Butwal Today

नयाँ वर्ष: पुरानै सङ्घर्ष !

३ बैशाख २०८३, बिहीबार
अ+
अ-

‘मन एव मनुष्याणं कारणं बन्ध मोक्षयोः’ (मनकै कारण बन्धन र मुक्त हुने हो मान्छे) को महत्व बुझेर सोही अनुसार गरे, चले अलि सहज होला, नत्र नहोला नयाँ वर्षमा पनि । ‘रौद्रनामक संवत्सर र शुभाशुभ ग्रहको विवेचन गर्दा यस वर्षको जागतिक परिस्थिति उत्साहजनक नै देखिन्छ ।

राजा गुरु र मन्त्री मङ्गलको आपसी मित्रताको सम्बन्धले गर्दा शासकीय कार्यमा सहजताको स्थिति रहनेछ तथा देश केही सुधारात्मक मार्गमा रहेको अनुभूति होला’ हिमाल पञ्चाङ्गमका अनुसार ।

शुभ दिनमा शुभ सोचेर, शुभकार्यको थालनी गरेर अगाडि बढे राम्रै होला, नत्र नहोला । अशुभ विचार, भावना र कामना नत्यागे सहज के होला र खै ? विगतमा जे भयो, सो गयो । त्यसबाट पाठ सिकेर, भविष्यतिर सोचेर, जे गर्दा शुभ हुन्छ, त्यही गर्ने हो । अत्याधुनिक प्रविधि र उपकरणको युग हुनाले ।

जो समयानुसार चल्न र ढल्न सिक्यो र सक्यो, त्यसले बाजी मार्छ, नसक्नेले हार्छ र पछुताउँछ । के गर्ने, कता जाने, के खाने र नखाने त्यो सवै आफैमा हो भर पर्ने ।

बजारमा हजार हुनु स्वभाविकै हो । तर आफुलाई चाहिएको विषय र परिकार छान्नेचाहिँ आफैले हो । आफुले नछान्ने, नजान्ने, नमान्ने, नगर्ने अनि अर्कोलाई आरोप लगाएर उम्कन हुँदैन । जो जे छ त्यो आफै हौ, कमजोरी र बहादुरी तिमीभित्रै छ । त्यसैले भनिएको हो ‘तत् त्वम् असि (तत्वमसि)’ ।

यसैलाई विपश्यना ध्यानका रूपमा लिन्छन् वौद्धमार्गीहरूले । अरूले पनि लिए राम्रै नतिजा निस्कन्छ । ‘यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी’ (जस्ले जस्तो भावना लिन्छ, उस्ले उस्तै सिद्धि प्राप्त गर्छ) ।

आजसम्म जे ग¥यौं, त्यसैको फल भोग्यौं । भोलि पनि जे गर्ने छौं, त्यसैको नतिजा व्यहोर्ने छौं । गर्ने आफैले हो र हो नतिजा व्यहोर्ने पनि, केही अपवादलाई छाडेर । यसर्थ अब पाइला चाल्दा राम्ररी विचार गरियोस्, अर्काका भर नपरियोस् ।

नयाँ वर्ष साँच्चैको नयाँ बनोस् आफ्नै जीवनमा । परिवारमा, कारोबारमा र व्यवहारमा । दुनियालाई बदल्न चाहनेले पहिले आफैलाई बदलेर सुरु गर्ने हो । आफु नबदलिनेले अरू बदलिएको देख्न र बुझ्न पाउँदैनन्, सक्दैनन् । विचार, व्यवहार र दृष्टि दोषले गर्दा पनि । अमेरिकी र इरानीहरूको शान्ति वार्ता विफल भयो पाकिस्तानमा । युद्ध लम्बिने निधो भयो ।

मध्यपूर्वमा शान्ति कायम नभएसम्म सहज हुने सम्भावना देखिदैन । महँगीले सताउने छ, अभावले अत्याउने छ अब । बहालवाला सरकारले गरेर भएको हैन, कसैले टार्न खोजेर टर्दैन । नेपालीका हातमा छैन महँगीको समाधान ।

यसर्थ सरकारलाई सरापेर हुँदैन । जबसम्म इरान र अमेरिकी–इजरायलका बीचमा स्थायी युद्धबिराम हुँदैन । अफगानिस्तान र पाकिस्तानको युद्ध रोकिदैन । रसिया र युक्रेन बीचको जारी युद्ध सकिदैन । खाडी मुलुकमा समेत शान्ति कायम हुँदैन । तबसम्म तनाव र अभावको दुस्प्रभाव भोग्ने हो । असहज अवस्थालाई सहज बनाउने उपाय आफैले खोज्ने हो ।

पुराना दलले आफ्ना अनावश्यक दस्ता भर्ति गरेर दोहन गर्ने माध्यम बनाएको आयल निगमले चैत महिनामा मात्रै पाँचपटक मूल्यवृद्धि ग¥यो । प्रतिलिटर २ सय १९ रुपियाँ पेट्रोल, २ सय ७ रुपिया डिजेल र मट्टितेल, २ सय ५७ रुपियाँ हवाई इन्धन र खाना पकाउने ग्याँस प्रतिसिलिण्डर २ हजार १० रुपियाँ मूल्य कायम गरेको छ ।

यसरी बेच्दा पनि पाक्षिकरूपमा ७ अर्ब ८१ करोड घाटा रहेको जनाएको छ । महँगी यतिमै रोकिने छैन । अझै कतिसम्म बढ्ने हो थाहा छैन । सरकारले भन्सार शुल्क र पूर्वाधार करमा छूट दिएर मूल्य नियन्त्रण गर्न खोजेर पनि सम्भव भएन । इन्धनमा भएको मूल्यवृद्धिले सवारी साधन, मालबाहक ट्रक र हवाई भाडा महँगिएको छ ।

आयातमा निर्भर देश हुनाले बजारमा पाइने सवै दैनिक उपभोगका सामग्री छोइसक्नु हुने छैनन् । खाद्यान्न, फलफुल, तरकारी, दलहन, तेलहन, मर–मसला, लत्ता–कपडा आदि सवै महँगिने छन् । यसैले पनि अब आफैले खोज्ने हो समाधान । मन नबढाउने, लोभ हटाउने, खर्च घटाउने, अति सामान्य जीवन विताउन थाल्ने हो भने सहज होला, नत्र नहोला ।

जीप, कार, मोटर साइकल र स्कूटी नचढ्ने, बरु साइकल चलाउन थाल्ने । ग्याँसको ठाउँमा विद्युतीय चुल्हो चलाउने । अभाव टार्न दाउरा र गुइँठा बालेर सुधारिएको चुल्होमा पकाएर खाने । पेट्रोल, डिजल र मट्टितेलको प्रयोग सकेसम्म घटाउने । अत्यावश्यक काम नपरेसम्म यात्रा नगर्ने । आयातीत वस्तुको भर नपर्ने ।

आफ्नै खेत–बारीमा काम गरेर आफुले खाने खाद्यान्न, फलफुल र तरकारी आदि आफैले उत्पादन गर्ने । गाई–भैसी, भेडा–बाख्रा, हाँस–कुखुरा पालेर त्यसैको मल हालेर खेत–बारी उर्बर पार्ने । अर्काको आस नगर्ने, आफ्नै श्रम, सीप र उत्पादनमा भर पर्ने । यति मात्रै गरेर हेर्ने हो भने जहाँसुकै, जोसुकैले जति युद्ध गरे पनि केही फरक पर्ने छैन । नत्र, संकट टर्ने हैन ।

अर्काको देखेर लोभिनु र अरूको बैसाखीमा उभिनु हुँदैन जबसम्म आफैले केही गर्न सकिदैन । कोसिस गरे, काम थालेर नतिजा कुरे हुन्छ, नगरे हुन्न । खेत–बारीमा लगाएका बालीले उब्जनी दिन पनि समय लिन्छ ।

प्रयास गरे ६ महिनामै बानी सुधारेर, उत्पादन गरेर आत्मनिर्भर बन्न सकिन्छ, नगरे हुन्न, सकिन्न । निर्दलीय पञ्चायती व्यवस्थाका बेला राजनीतिक दलमाथि प्रतिबन्ध लगाइएको थियो । पेशागत एवं जनवर्गीय संगठन खुल्ला थिए, तर ती पञ्चायतकै अभिन्न अंग बनाइएर ।

प्रतिबन्धित दलहरूले तिनै संगठन मार्फत राजनीति अगाडि बढाएर सङ्घर्ष गरेर बहुदलीय व्यवस्थाको पुनःस्थापन गरेपछि गणतन्त्रको अभ्यास जारी छ । राजतन्त्र गयो लोकतन्त्र आयो । तर पुरानै तरिकाका ती संगठनहरू पञ्चायतकै शैलीमा हरेक सत्ता र दलले दुरूपयोग गरे । विद्यार्थी, शिक्षक, प्राध्यापक, वकिल, कर्मचारी, पत्रकारका नाममा राजनीतिक क्रियाकलापमा संलग्न हुँदा पेशागत हकहीतका विषय पछि पारिए ।

विद्यार्थी, शिक्षक र प्राध्यापकले विद्यालय, महाविद्यालय र विश्वविद्यालयको शैक्षिक उन्नयनका लागि काम गर्न भन्दा ध्वस्त पार्ने धन्दामा नलागेका भए नहुँदो हो बिरोध । शैक्षिक क्षेत्र तहस–नहस हुन नदिएर ती संगठनले हिजोको तुलनामा राम्रो प्रगति गरेर देखाएका भए सवैले स्याबासी पनि दिदा हुन् । देखिएन त्यस्तो र विवाद बढेको होला यस्तो ।

बहालवाला सरकारले विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी आदि संगठनको औचित्यमाथि प्रश्न उठाएर प्रतिबन्ध लगाउने प्रयास गरेको छ । ती संगठनले राम्रो काम गरेका भए, जनताले आफै सरकारी कदमको प्रतिरोध गर्थे । गरेनन् र बरु सरकारले गरेका काममा समर्थन जनाएको देखिदैछ यतिबेला । युवा, विद्यार्थी, शिक्षक, प्राध्यापक र कर्मचारी संगठनको काम भ्रष्टाचार बढाउन सघाएर दलीय दुर्भावना फैलाउन भूमिका खेलेको भन्ने आरोप लागेको छ ।

जसरी पुराना दलहरू चुनावपछि किनार लागेका छन्, उसैगरी पेशागत संगठन किनारा लाग्ने अवस्था आउनु हुँदैनथ्यो । प्रेशाप्रतिको प्रतिवद्धता र लगनशीलता भन्दा बढी राजनीति गरेकाले बदनाम हुन परेको हो ।

पेशागत संगठन चाहिन्छन्, प्रतिबन्ध नलगाइयोस् । तर राजनीतिक पार्टीका भातृ संगठनका रूपमा राखेर जुन तहको बिकृति फैलाइयो त्यसको नियन्त्रण र व्यवस्थापनचाहिँ हुनैपर्छ । वर्गीय, लिङ्गीय, क्षेत्रीय, भाषिक, साँस्कृतिक, धार्मिक, व्यवसायिक र पेशागत संगठनले आफ्नो क्षेत्राधिकार ननाघुन् ।

विद्यार्थी, शिक्षक र प्राध्यापकले शैक्षिक उन्नयनका काममै खटेको भेटियुन्, देखियुन् । त्यो भन्दा बढी गर्न खोजेर आफ्नो कर्तब्य नविर्सुन् । कर्तव्य पुरा नगर्ने तर अधिकार चाहि खोज्ने, आफ्नो ठाउँमा नबसेर हस्तक्षेप बढाएर विकृति फैलाउने हो भने त्यस्ता संगठनको औचित्य आफै सकिने छ । जन–समर्थन जुटाउन पनि गाह्रो पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?