© 2026
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिक नेतृत्व र महाधिवेशनको वैधानिकतालाई लिएर विवाद चर्किरहेका बेला पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा १५औँ महाधिवेशन प्रक्रिया अघि बढाएको छ । देउवा पक्षले अहिलेसम्म ६१८ पालिकासहित २६ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ ।
देउवा पक्षले आगामी मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ । यसका लागि वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला तहका अधिवेशनलाई तीव्रता दिइएको छ ।
मंगलबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी देउवा पक्षले अधिवेशनको प्रगति विवरण सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा नेता प्रकाशशरण महतले छोटो समयमै देशभर अधिवेशन प्रक्रिया अघि बढाइएको र नेता–कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको दाबी गरे ।
महतका अनुसार अहिलेसम्म ६१८ पालिका, प्रदेशसभाका २२८ निर्वाचन क्षेत्र, प्रतिनिधिसभाका ११४ निर्वाचन क्षेत्र र २६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । थप १२ जिल्लामा अधिवेशन उद्घाटन भएर प्रक्रिया अघि बढिरहेको छ । अधिकांश स्थानमा वडा अधिवेशनसमेत सम्पन्न भइसकेको उनको भनाइ छ ।
यद्यपि, देउवा पक्षकै विवरणअनुसार अझै १३५ पालिका, प्रदेशसभाका १०२ निर्वाचन क्षेत्र, प्रतिनिधिसभाका ५१ निर्वाचन क्षेत्र र ३९ जिल्लामा अधिवेशन हुन बाँकी छ ।
महतले केन्द्रबाट कुनै आर्थिक तथा भौतिक स्रोतसाधन उपलब्ध नगराइएको अवस्थामा पनि स्थानीय नेता–कार्यकर्ताले आफ्नै खर्चमा अधिवेशन सम्पन्न गरिरहेको बताए । उनले अधिवेशनमा स्वतःस्फूर्त सहभागिता रहेको दाबी गर्दै विशेष महाधिवेशनमा सहभागी भएका नेता–कार्यकर्तासमेत आफूहरूले अघि बढाएको प्रक्रियामा जोडिन थालेको बताए ।
देउवा पक्षले आफ्नो महाधिवेशनलाई पार्टीको विधि, विधान र मूल्यमान्यताको पक्षमा अघि बढाइएको प्रक्रिया भन्दै आएको छ । महाधिवेशनको संयोजन देउवाले गर्ने र दैनिक व्यवस्थापन तथा समन्वयको जिम्मेवारी नेता शशांक कोइरालाले सम्हालिरहेको महतले जानकारी दिए ।
देउवा पक्षले महाधिवेशन प्रक्रिया अघि बढाउनुका साथै गगन थापा नेतृत्वको कार्यसमितिको वैधानिकतामाथि पनि प्रश्न उठाउँदै आएको छ । महतले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति देउवा नै पार्टीको आधिकारिक सभापति रहेको दाबी गरे ।