Butwal Today

गर्मी मौसम र प्रदूषणले छालामा पार्ने असर

१ बैशाख २०८३, मंगलवार
अ+
अ-

गर्मी मौसममा बायु प्रदूषण मुख्य गरेर ६ प्रकारका कारणले गराइरहेको हुन्छ । पहिलो अटोमोबाईलको धुवाँ हो । जसबाट कार्बनडाइअक्साइड र कार्बनमोनोअक्साइड निस्किन्छ ।

दोस्रो हो– विभिन्न उद्योग कलकारखानाबाट निस्किने रासायनिक प्रदूषण र बालीनालीमा छर्किने विषादीहरू । यी पनि बायमण्डलमै मिसिन आईपुग्दछन । तेस्रो– धुम्रपानको धुवाँ हो । यो पनि निरन्तर बाताबरणमा घुमिरहेको हुन्छ ।

चौथो समस्या हो– अहिलेको जल्दो बल्दो समस्याको रूपमा देखिएको बिकासको नाममा भएको बिनासले गर्दा निम्त्याएको समस्याका कारण अधिकांश सडक तथा घर भत्काउँदा निस्किएको धुलो । बायु प्रदुषणको पाँचौ चुनौति हो– काठ फोहोर र कोईला आदी बाल्दा निस्किने धुवाँ जसलाई ब्ल्याक कार्बन सुट भनिन्छ ।

त्यस्तै अहिलेको मौसममा पालुवा पलाउने र फूलहरू फुल्ने गर्दछन । बायु प्रदुषणको छैंठौ कारण पालुवा पलाउँदा र फूल खेल्दा त्यहाँबाट निस्कने एक प्रकारका भुवाँहरू हुन । हुरीबतास यही मौसममा लाग्ने भएकाले पनि ती मसिना कणहरू उडेर हामीसम्म आईपुग्दछन ।

देशको काठमाडौं बुटबल जस्ता अधिकांश ठूला शहरहरूको कुरा गर्दा यी ६ थरीकै प्रदुषणका समस्याहरू विद्यमान छन । जसले मानव शरीरका स्वास्थ्यका अन्य अंगहरू जस्तै छालामा पनि असर पु¥याएको हुन्छ ।

साथसाथै गर्मी मौसमको कारण र पछिल्लो समयको फेसनले गर्दा अधिकांश मानिसहरूले शरीरलाई पूरा छोप्ने खालका कपडाहरू शरीरमा नलगाउँदा पनि खाली शरीरमा धुलोका कण सहितका घामका किरणले समेत छालामा प्रत्यक्ष असर पारीराखेका हुन्छन ।

छालामा पुग्ने हानी: धुलो धुवाँको प्रदूषणले हाम्रो शरीरको बाहिरी अंग छालालाई सबैभन्दा बढी असर गर्दछ । माथि उल्लेखित सबै प्रदुषणले रियाक्टिभ अक्सिजन पिसिज, हानीकारक तत्व उत्पादन गर्दछन ।

यसले हाम्रो छालामा हुने कोषहरू नास गरिदिन्छ । कोषहरूमा यसले असर पारेसंगै छालामा सुक्खापन बढ्ने, एलर्जी हुने, छाला चिलाईरहने समस्या आउँछ । प्रदुषषणले छालालाई एकदमै संवेदनशील बनाईदिन्छ ।

जसको कारण छाला खस्रो हुने, चायाँपोतो आउने वा जस्तै देखिने, रङ्गीबिरङ्गी दागहरू आउने लगायतका समस्याहरू देखापर्दछन् । धुलो धुवाँमा लामो समय रहनुप¥यो भने छालामा केही दिर्घ समस्याहरू देखिन थाल्दछन ।

जसमा छाला चाउरी पर्ने, बुढ्यौलीका संकेत देखापर्ने । डण्डीफोर आईरहने हुन्छ । छालामा कत्लाहरू जाने हुन सक्दछ । छालामा मात्र नभै कपाललाई पनि यसले असर गर्दछ । कपाल सुक्खा हुने, टुक्रने झर्ने आदी समस्या पनि बायु प्रदुषणकै उपज हुन सक्दछ ।

अहिले हामीकहाँ धेरैजसो मानिसहरू अनुहार चिलाउने, अनुहारमा दाज आउने, छाला चिलाउने र खस्रो हुने समस्या लिएर आएको पाईन्छ । कतिपयले पूरै शरीर चिलाउने समस्या पनि लिएर आएको पाईन्छ । यो सम्पूर्ण कारण भनेकै गर्मी मौसम र प्रदुषणकै कारणले गर्दा हो भन्नमा कुनै संकोच लिनु पर्दैन ।

कसरी जोगिने त यो समस्याबाट: धुलो धुवाँबाट जोगिनका लागी सकेसम्म शरीरका सबै भाग छोपिने खालका कपडाहरू लगाउनु पर्दछ । यति गर्दा पनि अनुहार र हातका केही भाग भने खुलै रहन्छन ।

त्यसका लागि अनुहारमा माक्स लगाउन सकिन्छ । यसले दोहोरो फाईदा पु¥याउन सक्दछ । जुन अहिलेको महामारीको रूपमा रहेको कोरोना भाईरसको बिरुद्धमा पनि महत्वपूर्ण फाईदा पु¥याउन सक्दछ ।

त्यस्तै बाहिर निस्कँदा सनग्लास लगाउने र सनब्लक क्रिम प्रयोग गर्ने । सनब्लकको निरन्तर प्रयोगले घामका बिकिरणबाट जोगाउने मात्र नभै धुलोधुवाँलाई सिधै छालासम्म पुग्नबाट पनि रोक्दछ । यसले छाला बाहिर एउटा तह बनाउँदछ । धुलोधुवाँ त्यहीँ टाँसिएर बस्दछ । र, छालामा हानी पु¥याउन सक्दैन ।

बाहिरबाट घर पुगेपछि सबैभन्दा पहिला साबुन पानीले मिचिमिची हात मुख राम्रोसंग धुनुपर्दछ । मेकअप गरिएको छ भने तुरुन्तै मेकअप उतारेर सकेसम्म मोस्चराईजरको प्रयोग गर्नु राम्रो । त्यस्तै शुद्ध पानी प्रशस्त पिउने बानी बसाल्नु आवश्यक छ । छालाका लागि लाभदायक एन्टिअक्सिडेन्ट तत्व भएका गोलभेंडा, अंगुर र कागतीको सेबन बढाउनुु पर्दछ ।

छालामा रहने कोषहरूलाई प्रदुषणको प्रभावबाट चाँडै प्रभावित हुन नदिन विभिन्न फलफूलको सेवन लाभदायक हुनेछ । फलफूलमा हुने तत्वले त्यसबिरुद्ध लड्ने शक्ति आर्जन गर्न मद्दत गर्दछ । फलफूलमा पनि आँप सुन्तला मेवा जस्ता रङ्गीन प्रकारका फलफूलहरू प्रसस्त सेवन गर्नु अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

त्यासैगरी छालालाई सदा सुन्दर र मुलायम बनाई राख्न सधैँ नुहाउने, नुहाउदाँ र अनुहार धुँदा एकदमै नरमखालको र गुणस्तरीय स्याम्पु, साबुन र क्लिन्जरको प्रयोग गर्नु अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

अन्त्यमा गर्मी मौसम र प्रदुषणको कारणबाट मानव शरीरको छालामा पर्न जाने असरलाई माथि उल्लेखित महत्वपूर्ण भनाईहरूलाई मध्यनजर राख्दै आफ्नो स्वास्थ्यको जिम्मेवारी आफै नै हुनुपर्दछ ।

म जोगाउँदछु मेरो स्वास्थ्य भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै भनाई र सुनाईलाई ब्यवहारमा लागू गर्नु अत्यन्तै महत्वपूर्ण मानिन्छ । साथै मौसम अनुसारका शरीरलाई फाईदा पुग्ने खालका डे«सहरू लगाउने, पुरानो परम्परा र लोक सँस्कृति झल्काउने खालका कपडाहरूको प्रयोग गर्ने, धर्म र संस्कृतिलाई मध्यनजर राखेर मात्र कपडाहरूको प्रयोग गरेमा मात्र पनि ५० प्रतिशत प्रदुषणका कारणले छालामा हुने असरबाट बच्न सकिन्छ ।

साथै अटोमोबाईलहरूको गुणस्तरीय चेकजाँच र निश्चित मापदण्ड पूरा गरेका बाहेकका पुराना गाडीहरू सडकमा ल्याउन बन्देज गर्ने, कलकारखानालाई उचित ब्यवस्थापन गर्ने र सार्बजनिक स्थलमा धुमपानलाई बन्देज गर्नुको साथसाथै सरोकारवाला निकायमा रहेका सम्पूर्ण सरोकार वालाहरूले विकासलाई बिनासमा नढाली आवश्यकतालाई मध्यनजर गरी सडक बनाउने र भत्काएका सडकहरू तुरुन्त मर्मत गर्ने, पटक पटक सडकका मापदण्डहरूलाई थप्दै भत्काउँदै भन्दा आवश्यकीय मापदण्ड छनौट गरी भत्काउनु पर्ने क्षेत्रलाई एकपटक मात्र भत्काई तत्काल त्यसलाई निर्माण गर्ने कार्यमा सम्पूर्ण सरोकारवालाहरू लाग्ने हो र सम्पूर्ण नागरिकले आफूलाई एउटा सचेत नागरिकमा परिभाषित गर्न आ– आफ्नो नजिकको फोहोरको उचित ब्यवस्थापन, खानपान र पूर्ण सरसफाईमा विशेष ध्यान दिन सकेमा र यदि समस्या नै परिहालेमा आफ्नो समस्याको उचित समाधानको लागि बिशेषज्ञसंगको परामर्श लिने हो भने बाँकी रहेको प्रतिशतको आधारको समस्याको सही समाधान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?