© 2026
नेपालगञ्ज (बाँके) ।
नेपालगञ्ज स्वीमिङ क्लबको आयोजनामा आगामी आइतबारदेखि ‘तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप’ हुने भएको छ ।
यही कात्तिक १४ र १५ गते नेपालगञ्ज रङ्गशालामा सञ्चालन हुने उक्त प्रतियोगितामा भारतबाट ५० जना र देशभरिबाट करिब एक सय ५० जना खेलाडीबीच विभिन्न समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
नेपालगञ्ज स्वीमिङ क्लबका अध्यक्ष केशव न्यौपानेले पत्रकार सम्मेलनमार्फत स्वीमिङ खेलको विकास र विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
“स्वीमिङ स्वास्थ्य, सुरक्षा र जीवनशैलीसँग जोडिएको महत्त्वपूर्ण खेल हो”, उनले भने, “यसलाई जीवन उपयोगी सीपका रूपमा विकास गर्न र खेलाडीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको हो ।”
आयोजक संस्था लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लब भएको जानकारी दिँदै अध्यक्ष न्यौपानले यहाँका स्वीमिङ खेलप्रेमी, उद्योगी, व्यवसायीलगायत नागरिक समाजको अगुवाइ र पहलमा क्लब स्थापना गरिएको बताए ।
क्लबले स्थापना कालदेखि नै नियमित रूपमा राष्ट्रियस्तरका स्वीमिङ प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले प्रतियोगिताले स्वीमिङ खेलको विकास तथा खेलाडीको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा आठ वर्षदेखि १७ वर्षसम्मका बालबालिका तथा १७ वर्ष उमेर समूह माथिका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा छ विधामा विभिन्न उमेर समूहमा गरी ८० वटा प्रतिस्पर्धा हुने आयोजक क्लबले जनाएको छ ।
प्रतियोगितामा खेलाडीले फ्रि स्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाई, रिले तथा व्यक्तिगत मेडल विधामा प्रतिस्पर्धा गरिनेछ । लुम्बिनी प्रदेश खेलकुद परिषद्, नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले प्रतियोगितालाई सफल तुल्याउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका आयोजकको भनाइ छ । प्रतियोगितामा करिब रु ३५ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
प्रतियोगितालाई सफल तुल्याउन स्थानीय आदर्श, बागेश्वरी एकेडेमी, किड्स किंगडम नेपालगञ्ज र शिखा एकेडेमीलगायतले सहयोग गर्ने प्रतिबद्धता जनाएको आयोजकले जनाएको छ ।