Butwal Today

दाङमा दोहोरो जग्गा स्रेस्ता प्रकरण : प्रहरीद्वारा आरोपितलाई संरक्षण गरेको आरोप

९ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

लमही ।

व्यक्तिको नाममा बिक्री भइसकेको जग्गा पुनः आफ्नै नाममा स्रेस्ता कायम गरी बैंकबाट ऋणसमेत लिएको आरोप लागेका दिलीप थापालाई उपस्थित गराउन मालपोत कार्यालयले पटक–पटक पत्राचार गरे पनि उनी हालसम्म उपस्थित भएका छैनन्। सम्बन्धित निकायले ताकेता गर्दा पनि थापा उपस्थित नभएपछि कानुन कार्यान्वयनको प्रभावकारितामाथि प्रश्न उठेको छ।

मालपोत कार्यालय घोराहीले थापालाई उपस्थित गराउन जिल्ला मालपोत कार्यालय दाङमार्फत पटक–पटक पत्राचार गरेको जनाएको छ। त्यसका बाबजुद पनि उनी उपस्थित नभएको बताइएको छ। दसैँअघि मालपोत कार्यालय घोराहीले जिल्ला प्रशासन कार्यालय दाङमार्फत जिल्ला प्रहरी कार्यालय दाङलाई पत्राचार गरी थापालाई तत्काल उपस्थित गराउन अनुरोध गरेको थियो। तर, पत्राचारपछि पनि उनी उपस्थित नभएको जनाइएको छ।

घोराही उपमहानगरपालिका–७, सौडियार घर भएका थापा हाल बाँकेको नेपालगञ्जस्थित बसपार्क नजिक विद्युत् कार्यालय आसपास बस्दै आएको बताइएको छ। सम्बन्धित कार्यालयले पटक–पटक बोलाउँदा पनि उनी उपस्थित हुन आनाकानी गर्दै आएको भन्दै निवेदनमाथिको कारबाही प्रक्रिया प्रभावित भएको छ।

निवेदनअनुसार, थापाले २०५५ साल असार ११ गते चन्द्रभानु भट्टराईलाई कित्ता नं। ८४०, ८४२ र ८५५ का जग्गा तथा असार १९ गते शारदा भण्डारीलाई कित्ता नं। ८५२ को जग्गा बिक्री गरेका थिए। तर, बिक्री भइसकेका जग्गामा पुनः आफ्नै नाममा स्रेस्ता कायम गरेको र बैंकबाट ऋणसमेत लिएको निवेदकहरूको आरोप छ। उनीहरूले दोहोरो स्रेस्ता हटाई आफ्नो नाममा कायम गर्न माग गर्दै सम्बन्धित निकायमा निवेदन दिएका छन्।

यस विषयमा बुझ्नका लागि सम्बन्धित कार्यालयले थापालाई उपस्थित गराउन खोजे पनि उनी नआएपछि आवश्यक प्रक्रिया अघि बढाउन कठिनाइ भएको बताइएको छ। पटक–पटक पत्राचार हुँदासमेत सम्बन्धित व्यक्ति उपस्थित नहुनु र प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न नसक्नुले कानुन कार्यान्वयनमाथि गम्भीर प्रश्न खडा गरेको छ।

यता, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले थापालाई उपस्थित गराउन भनिएको र छिट्टै उपस्थित गराइने जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?