Butwal Today

बाढी रोकियो, पीडा रोकिएन

५ आश्विन २०८३, सोमबार
अ+
अ-

भोटेकोशीमा आएको बाढीको भेल रोकिएको धरै भइसक्यो । नदी आफ्नो गतिमा बगिरहेको छ । बाढीले पु¥याएको भौतिक क्षतिको हिसाब पनि बिस्तारै हुँदै छ । तर बाढीमा आफन्त गुमाएका परिवारका लागि विपत्ति अझै सकिएको छैन । बेपत्ता भएका आफ्ना मान्छेको अवस्था थाहा नहुँदा उनीहरू दिनहुँ आशा र निराशाबिच बाँचिरहेका छन् ।

पाल्पाको रामपुरकी सरिता सोतीको वर्तमान अवस्था यही पीडाको एउटा प्रतिनिधि उदाहरण हो । केही वर्षको अन्तरालमा छारी गुमाएकी उनले भोटेकोशीको बाढीमा श्रीमान् र छारालाई समेत गुमाइन् । उनीहरू जीवित छन् कि छैनन् भन्ने यकिन हुन सकेको छैन । शव भेटिए अन्तिम संस्कार गर्न पाउने आशा पनि पूरा भएको छैन । एउटा परिवारका लागि यो पीडा कति गहिरो होला भन्ने अनुमान गर्न कठिन छैन ।

बाढी, पहिरो वा अन्य प्राकृतिक विपत्तिमा मानवीय क्षति हुनु दुःखद घटना हो । तर विपत्तिपछि बेपत्ता भएका नागरिकको खोजी, शवको पहिचान र परिवारलाई यथार्थ जानकारी उपलब्ध गराउने राज्यको दायित्व अझ महत्त्वपूर्ण हुन्छ । आफन्तले महिनौँसम्म अनिश्चिततामा बस्नुपर्ने अवस्था आफैँमा अर्को पीडा हो ।

भोटेकोशीको बाढीमा पाल्पाका मात्रै धरै व्यक्ति सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ । तीमध्ये कतिपयको शव पहिचान भएको छ भने कतिपयको अझै अवस्था अज्ञात छ । जलविद्युत् आयोजना, निर्माण क्षेत्र तथा अन्य कामका लागि प्रभावित क्षेत्रमा पुगेका श्रमिक र कर्मचारीको विवरणसमेत स्पष्ट नहुँदा खोजी कार्य थप जटिल बनेको देखिन्छ । यस्तो अवस्थामा सम्बन्धित निकायबिच समन्वय अझ प्रभावकारी बनाउन आवश्यक छ ।

बेपत्ता नागरिकको खोजीलाई समय बित्दै गएपछि स्वतः समाप्त हुने विषयका रूपमा लिन मिल्दैन । सम्भावित क्षेत्रमा खोजी, शव तथा अवशेषको पहिचान, डिएनए परीक्षण र परिवारलाई नियमित सूचना दिने व्यवस्था निरन्तर हुनुपर्छ । सम्बन्धित आयोजना, रोजगारदाता कम्पनी र स्थानीय तहसँग रहेका श्रमिक तथा कर्मचारीका अभिलेख पनि व्यवस्थित रूपमा सङ्कलन गरिनुपर्छ ।

प्राकृतिक विपत्तिमा राज्यले उद्धार र राहत मात्र होइन, त्यसपछि आउने मानवीय सङ्कटको व्यवस्थापनमा पनि उत्तिकै संवेदनशील हुनुपर्छ । शव नभेटिएका परिवारका लागि कानुनी प्रक्रिया, अन्तिम संस्कार, राहत तथा क्षतिपूर्तिका विषयमा स्पष्ट व्यवस्था र सहजीकरण आवश्यक छ । पीडित परिवारलाई कार्यालयबाट कार्यालय धाउनुपर्ने अवस्था सिर्जना हुनु अर्को अन्याय हो ।

सरिता सोतीको पीडा एउटा परिवारको मात्र कथा होइन । भोटेकोशीको बाढीले धरै परिवारलाई यस्तै अनिश्चितता र वियोग दिएको छ । नदीमा आएको बाढी रोकिए पनि उनीहरूको मनमा उठेको बाढी रोकिएको छैन । त्यसैले अब राज्यको प्राथमिकता बाढीको पानी घटेको तथ्यमा होइन, त्यसले छोडेको मानवीय पीडा कम गर्ने दिशामा हुनुपर्छ ।

बेपत्ता नागरिकको खोजी, पहिचान र परिवारलाई सत्य तथ्य जानकारी दिने कामलाई अन्तिम निष्कर्षमा नपुगेसम्म निरन्तरता दिनुपर्छ । प्राकृतिक विपत्तिमा नागरिक गुमाउनु पीडादायी घटना होस तर आफ्ना मान्छेको अवस्था थाहा नपाई बाँच्न बाध्य हुनु त्यसपछिको अझ ठुलो पीडा हो। राज्यले यही पीडालाई बुझेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?