदैन । अहिले राजनैतिक दल र नेताहरूको काँधमा ठुलो दायित्व छ । गणतन्त्रलाई जति नै असफल बनाउने प्रयास भएपनि गणतन्त्रको बिकल्प गणतन्त्र नै हो ।

मुलुक अव पछि फर्किने अवस्था छैन । त्यो दायित्व बोध गरेर गणतन्त्र संस्थागत गर्ने दिशामा परिवर्तन पक्षधरहरूले संकल्प गर्नु आवश्यक छ । संविधान बनेपछि संविधानले निर्धारण गरेको लक्ष्य गन्तव्य बमोजिम राज्यले जनतालाई उपलब्धि हासिल गर्न सक्नुपथ्र्यो तर त्यो कार्यदिशामा राज्य सफल भएको छैन । अवको दिनमा गणतन्त्र पक्षधरहरू एक कित्तामा उभिनु जरुरी छ ।

फेरि एकपटक राष्ट्रसामु उपस्थित चुनौतीहरूको सामना गर्नका लागि गंभीर ढंगले बहस गर्नु आवश्यक छ । त्यसमा नयाँ सरकारले पहलकदमी लिनु जरुरी छ । नागरिकका अपेक्षा पूरा भएमात्रै गणतन्त्र संस्थागत हुन्छ । तसर्थ सवैभन्दा पहिले नागरिकका न्यूनतम आवश्यकता पूरा गर्नेतर्फ ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?