© 2026
‘गैंडा संरक्षण हाम्रो साझा जिम्मेवारी, गैँडाका पाँचै प्रजातिलाई बचाऔँ’ भन्ने नाराका साथ मंगलवार विश्व गैंडा दिवस नेपालमा पनि मनाइएको छ । गैँडाको संरक्षण, उनीहरूमाथिको जोखिम र प्राकृतिक वातावरणमा उनीहरूको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस विश्वभर मनाइन्छ ।
तर, पछिल्लो समय यो दिवस पनि औपचारिकतामै सीमित बन्दै गएको छ । यद्यपि यो दिवस गैँडा संरक्षणमा काम गर्ने गैरसरकारी संस्था, चिडियाखाना, सरकार र स्थानीय समुदायलाई जोड्ने विश्वव्यापी अभियान बनेको छ । विश्वमा अहिले गैँडाका पाँच प्रजाति मात्र बाँकी छन् । ती प्रजाति जोगाउने चिन्ता संरक्षणबीदहरूको छ । गैँडाको संख्या घट्दै जानुमा चोरी शिकारी मुख्य कारण हो ।
यसको सिङमा पाईने अमूल्य तत्व ‘खाग’ विश्वका लागि दुर्लभ हुनु यसको चोरी शिकारी हुनुको मुख्य कारण हो । गैँडाका लागि सबैभन्दा ठूलो खतरा चोरी–सिकार हो । उनीहरूको सिङका लागि गैँडा मारिने गरेका छन् । गैँडाको प्रजनन दर कम भएकाले चोरी–सिकारबाट घटेको संख्या पुनः बढाउन लामो समय लाग्नु संरक्षणको मुख्य चुनौति हो ।
विश्वमा अहिले जंगली अवस्थामा करिब १६ हजार ८०३ सेतो गैँडा र ६ हजार ४८७ कालो गैँडा मात्र बाँकी रहेको बताइएको छ । विश्व गैँडा दिवसले पाँचै प्रजातिको अस्तित्व जोगाउन चोरी–सिकार नियन्त्रण र संरक्षण सम्बन्धी जनचेतना विस्तारको आवश्यकता औँल्याएको छ ।
नेपालको चितवन, बर्दिया, रारा क्षेत्रमा पाईने गैंडा नेपालको जैविक विविधताको प्रतीक मात्र होइन, प्रकृति संरक्षण र पर्यटनको आधारसमेत हो । तर, चोरी–शिकारी, अवैध वन्यजन्तु व्यापार, बासस्थानमाथिको बढ्दो दबाब र मानव–वन्यजन्तु द्वन्द्वले संरक्षणको अभियान चुनौतिपूर्ण छ ।
संरक्षण क्षेत्रमा राज्यका निकाय, सुरक्षा संयन्त्र, स्थानीय समुदाय र संरक्षणकर्मीको लामो प्रयासको परिणामस्वरूप गैंडाको संख्या पुनः बढाउन सम्भव छ तर त्यति सजिलो भने अवश्य छैन । अन्तर्राष्ट्रिय स्तरमा वन्यजन्तुका अंगको अवैध माग उच्च रहेसम्म गैँडा चोरी–शिकारीको जोखिम पूर्णरूपमा समाप्त हुँदैन । त्यसैले जंगलभित्रको निगरानी मात्रै पर्याप्त छैन ।
भोलिको दिनमा अवैध व्यापारको सञ्जाल, बिचौलिया र तस्करीका माध्यमसम्म पुग्ने गरी अनुसन्धान र कानुनी कारबाही प्रभावकारी बनाउनुपर्छ । अनिमात्र गैंडा संरक्षणमा योगदान पुग्न सक्छ । पछिल्लो समय गैंडाको बासस्थान संरक्षणमा पनि चुनौति थपिँदै गएको छ । वन क्षेत्रको खण्डीकरण, नदी तथा जलाधार क्षेत्रमा बढ्दो मानवीय गतिविधि, अतिक्रमण र अव्यवस्थित विकासले वन्यजन्तुको प्राकृतिक आवासमा दबाब बढाइरहेको छ ।
गैंडा संरक्षण गर्ने हो भने गैंडा बस्ने जंगल र त्यससँग जोडिएको सम्पूर्ण पारिस्थितिक प्रणाली जोगाउनुपर्छ । संरक्षणको अर्को महत्वपूर्ण पक्ष स्थानीय समुदाय हो । वन्यजन्तु संरक्षणको बोझ समुदायमाथि मात्र थोपरेर संरक्षण दिगो हुँदैन । गैंडाबाट हुने सम्भावित क्षति न्यूनीकरण, उचित क्षतिपूर्ति, रोजगारी तथा प्रकृति–आधारित पर्यटनबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ पाउने व्यवस्था बलियो बनाउनुपर्छ । संरक्षणबाट समुदायले लाभ महसुस गरे मात्र वन्यजन्तु संरक्षण साझा दायित्व र अभियान बन्न सक्छ ।
अबको दिनमा यो दिवस मनाइरहँदा भाषण र औपचारिक कार्यक्रमभन्दा माथि उठेर संरक्षणको क्षेत्रमा प्रतिवद्धता गर्ने समय आएको छ । चोरी–शिकारीविरुद्ध जबसम्म कडा कानुनी कारबाही हुँदैन, तबसम्म यसको संरक्षणमा चुनौति थपिनै रहनेछ । गैंडा नेपालको बरदान हो । एकसिंगे गैँडा विश्वमै दुर्लभ जनावरमा पर्दछ ।
अतः हामीले यो अमूल्य वस्तु संरक्षण गर्न सकेनौँ भने भोलि यस्तै दिवस मनाउने र रमाउने मात्रै हुनसक्छ । तसर्थ अबको समयमा दिवस मनाउने मात्रै होइन, दिवसको सन्देश कार्यान्वयनको तहमा लैजानु जरुरी छ ।