Butwal Today

करेसा बारी तथा कौसी खेतीसम्बन्धी ३ दिने तालिम सम्पन्न

१७ जेष्ठ २०८३, आइतबार
अ+
अ-

भैरहवा । स्थानीय स्तरमा तरकारी उत्पादन वृद्धि, घरायसी पोषण सुधार तथा आत्मनिर्भर खेती प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका वडा नं. ५ कार्यालयको आयोजनामा सञ्चालित तीन दिने करेसा बारी तथा कौसी खेती तालिम सम्पन्न भएको छ।

वडाभित्रका विभिन्न समुदायका महिला सहभागीहरूको उत्साहजनक सहभागिता रहेको उक्त तालिममा आधुनिक कृषि प्रणालीका विविध पक्षबारे प्रशिक्षण दिइएको थियो।

तालिमका क्रममा करेसा बारी तथा कौसी खेतीका आधुनिक विधि, तरकारी उत्पादन तथा व्यवस्थापन, मलको उचित प्रयोग, रोग तथा कीरा नियन्त्रणलगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक जानकारी प्रदान गरिएको थियो।

सहभागीहरूलाई घरमै उपलब्ध सीमित स्थानको उपयोग गरी तरकारी उत्पादन गर्ने प्रभावकारी उपायहरूबारे समेत प्रशिक्षण दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ५ का वडा अध्यक्ष पुरनप्रसाद श्रेष्ठले कृषिलाई आयआर्जन तथा स्वस्थ जीवनशैलीसँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले कृषक तथा स्थानीय बासिन्दाको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता सीपमूलक तथा उत्पादनमुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने बताए ।

“तीन दिनसम्म सञ्चालन भएको यस तालिमबाट सहभागीहरूले महत्त्वपूर्ण ज्ञान र सीप हासिल गरेका छन् । प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै घरघरमा करेसा बारी तथा कौसी खेती विस्तार गर्न सकिने विश्वास लिएको छु,” अध्यक्ष श्रेष्ठले भने। उनले वातावरण संरक्षण, सुरक्षित खाद्य उत्पादन तथा परिवारको पोषण सुधारमा समेत कार्यक्रमले सकारात्मक योगदान पु¥याउने अपेक्षा व्यक्त गरे।

तालिममा सहभागीहरूले कार्यक्रम निकै उपयोगी तथा प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा लागू गर्दै आफ्नै घर तथा समुदायमा करेसा बारी र कौसी खेती विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।

“यस तालिमले खेती गर्ने तरिका, बिउ छनोटदेखि उत्पादन व्यवस्थापनसम्मका धेरै महत्त्वपूर्ण विषय सिकायो। अब सिकेका कुरालाई व्यवहारमा उतारेर राम्रो उत्पादन गर्नेछौँ,” एक सहभागीले बताए।

तालिम समापनका अवसरमा सहभागीहरूलाई खेती कार्यमा प्रोत्साहन गर्ने उद्देश्यले पाँच प्रकारका तरकारीका बिउ, हजारी, विषादी छर्कने स्प्रे ट्याङ्की, बागवानीका लागि आवश्यक गमला तथा झोला (ब्याग), कम्पोस्ट मललगायत कृषि सामग्री वितरण गरिएको थियो।

यस्ता कार्यक्रममार्फत स्थानीय बासिन्दालाई घरायसी तथा व्यावसायिक खेतीतर्फ आकर्षित गर्दै कृषि उत्पादन वृद्धि, पोषण सुधार र आत्मनिर्भरतामा टेवा पुग्ने वडा कार्यालयको विश्वास रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?