Butwal Today

दुर्घटना न्यूनिकरणमा ध्यान जाओस्

१ मंसिर २०८३, मंगलवार
अ
अ+
अ-

पछिल्लो २० वर्षमा सडक दुर्घटनाबाट ४० हजार बढीको ज्यान गइसकेको छ । नेपाल विश्वमै सबैभन्दा बढी दुर्घटना हुने १० देशभित्र पर्दछ । पछिल्लोसमय सर्वसाधारणको अकालमै ज्यान जाने गरी ठूला सडक दुर्घटना बढेर गएको छ । यसले आम नेपालीजनमा चिन्ता थपेको छ । तिहारकै समयमा भीमफेदी जीप दुर्घटनामा १४ जनाको ज्यान गएपछि नेपालको सडक दुर्घटनाको विषयले फेरी बहस निम्त्याएको छ ।

सोमबार मात्रै नेपालका विभिन्न जिल्लामा गरि पाँचजनाको मृत्यु भएको छ भने दर्जनौं घाईते भएका छन् । चालू आर्थिक वर्षको अहिलेसम्मको तथ्यांक हेर्ने हो भने सडक दुर्घटनाको संख्या विगतको भन्दा दोब्बरले बढेको छ । यसरी दिनदिनै हुने सडक दुर्घटनाको मूख्य कारणको बारेमा अहिलेसम्म बिस्तृत अध्ययन हुन सकेको छैन । सरकारले दुर्घटना छानबिन समिति गठन गरेर जिम्मेवारीबाट पञ्छिने गरेको छ ।

बाटो र मौसमको अवस्था, गाडी र गाडी चालकको अवस्था, गाडीको क्षमता र गाडीको गतिको कारण हुने दुर्घटनाको विषयमा अव विहंंगम तरिकाले अध्ययन अनुसन्धान हुनु जरुरी छ । सवारी दुर्घटनामा सरकार र व्यवसायीबीच आरोप–प्रत्यारोप लाग्ने गरेको छ । सरकारले व्यवसायी र चालकलाई दोष दिने गरेको पाइन्छ । व्यवसायी भने सरकारले समयमै बाटो मर्मत सम्भार नगर्दा दुर्घटना निम्तिने गरेको गुनासो गर्छन् ।

सरकारले सडकलाई संवेदनशील क्षेत्र मानेर भरपर्दो, सुरक्षित सडक र सवारी बनाउने विशेष ठोस कदम अघि सार्न नसक्दा दुर्घटना नियन्त्रण हुने गरेको छ । अर्कोतर्फ सरकारले सवारी चालकका लागि अहिलेसम्म कुनैपनि प्रकारको लगानी गरेको छैन । यातायात व्यवसायी सरकारले सडक मर्मत सम्भारमा ध्यान नदिँदा दुर्घटना बढेको बताउँछन् । हाल देशभर सडक खन्ने होडबाजी नै चलेको छ तर भत्काइएको सडक महिनौंसम्म अलपत्र अवस्थामा पर्दा त्यहाँ न सरकार न त यातायात व्यवसायीको ध्यान गएको छ । सरकारले सबै सडक तथा राजमार्ग नियमित रूपमा कालोपत्रे गर्न तथा खाल्टाखुल्टी पुर्न सकेको छैन ।

हरेक दिन हुने दुर्घटनाका खबरले आम जनमानसलाई बिक्षिप्त वनाएको छ । दुर्घटनाको देश भनेर नेपालको परिचय दिनुपर्ने अवस्था आउनु दुर्भाग्यको बिषय हो । दुर्घटनाले नेपालको सडक यातायातको अवस्था र प्रकोपको जोखिम कति छ भन्ने कुरा छर्लङ्ग बनाउँछ । दुर्घटनाका पछि धेरै पक्ष गैर जिम्मेवार देखिएका छन । सडकको अवस्थामा सुधार नगर्ने सरकार दोषी छ । चालकले लापरवाहीपूर्वक चलाउँदा दुर्घटना बढेका छन् । त्यसमा चालक दोषी छन् । ट्राफिक प्रहरीले नजरानाका आधारमा सवारी साधन चेकजाँच नगर्नुका पछि उनीहरू दोषी छन् । यात्रुले समेत सवारी साधनको अवस्था नबुझिकन यात्रा गर्नुमा उनीहरू पनि दोषी छन् ।

सवैभन्दा बढी दोषी सरकार छ । सडक होस् या आकास, नेपाली भूमिमा भएका शृंखलाबद्ध यी दुर्घटनाले देशभित्र र बाहिर कस्तो सन्देश गइरहेको छ भन्ने बिषयमा खासै छलफल र बहस नहुनु चिन्ताको कुरा हो । कुरा के हो भने नेपालमा भैरहने यस प्रकारका श्रृंखलाबद्ध दुर्घटनाले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि बिग्रने अवस्था आएको छ ।

जसका कारण विदेशी पर्यटक आगमनमा भारी कमी आउने निश्चित छ । दुर्घटनाको बढ्दो सिलसिलाले देशभित्रकै नागरिकमा पनि यात्रा भनेकै जोखिमको पर्याय बनिरहेको छ भन्ने महसुस हुन थालेको छ । बढ्दो दुर्घटनाको यो अवस्थाले नेपालको पर्यटन क्षेत्रमा ठूलो प्रभाव पर्ने निश्चित छ । यसमा सरकार गंभीर बन्नु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?