Butwal Today
सन्दर्भ–विश्व सम्पदा दिवस 

तिलौराकोट विश्व सम्पदा सूचिमा कहिले ?

६ बैशाख २०८३, आइतबार
अ+
अ-

विश्व सम्पदा दिवस शनिवार मनाई रहँदा कपिलवस्तुको तिलौराकोटको चर्चा स्वाभाविक रूपमा हुन्छ । बर्षौ भयो तिलौराकोटलाई विश्व सम्पदा सूचिमा समावेश गर्ने कुरा तर सधैँ असफल ।

यो दिवस मनाउँदै गर्दा तिलौराकोटको चर्चा फेरी सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) ले तिलौराकोटलाई विश्व सम्पदा सूचिबाट किन बाहिर गर्दै छ ?

यो प्रश्न आज सर्वाधिक महत्त्वपूर्ण छ । किनभने राजा शुद्धोधनले २९ वर्ष बिताएको, गौतमबुद्धको क्रिडास्थल, शाक्य बंशको ऐतिहासिक राजधानी आज खुला सङ्ग्रहालय बनेको छ ।

तिलौराकोटको संरक्षणमा कसैको चासो गएको छैन् । लुम्बिनीका कारण तिलौराकोट ओझेलमा परेको स्थानीय कपिलवस्तुका जनताको ठूलो गुनासो छ । सरकारले लुम्बिनीलाई महत्व दिने तर कपिलवस्तुलाई बेवास्ता गर्ने गरेको पीडा कपिलवस्तुले धेरै पहिलेदेखि भोगिरहेको छ ।

यस सन्दर्भमा विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि अप्रिल १८ तारिखका दिन यो दिवस मनाउन थालिएको हो । विश्व सम्पदा सूचिमा काठमाडौं (बसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ मन्दिर, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् ।

यी कुनैपनि क्षेत्रभन्दा तिलौराकोट कम महत्वको छैन तर सधैँ ओझेलमा परिरहेको छ । नेपालको ऐतिहासिक र प्राचीन स्मारक र सम्पदाहरूको खानी तिलौराकोटमा छ । तर संरक्षणको अभावमा खुल्ला सङ्ग्रहालय बनेको छ ।

तिलौराकोटमा बर्षमा एकपटक उत्खनन हुन्छ । उत्खननबाट महत्त्वपूर्ण ऐतिहासिक बस्तु प्राप्त भएको घोषणा पनि गरिन्छ । तर, हात लाग्यो शून्य । तिलौराकोटलाई नेपाल सरकारले विश्व सम्पदा सूचिमा सूचिकृत गराउने प्रयास गरिरहेको छ तर अझै दवाव पुगेको छैन ।

तिलौराकोट जस्तै नेपालका एतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्य तथा महत्व झल्काउने स्थल या संरचनाहरू सम्पदाको सूची भित्र पर्दछन् । ती सम्पदाहरू अहिले संरक्षणको अभावमा यत्रयत्र छरिएर रहेका छन् । कतिपय खुल्ला संग्रहालयमा परिणत भएका छन् ।

ती ऐतिहासिक सम्पदाको संरक्षणमा सरकारको ध्यान जान सकेको छैन । संरक्षण गर्नुपर्ने सम्पदा समेत वेवास्ता गर्नु विडम्वनाको कुरा हो । अतः सम्पदा दिवसको अवसरमा हाम्रा ऐतिहासिक सम्पदा संरक्षणमा सवैले चासो जरुरी छ ।

यो अभियानमा केवल सरकारको मुख ताकेरमात्रै होइन, जहाँ जहाँ ऐतिहासिक सम्पदा छन, ती स्थानका सम्पदाको संरक्षणमा स्थानीय नागरिकको समेत भूमिका महत्त्वपूर्ण हुन्छ । तसर्थ सम्पदा संरक्षणमा चासो मात्रै होइन ध्यान दिनुपनि जरुरी छ ।

निश्चितरूपमा सम्पदा संरक्षणमा चुनौति पनि छन् । ती चुनौति सामना गर्दै अघि बढ्नु आजको आवश्यकता हो । अव निरास भएर होइन, हाम्रा सम्पदालाई विश्व सम्पदामा स्थान दिलाउने गरि अघि बढ्नु अवको आवश्यकता पनि हो ।

अर्कोतर्फ समस्या के पनि छ भने नेपालका मठमन्दिर, गुठी, सार्वजनिक जग्गा जमिनहरू दिनानुदिन अतिक्रमण हुँदै गइरहेका छन् । नेपालका महत्त्वपूर्ण सम्पदा चोरी भएर विदेश पुगेका छन् ।

कतिपय चोरिएका सम्पदा विदेशबाट फर्काइएको पनि छ । त्यसैगरी जीर्ण अवस्थामा रहेका हाम्रा कैयौं सम्पदाहरूको संरक्षणमा राज्यको ध्यान नगएको अवस्था पनि छ । त्यसका साथै विगतमा भएको द्वन्द्वको बेला हाम्रा गौरवका सम्पदा भत्काइएको, मासिएको र क्षतिविक्षत पारिएको हामी सवैलाई जानकारी भएकै बिषय हो ।

ती सम्पदा आज खुल्ला संग्रहालयमा परिणत भएका छन् । त्यसको संरक्षणमा सम्बन्धित निकायको चासो जानु जरुरी छ । हाम्रो सम्पदा हाम्रो गौरव हो तर त्यही सम्पदाप्रति राज्यको किन ध्यान जाँदैन ? सोचनीय बिषय छ । यसमा केवल सरकारलाई मात्रै दोष दिएर पुग्दैन ।

सम्पदा संरक्षणमा स्थानीय सरोकारवाला निकाय, प्रदेश सरकार र पालिकाहरूको ध्यान जानु जरुरी छ । विश्व सम्पदा दिवसको औपचारिकता मात्रै होइन, तिलौराकोटलाई विश्व सम्पदामा सूचिकृत गर्ने सरकारको पहल फेरी जुर्मराओस् । नयाँ सरकारको यो विषयमा ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?