Butwal Today

हिन्दु र बौद्ध सम्पदालाई जोड्ने प्रयासमा रामग्राम

१ मंसिर २०८३, मंगलवार
अ
अ+
अ-

नवलपरासी ।
भगवान् गौतम बुद्धको अस्तिधातु रहेको ऐतिहासिक रामग्राम स्तुप नजिकै निर्माण भएको रामजानकी मन्दिरले यस क्षेत्रको धार्मिक पर्यटनमा नयाँ आकर्षण थपेको छ । बौद्ध धर्मावलम्बीको अन्तर्राष्ट्रिय आस्थाको केन्द्र रामग्राम स्तुपको पश्चिमतर्फ झरही नदीपारि रहेको मन्दिर हिन्दु सनातन धर्मावलम्बीको धार्मिक गन्तव्यका रूपमा विकास हुन थालेको हो ।

रामग्राम नगरपालिका–७ उजैनीमा करिब २५ लाख रूपैयाँ निजी लगानीमा निर्माण गरिएको मन्दिरमा रामजानकीको मूर्ति स्थापना गरी प्राणप्रतिष्ठासमेत गरिएको छ । स्थानीय उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ओमप्रकाश अग्रहरीको लगानीमा निर्माण भएको मन्दिरमा गत वर्ष नौ दिनसम्म रामलीला कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा भगवान् रामको जन्मभूमि अयोध्याबाट धर्मगुरु, प्रवचनकर्ता तथा कलाकार सहभागी भएका थिए ।

मन्दिरका अध्यक्षसमेत रहेका अग्रहरीका अनुसार उक्त स्थानमा प्राचीनकालदेखि नै सानो मन्दिर र कुटी रहँदै आएको थियो । स्थानीयको मागअनुसार पुरानो मन्दिरलाई संरक्षण गर्दै त्यसको छेउमा नयाँ संरचना निर्माण गरिएको हो । विगतदेखि नै पुजारी तथा साधुसन्तको बसोबास र नियमित पूजापाठ हुँदै आएको यस स्थानलाई थप व्यवस्थित धार्मिक केन्द्रका रूपमा विकास गर्ने प्रयास गरिएको उनले बताए ।

रामग्राम स्तुपमा बौद्ध धर्मावलम्बीको अन्तर्राष्ट्रिय आकर्षण रहँदै आएको छ । भगवान् बुद्धको महापरिनिर्वाणपछि प्राप्त अस्तिधातुको एक भाग राखेर कोलिय गणराज्यका शासकहरूले स्तुप निर्माण गराएको ऐतिहासिक मान्यता छ । सम्राट् अशोकले विभिन्न स्थानका स्तुप उत्खनन गरी अस्तिधातु अन्यत्र लैजाने क्रममा रामग्राम स्तुप पनि उत्खनन गर्न खोजेको तर नागवंशीहरूको आग्रहमा त्यसो नगरेको जनश्रुति छ । त्यसैले रामग्राम स्तुप मौलिक स्वरूपमा सुरक्षित रहेका महत्वपूर्ण बौद्ध सम्पदामध्ये एक मानिन्छ ।

रामग्राम स्तुप र आसपासका क्षेत्रमा प्राचीन बौद्ध विहार, पोखरी तथा धार्मिक गतिविधिसँग सम्बन्धित संरचना रहेको स्थानीय जानकारहरूको भनाइ छ । रामग्राम नगरपालिका–७ देउरवा आसपास र वडा नं. १७ देवगाउँ क्षेत्रमा प्राचीन धार्मिक तथा ऐतिहासिक अवशेषसँग सम्बन्धित स्थल रहेको बताइन्छ । पछिल्लो समय यस क्षेत्रको ऐतिहासिक पहिचान उजागर गर्न पुरातात्विक खोज तथा अनुसन्धानका प्रयाससमेत भइरहेका छन् ।

स्थानीय जानकारहरू उजैनी गाउँको नामलाई समेत उज्जैनबाट आएका सैनिकहरूको बसोबाससँग जोडेर व्याख्या गर्छन् । यद्यपि रामजानकी मन्दिरको स्थापना कहिले र कुन ऐतिहासिक घटनासँग सम्बन्धित भएर भएको हो भन्ने विषयमा यकिन गर्न थप अनुसन्धान आवश्यक रहेको उनीहरूको भनाइ छ ।

नागरिक समाजका पूर्वअध्यक्ष राधेश्याम सिंह सैथवारले रामग्राम स्तुप र रामजानकी मन्दिर दुवै धार्मिक आस्थाका महत्वपूर्ण केन्द्र भएकाले समान रूपमा संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताए । बौद्ध धर्मावलम्बीका लागि अन्तर्राष्ट्रिय महत्व बोकेको रामग्राम स्तुप र हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र रामजानकी मन्दिरलाई जोडेर धार्मिक पर्यटनको विकास गर्न सकिने उनको भनाइ छ ।

उनका अनुसार रामग्राम स्तुप क्षेत्रमा थाइल्यान्ड, कोरिया, चीन र जापानका बौद्ध धर्मावलम्बी तथा संस्थाहरूले जग्गा खरिद गरी विहार निर्माणको पहल गरिरहेका छन् । तर नेपाली बौद्ध विहार तथा अन्य धार्मिक संरचनाको विकासमा राज्यको ध्यान पर्याप्त पुग्न नसकेको उनले गुनासो गरे ।

रामग्राम स्तुपको संरक्षण, विकास र प्रवद्र्धनका लागि रामग्राम विकास कोषमार्फत काम हुँदै आएको छ । स्तुपको नामबाटै रामग्राम नगरपालिका स्थापना भएको हो । यस्तो अन्तर्राष्ट्रिय महत्वको सम्पदासँगै जोडिएको रामजानकी मन्दिरको निर्माण र स्थानीयस्तरमा भइरहेका धार्मिक गतिविधिले यस क्षेत्रको पर्यटन सम्भावनालाई थप फराकिलो बनाएको छ ।

स्थानीयवासीका अनुसार रामग्राम स्तुप र रामजानकी मन्दिरलाई एउटै धार्मिक तथा ऐतिहासिक पर्यटन मार्गका रूपमा विकास गर्न सके स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढाउन सकिन्छ । बौद्ध र हिन्दु दर्शनसँग सम्बन्धित यी दुई स्थलको संरक्षण, प्रचारप्रसार र आवश्यक पूर्वाधार विकासमा राज्य तथा स्थानीय समुदायबीच सहकार्य हुन सके रामग्राम धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्न सक्ने सम्भावना छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?