चन्द्रौटा ।
बालविवाह, महिला हिंसा, दाइजो र छुवाछूतजस्ता सामाजिक विकृति अझै समाजका चुनौती बनेका छन् । यिनै समस्यालाई नाटकमार्फत उजागर गर्दै आम नागरिकलाई सचेत बनाउनेसँगै समाधानका उपाय खोज्ने प्रयासमा कपिलवस्तुको चन्द्रौटामा संवाद गरिएको छ ।
शिवराज नगरपालिका-५ चन्द्रौटामा प्रो पब्लिकद्वारा आयोजित नाट्य प्रस्तुति तथा नागरिक संवादमा एकल महिलाका समस्या, खुला दिसामुक्त अवस्थाको कार्यान्वयन र छाडा चौपायाका सवालसमेत उठाइएको थियो । नाट्य प्रस्तुतिपछि भएको संवादमा नगरप्रमुख अजय थापाले सामाजिक समस्याको दीर्घकालीन समाधानका लागि शिक्षा महत्वपूर्ण रहेको बताए ।
यसैबीच नगर उपप्रमुख शिवकुमारी थारुले महिला हिंसा र विभेद अन्त्य गर्न सामाजिक सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताइन् । सामुदायिक विकास गर्न सबैकाे सहयाेग अपरिहार्य रहेकाे समेत उनकाे जिकिर छ । मंगलबार भएकाे कार्यक्रममा वडा अध्यक्ष नेत्रप्रसाद बेल्वासे, अधिकारकर्मी मीना परियार, युवा नेतृ हसिना थारु र शिक्षक पुरुषोत्तम अर्याललगायतले सामाजिक समस्या समाधानमा स्थानीय सरकार र नागरिकको भूमिकाबारे धारणा राखे ।