Butwal Today

भारतको हैकम सहेर कहिलेसम्म बस्ने ?

१५ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

गएको आइतबार वैशाख २० गते परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरेर भारत र चीनलाई कूटनीतिक नोट पठाएको छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो हो भन्ने दाबीका साथ स्पष्ट अडान राखेर जारी गरिएको सो कूटनीतिक टिप्पणीमा नेपालले भारतले नेपाली भूमि मिचेर कैलाश मानसरोवर तीर्थयात्रा गराउने उद्देश्यले भारत र चीन बिचको व्यापार प्रवर्द्धन गर्ने योजनाका साथ जबरजस्ती सडक बनाएको छ । त्यो नेपालको निम्ति कुनै पनि हालतमा मान्य छैन भन्ने परराष्ट्र मन्त्रालयको दाबी प्रशंसनीय छ ।

यसले के सङ्केत दिन्छ भने वर्तमान सरकार हाम्रो चुच्चे नक्सा प्रति अटल छ । यो हाम्रो निम्ति खुसीको कुरा हो । भारतले एकातिर सम्बन्धको ढोका खुल्ला छ भन्छ तर अर्कोतिर आफूले कब्जा गरेकोलाई जायज छ भन्दै नेपाललाई हप्काइरहन्छ ।

यो उसको दोहोरो मापदण्ड अत्यन्तै घृणित र लज्जास्पद छ । नेपालले आजसम्म गर्दै आएको असहयोगको अब भने कुनै पनि हालतमा चुप लागेर बस्नु हुँदैन । यसो भनिरहँदा हामी भारतसित धेरै गए पनि सो भूमि फिर्ता गराउनु पर्छ भन्न खोजिएको त होइन, तर नेपालसित दौत्य सम्बन्ध रहेका सबै देशहरू समक्ष र संयुक्त राष्ट्र सङ्घमा यो मामिला दर्ता गराएर सर्वोच्च न्यायको ढोका ढकढकाउन पर्दछ ।

सन् १८१६ को सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका अभिन्न भू –भागहरू हुन् । यो कुरा भारतलाई थाहा नभएको होइन, तर जान्दाजान्दै पनि नेपाललाई हेपेर भारतले झन् मिच्ने काम गरिरहेको छ । अब उसको यस कदमका विरुद्ध सबै नेपालीहरू एक भएर बुलन्द आवाज निकाल्नु पर्छ— गो ब्याक इन्डिया ।

किनभने जनता नै राष्ट्रिय सार्वभौमिक सत्ताको संरक्षणमा मुख्य निर्णायक शक्ति हुनाले र निर्णायक भूमिका राख्ने तत्त्व हुनाले आम नेपाली जनमानसलाई सरकारको यो सराहनीय कदमको समर्थन गर्न अलि ढिलाइ गरियो भने हामी असफल हुन्छौ ।

यसमा कुनै शङ्का छैन तसर्थ सरकारको यो कदमलाई सफल गराउन हामीले घण्टी पाटी र घण्टी इतर पार्टी नभनेर हाम्रो देशका सबै पार्टीहरू, सबै राजनीति दलहरू, शक्तिहरू यहाँसम्म कि पूर्व राजालाई समेत साथ लिएर अगाडि बढ्नुपर्दछ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालको परराष्ट्र मन्त्रालयले पठाएको सो कूटनीतिक नोटलाई अनुचित र ‘कृत्रिम’ भनी एक किसिमको धम्कीको भाषा प्रयोग गरेका छन् । तर, भारतले धम्की दिए भन्दैमा हामी हाम्रो राष्ट्रिय हितको संरक्षण एवं संवद्र्धनमा कुनै वास्ता नगरी चुप लागेर बस्ने कुरा आउँदैन् । आजसम्म भारतले जति हेप्यो हेप्यो, जति पेल्यो पेल्यो अब हेपिने र पेलिने कुरा छैन ।

आफ्नो राष्ट्रिय हितको संरक्षणार्थ नेपाल आमाका हामी सबै सन्तानहरू काँधमा काँध जोडेर अगाडि बढी आवाज बुलन्द गर्ने हो र जीत हासिल गर्ने हो । संस्कृतमा एउटा कथन छ— “सत्यमेव जयते नानृतम (सत्यमेव जयते: सत्यले नै जित हासिल गर्दछ, नानृतम् न अनृतम्ः झुटले होइन) ।

हो सत्यकै जित हुन्छ, हार्न पर्दैैन । लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको हो भनेर हामीले आफ्ना प्रमाणलाई आफ्नै भनी दाबी गर्दा आज हामीलाई भारतले हेपेर, पेलेर तिमीहरूको हैन, दाबी नगर, तिमीहरूको नाप, हाम्रो शक्तिका अगाडि तिमीहरूको केही लाग्दैन, हामीले जे चाह्यो त्यही गर्न सक्छौं ।

तिमीहरूको रोदनले केही लछारपाटो लाग्नेवाला छैन भन्ने आशयका अभिव्यक्तिहरू भारतीय शासक वर्गले मात्र होइन भारतीय आफ्ना शासकहरूको भजन गाएर पेट पालेका केही भारतीय पत्रकारहरू जो ‘गोदी मिडिया’ को नामले बदनाम छन्, उनीहरूका कर्र्तुको खण्डन गर्दै कतिपय भारतीय सञ्चार माध्यम र भारतका वरिष्ठ पत्रकार आनन्द स्वरूप बर्मा लगायतले नेपालको दाबीलाई समर्थन गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो, यसमा भारतले किचलो निकाल्न हुँदैन भनेका छन् ।

भारत जस्तो विशाल देशले आफ्नै छिमेकी सानो देश नेपाललाई दबाबमा राख्ने नीति लिनहुँदैन । नेपाल र भारत भुगोलमा साना ठूला भएपनि दुवै घनिष्ट मित्र देश हुन । त्यसैले भारतले नेपालसित मितेरीको बदला अहितको व्यवहार गर्नुहुदैन भन्दै बारम्बार आफ्ना शासकहरूलाई खबरदारी गरिरहेको पनी हामीले सुन्दै आएका छौ । यसबाट के बुझिन्छ भने सबै भारतीयहरू भारतको विस्तारवाद जस्तै छैनन् ।

सबै भारतीय जनताहरू खराब रहन्नन् । न्याय–अन्याय छुट्याउन सक्ने विवेकशील बुद्धिजिवीहरू पनि भारतमा रहेछन् । यति कुरा स्पष्ट भइसकेपछि नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा यो मामिलालाई लिएर न्यायको आवाज बुलन्द गर्ने र अन्य प्रमाणहरू पेस गर्नका साथै नेपालको पक्षमा बोलेका भारतीय बुद्धिजीवी वर्गका आवाजहरूलाई समेत प्रमाणको रूपमा अगाडि सारिदिन पर्दछ ।

भारतले हामीलाई अचाक्ली नै गरेको छ । नेपाललाई यती हेपेको छ की वयान गरेर साध्य छैन । हाम्रा नदीनालाका अपार जलस्रोतहरू उसैले लुटेको छ । कोसी, गण्डकी र कर्णाली तथा महाकाली जस्ता हाम्रा विशाल नदीनालाको पानीबाट भारतले एकातिर हरित क्रान्ति गरिरहेको छ भने अर्कोतिर हाम्रा यिनै नदीनालाबाट निकालेको बिजुलीले पूरै भारत चकाचक उज्यालो बनेको छ ।

पानीबाट निकालेको बिजुलीले रेल दुर्गुछन, चलाउँछन् । कलकारखानाहरू चलाउँछ । तर, हामी भने हिउँदमा सुख्खा र बर्षायाममा डुवानको मारले प्रताडित छौँ । लोडसेडिङको मार खेपिरहेका छौँ । बिजुलीको अपुगले भएका कलकारखानाहरू पनि राम्रोसँग सञ्चालन हुन सकेका छैनन् ।

यतिले पनि नपुगेर अझै हाम्रो भू–भाग मिच्ने, भारतीय विस्तारवादी शासकहरूले अझै पनि हाम्रो हितको उपेक्षा गरेर हामीलाई धुलो चटाउनुमा उनीहरूको अक्षमता प्रदर्शन सुशासनको मापदण्डले गरेको छ । नेपालीलाई आफ्ना भाडाका सेना आपुर्ती गर्ने देश, आफ्ना कुल्ली, भरिया ठान्ने नेपाली शासकहरूलाई आफ्ना गुलाम, कमारा सम्झेर व्यवहार गर्ने भारतका शासकहरूले आजसम्म हाम्रो देशलाई जति चुस्ने चुसे अब अब चुस्न दिनु हुँदैन । हामी अब चुसिनु हुँदैन, हेपिनु हुँदैन । हामी भारतका एक असल छिमेकी हौँ ।

त्यसैले भारतसित पनि असल छिमेकी पनको व्यवहार होस भन्ने चाहान्छौ । यी समस्त कुराहरूको निचोड के हो भने हामी भारतको असल छिमेकी हौं र छौँ । सदाकाल असल छिमेकी भएरै बाँच्न चाहन्छौँ । प्रकृतिले पनि नेपाल र भारत असल छिमेकी भएर बस भन्ने निर्देश दिएको छ । प्रकृतिको यो परस्पर हितैषी महाबली आदेशलाई हामीले कहिल्यै उल्लङ्घन गरेका छैनौँ । तर, भारतले सधैँ उल्लङ्घन गर्दै आएको छ । अब यस्तो नहोस् ।

नेपालको सार्वभौमिकता र नेपाललाई सधैँ पैतलामुनी दवाएर राख्छु भन्ने सोच अब भारतले बन्द गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?