© 2026
तिलोत्तमा ।
तिलोत्तमामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा विद्यार्थीलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने उद्देश्यले सफल उद्यमीका अनुभव र संघर्षका कथा सुनाइएको छ । मंगलबार मेला अवलोकनका लागि आएका विभिन्न विद्यालयका एक हजारभन्दा बढी विद्यार्थीलाई उद्यमशीलताको महत्त्व, व्यवसाय सञ्चालनका चुनौती र सफलताका आधारबारे जानकारी दिइएको हो ।
कार्यक्रममा सफल व्यवसायी मेला आयोजक तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, गण्डकी चिउरा उद्योगका सञ्चालक एवं संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी, सत्यवती वि कन्सर्नका सञ्चालक एवं संघका महासचिव राजकुमार पाण्डे र माउन्ट एभरेष्ट कत्था उद्योगका सञ्चालक एवं संघका सहकोषाध्यक्ष वसन्त रोकाले आफ्ना व्यावसायिक अनुभव र सफलताका कथा सुनाएका थिए ।
उनीहरूले व्यवसाय सुरु गर्दाका चुनौती, निरन्तर मेहनत, जोखिम बहन गर्ने क्षमता, धैर्य र अवसरको पहिचानले उद्यमशीलतामा सफलता हासिल गर्न सकिने अनुभव सुनाउँदै विद्यार्थीलाई भविष्यमा रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने उद्यमी बन्न प्रेरित गरेका थिए ।
विद्यार्थीको सहभागिता र सहज सिकाइलाई ध्यानमा राखेर कार्यक्रमलाई विभिन्न समूहमा विभाजन गरिएको थियो । सफल उद्यमीका प्रत्यक्ष अनुभव सुन्न पाउँदा विद्यार्थीलाई उद्योग, व्यापार र स्वरोजगारका सम्भावनाबारे बुझ्ने अवसर मिलेको आयोजकले जनाएको छ ।
‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी ः दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ नारासहित आयोजित मेलामा उद्यमशीलता प्रवद्र्रधनलाई पनि महत्त्व दिइएको छ । करिब ३२५ स्टल रहेको १४ दिने मेलामा पाँच लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
मेलामा औद्योगिक उत्पादन, कृषि उपज, प्रविधि तथा पर्यटनसँग सम्बन्धित सामग्री र सेवाको प्रदर्शनी तथा बिक्री भइरहेको छ । कृषि तथा पर्यटन प्रवद्र्रधनलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रका उत्पादन र गतिविधि समेटिएको संघका महासचिव तथा मेलाका प्रवक्ता राजकुमार पाण्डेले बताए ।
मेलालाई व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी मनोरञ्जन, संस्कृति र पर्यटनसँग समेत जोडिएको छ ।
त्यस्तै पशुपतिनाथ मन्दिर, लुम्बिनी, मुक्तिनाथ र जनकपुरधामको कलात्मक संरचना, रामायण शो, तिलोत्तमा आरती, सांस्कृतिक कार्यक्रम तथा बालउद्यान मेलाका आकर्षण हुन् । तिलोत्तमाका पर्यटकीय गन्तव्यको पहिचान र प्रचारप्रसार तथा नेपाल आरोग्य वर्ष २०२७ को प्रचारका लागि पर्यटन ग्यालरीसमेत राखिएको छ ।
मेलाअन्तर्गत उद्यमशीलता प्रवद्र्धनसँगै जलवायु परिवर्तनका असरबारे सचेतना, व्यावसायिक विषयमा प्यानल छलफल गरिने आयोजकले जनाएको छ ।
मेलामा मंगलबार दोहोरी गित प्रतियोगिता, तिलोत्तमा डान्स आइडल, तिलोत्तमा सिङ्गिङ् आइडलका प्रतिस्पर्धा भएका छन् । त्यसैगरी बहुचर्चित गायक प्रकाश दुतराज, कृष्ण रिउले, दिपक गरौजा, बिधान कार्की, वर्षा थापा लगायतका कलाकारको प्रस्तुती रहेको थियो ।