© 2026
गर्मी बढ्दै जान थालेपछि डेंगु सङ्क्रमण बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पाल्पामा डेंगी तथा जापनिज इन्सेफ्लाइटिसका रोगीहरूको संख्या आकस्मिकरूपमा बढिरहेको छ ।
पहाडी जिल्लामा यो अवस्था छ भने तराईमा झनै बढ्ने अवस्था रहेको छ । विगत ४ वर्षको अवधिमा पाल्पामा १ हजार ३ सय २७ जनामा डेंगी सक्रमण भएको र ५ जनाको मृत्यु भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा चैतदेखि नै डेंगुको सङ्क्रमण बढ्न थालेको छ । तसर्थ यो बर्षपनि होसियारीको समय आएको छ । हरेक बर्ष डेंगु नियन्त्रण गर्न खोज र नष्ट गर अभियान संचालन हुने गर्दछ ।
यो अभियान प्रभावकारी पनि देखिएको छ तर जबसम्म फोहर अन्त्य र सरसफाईमा ध्यान दिईदैन तबसम्म डेंगुको जोखिम बढिरहनेछ । तसर्थ डेंगुबाट हुने मृत्युको जोखिमलाई कम गर्नका लागि अहिलेदेखि नै अभियान चलाउनुपर्ने खाँचो छ ।
विगतदेखि नै डेंगु नियन्त्रणका लागि संघीय सरकार र स्थानीय पालिकाहरूले खोज र नष्ट गर अभियान चलाउँदै आएका छन् । हरेक बर्ष गर्मीयाम त्यसमाथि पानी पर्ने क्रम सुरु भएसंगै तराईमा हुने डुवानले लामखुट्टेको प्रकोप बढ्ने गर्दछ ।
यो हरेक बर्षको नियमित प्रकृया हो । नेपालका तराईका जिल्लाहरूमा डेंगुको सङ्क्रमण यसरी नै बढ्दै जाने हो भने यसले भयावह अवस्था सिर्जना गराउन सक्छ । तराईका जिल्लामा मात्रै होइन, पहाड र हिमाली जिल्लामा समेत डेंगु सङ्क्रमण बढ्दै गएको कारण चिन्ता थपिनु स्वाभाविक छ ।
पछिल्लोसमय डेंगुसंगै जापनिज इन्सेफ्लाईटिसको जोखिम समेत बढिरहेको छ । घरपालुवा जनावर सुगुर, बंगुर, हाँस, बकुल्ला लगायतका जनावरमा हुने जापनिज इन्सेफ्लाइटिस भाइरस लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने गर्दछ ।
यो रोगले मस्तिष्कमा असर गर्ने भएकाले ज्वरोसँगै टाउको दुख्ने, बान्ता हुने, बेहोस हुने तथा स्नायु प्रणालीमा समस्या देखिने जस्ता लक्षणहरू देखापर्न सक्ने र समयमै उपचार नपाएमा अपांगता वा मृत्यु समेत हुन सक्ने भएकोले यसको रोकथाममा विशेष ध्यान दिन आवश्यक छ ।
गत बर्षमात्रै डेंगु नेपालका ७५ जिल्लामा फैलिएको थियो । डेंगु सङ्क्रमण नियन्त्रणका लागि सचेतना, सावधानी र समुदायस्तरमा जागरण अत्यन्त महत्वपूर्ण रहेको छ । घर वरपर पानी जम्न नदिने, लामखुट्टेको बासस्थान नष्ट गर्ने, विस्तरामा झुलको प्रयोग गर्ने तथा सरसफाइमा ध्यान दिने जस्ता उपाय अपनाएर लामखुट्टेको टोकाइबाट लाग्ने रोग नियन्त्रण गर्न सकिन्छ ।
डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग हो । लामखुट्टेले टोकेपछि सर्ने यो रोग नियन्त्रणका लागि सम्वन्धित जिल्लाका स्वास्थ्य संस्थाहरूको ध्यानाकर्षण हुनु जरुरी देखिएको छ ।
विगतका वर्षहरूदेखि नै विभिन्न जिल्लामा डेंगुको सङ्क्रमण फैलिन नदिनकालागि लामखुट्टे खोज र नष्ट गर अभियान नगरपालिकाहरूले सञ्चालन गर्दै आएका छन् । तर, अव यत्तिले मात्र नपुग्ने अवस्था आएको छ ।
यसमा सिंगो सरकार र नागरिक समाजको ध्यानाकर्षण हुनु जरुरी देखिएको छ । नागरिकको जीवन रक्षा गर्ने दायित्व सरकारको हो । त्यसमा पनि आफू बस्ने वातावरण वरपरको सरसफाईमा ध्यान दिने आफैले हो ।
डेंगुको संक्रमणबाट बच्नका लागि होसियार बन्न जनस्वास्थ्य कार्यालयले आग्रह गर्दै आएको छ । डेंगुको सङ्क्रमण त्यहाँ हुन्छ जहाँ घर वरपरका गमला, थोत्रा टायर, थोत्रा प्लास्टिक तथा टिनका डिव्वा, अलकत्राका ड्रमहरूमा फोहोरो पानी जम्मा भएको हुन्छ । यिनै स्थानमा लामखुट्टेले फुल पार्ने सम्भावना बढी हुन्छ ।
जसवाट लामखुट्टेको लार्भा उत्पन्न भएर त्यहीवाट डेंगुको सङ्क्रमण बढ्न सक्छ । अवको दिनमा डेंगु नियन्त्रणका लागि साझा प्रतिवद्धता जरुरी छ । त्यतिमात्रै होइन, स्थानीय समुदायको वातावरण स्वच्छ वनाउने दायित्व पनि समुदायकै रहन्छ । अतः आफ्नो घर वरिपरीको वातावरण स्वच्छ राखौं ।