Butwal Today

रोल्पामा बोलेरो जीप र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते

८ मंसिर २०८३, मंगलवार
अ
अ+
अ-

रोल्पा । 

रोल्पाको लुङ्ग्री गाउँपालिकामा बोलेरो जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार महिला घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मंगलबार साँझ करिब ५ बजेर ५० मिनेटको समयमा लुङ्ग्री गाउँपालिका–६, भाग्यडाँडास्थित सडकमा दुर्घटना भएको हो । भक्तेचौरबाट बडाचौरतर्फ जाँदै गरेको लु १ ज १७५३ नम्बरको बोलेरो जीप र विपरीत दिशाबाट आउँदै गरेको लु ४२ प ८९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

बोलेरो जीप लुङ्ग्री गाउँपालिका–६ निवासी २३ वर्षीय पारस रोकाले चलाएका थिए भने मोटरसाइकल सुनछहरी गाउँपालिका–४ सिउरी निवासी २८ वर्षीय प्रेम चुनाराले चलाएका थिए । दुर्घटनामा मोटरसाइकल चालक चुनारा र मोटरसाइकलको पछाडि सवार १९ वर्षीया खिमसरी सुनार घाइते भएका हुन् ।

दुर्घटनामा चुनाराको दाहिने खुट्टा भाँचिएको तथा शरीरका विभिन्न भागमा भित्री चोट लागेको प्रहरीले जनाएको छ । त्यस्तै, मोटरसाइकलमा पछाडि सवार सुनारको दाहिने हातमा बाहिरी चोट लागेको र शरीरका विभिन्न भागमा भित्री चोट देखिएको छ । दुवै घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।

दुर्घटनाको खबर प्राप्त भएपछि साँझ करिब ६ बजे प्रहरी चौकी झिलाङ्नी रोल्पाबाट प्रहरी वरिष्ठ हवल्दार मानबहादुर थापाको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले घटनाबारे जानकारी लिई घाइतेको उद्धार तथा उपचारका लागि आवश्यक समन्वय गरेको जनाएको छ ।

घाइते दुवैलाई प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पठाइएको थियो । त्यहाँ उपचारपछि थप उपचारको आवश्यकता देखिएकाले उनीहरूलाई बुटवल रिफर गरिएको स्थानीय जानकारीमा उल्लेख छ । घाइते चुनाराको उपचारमा उनकी श्रीमती चनु चुनारा र खिमसरी सुनारको उपचारमा उनका दाजु तिलक सुनार संलग्न रहेका छन् ।

स्थानीयका अनुसार प्रेम चुनारा र खिमसरी सुनार बडाचौरमा लागेको मेला हेरेर घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् । मेलाबाट फर्किने क्रममा उनीहरू सवार मोटरसाइकललाई बोलेरो जीपले ठक्कर दिएको बताइएको छ । दुर्घटनापछि दुवै घाइतेलाई उपचारका लागि अस्पताल पु¥याइएको हो ।

दुर्घटनामा बोलेरो जीप र मोटरसाइकल दुवैमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । जीपमा चालक पारस रोका मात्रै सवार रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनास्थल प्रहरी चौकी झिलाङ्नीबाट करिब दुई किलोमिटर पश्चिमतर्फ पर्ने बताइएको छ ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । घाइतेहरूको स्वास्थ्य अवस्था, दुर्घटनाको प्रकृति तथा अन्य विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?