© 2026
पाल्पा ।
वनजंगलमा सीमित रहेको वनमारा झार पछिल्लो समय खेतबारी हुँदै घरआँगनसम्म फैलिन थालेपछि पाल्पा र आसपासका जिल्लाका किसानलाई खेतीपाती गर्नै समस्या भएको छ । खेतबारी, कान्ला र पाखापखेरामा वनमारा फैलिएपछि अन्य बाली तथा वनस्पति हुर्काउन कठिन भएको किसानले बताएका छन् ।
तानसेन नगरपालिका–पिपलडाँडाका किसान इन्द्रबहादुर चिदीलाई यस वर्ष आफ्नै बारी जोत्न निकै सकस भयो । बारीभरि वनमारा झार फैलिएका कारण खेती गर्ने जमिन तयार पार्नै कठिन भएको उनले बताए । वनजंगलमा मात्रै देखिने वनमारा पछिल्लो समय खेतीयोग्य जमिनमा समेत फैलिन थालेपछि आफूजस्ता हजारौँ किसानका लागि टाउको दुखाइ बनेको उनको भनाइ छ ।
तीन दशकअघि सल्लाको वनजंगलमा मात्रै देखिने गरेको वनमारा अहिले गाउँबस्तीका बारी र घरआँगनसम्म फैलिएको स्थानीय किसान बताउँछन् । यो वनस्पति कहाँबाट र कसरी फैलियो भन्ने यकिन जानकारी नभए पनि पछिल्ला वर्षमा यसको विस्तार तीव्र भएको उनीहरूको अनुभव छ । द्वन्द्वकालताका कतिपयले यसलाई ‘माओवादी झार’ समेत भन्ने गरेका थिए ।
रिब्दीकोट गाउँपालिका–कुसुमखोलाका किसान अर्जुन रानाका अनुसार वनमारा अहिले नियन्त्रण गर्नै नसकिने अवस्थामा पुगेको छ । वनपाखा हुँदै बारीका कान्ला र घरआँगनसम्म फैलिएको यो झार हटाउन किसानलाई निकै कठिन भएको उनले बताए ।
वनमाराका विभिन्न प्रजातिमध्ये कालो र सेतो वनमारा बढी चर्चामा छन् । काँडा हुने र नहुने प्रजातिसमेत पाइने यो झार खेतबारीमा फैलिएपछि अन्य वनस्पतिलाई विस्थापित गर्दै जाने किसानको अनुभव छ । निस्दी गाउँपालिका–अर्चलेका किसान रामबहादुर शारु आफ्नो गाउँमा यसलाई वनमारा भन्दा पनि ‘मिचाहा झार’ भनेर चिन्ने गरिएको बताउँछन् ।
शारुले गत वर्ष वर्षायाममा वन कार्यालयबाट दालचिनीका १०० वटा बिरुवा ल्याएर रोपेका थिए । तीमध्ये करिब ४० प्रतिशत बिरुवामा वनमाराका कारण नकारात्मक असर परेको उनको भनाइ छ । हिउँदमा खासै नदेखिने वनमारा वर्षा सुरु भएसँगै चारैतिर फैलिने गरेको उनले बताए ।
गुल्मीको सत्यवती गाउँपालिका–भार्सेका किसान बोमबहादुर दर्लामी पनि वनमाराले सुन्तलाजातका बिरुवामा असर पु¥याउन थालेपछि चिन्तित छन् । अन्य वनस्पतिका तुलनामा वनमारा आक्रामक देखिएकाले यसले कृषि तथा वन क्षेत्रको जैविक विविधतामा जोखिम निम्त्याउन सक्ने उनको भनाइ छ ।
बगनासकाली गाउँपालिका–खानीछापका किसान दिलबहादुर शारुले यस वर्ष मकैबारीमै वनमारा फैलिएपछि नियन्त्रण गर्न नसकेको बताए । पहिले वनजंगल र खोरियामा मात्रै देखिने वनमारा यस वर्ष मकैबारीसम्म फैलिएको उनले सुनाए । गत वर्ष नजिकैको वनमा डढेलो लागेपछि त्यहाँ वनमारा झन् बाक्लिएर फैलिएको र त्यसैबाट गाउँतिर विस्तार भएको उनको अनुमान छ ।
वन प्राविधिक रामचन्द्र लामाका अनुसार कालो वनमारा जैविक विविधता संरक्षणका दृष्टिले जोखिमपूर्ण प्रजातिमध्ये एक हो । यसले अन्य वनस्पतिको वृद्धिमा अवरोध पु¥याउनुका साथै कृषि क्षेत्र, पारिस्थितिक प्रणाली, सिमसार तथा संरक्षित क्षेत्रमा समेत असर गर्न सक्छ । नेपालमा कृषि क्षेत्रमा फैलिएका मिचाहा प्रजातिमध्ये कालो वनमारा पनि महत्वपूर्ण समस्याका रूपमा देखिएको उनले बताए ।
वनमाराको विस्तारले खेतीयोग्य जमिनसमेत प्रभावित हुन थालेपछि किसानमा खेतीप्रतिको आकर्षण घट्न थालेको स्थानीयको भनाइ छ । तानसेन नगरपालिका–बाझाका किसान नरबहादुर कार्कीले वनमारा फैलिएका कारण तीन वर्षदेखि आफ्नो बारीमा अन्नबाली लगाउन छाडेको बताए । यसको फूलबाट बीउ फैलिने भएकाले एकपटक उम्रिएपछि नियन्त्रण गर्न कठिन हुने उनको अनुभव छ ।
गाउँमा पहिले गाईगोरु पाल्ने चलन बढी हुँदा वनमाराको प्रयोग पनि हुने गरेको स्थानीय बताउँछन् । यसको पात र डाँठबाट जैविक मल बनाउने तथा केही ठाउँमा काटेर बायोग्यासमा प्रयोग गर्ने गरिएको थियो । तर गाउँबाट बसाइँसराइ बढेपछि पशुपालन घटेको र यसको उपयोगसमेत हुन छाडेको रिब्दीकोट गाउँपालिका–देउरालीकी कमला न्यौपानेले बताइन् । अहिले वनमारा घरका भित्ता, पेटी र आँगनसम्म फैलिन थालेको उनको भनाइ छ ।
तर वनमारा पूर्णतः अनुपयोगी वनस्पति भने नभएको वनस्पति विज्ञ संयोग बस्नेत बताउँछन् । उनका अनुसार यसको उचित व्यवस्थापन र उपयोग गर्न सके हरियो मलका रूपमा प्रयोग गर्न सकिन्छ । वनमारामा नाइट्रोजन, फस्फोरस र पोटासजस्ता बिरुवाका लागि आवश्यक पोषक तत्त्व उपलब्ध हुने भएकाले यसलाई जैविक मलका रूपमा उपयोग गर्न सकिने उनले बताए ।
पछिल्लो समय खाद्यान्न तथा फलफूल खेतीमा रोगकीरा नियन्त्रण गर्न रासायनिक विषादीको प्रयोग बढिरहेका बेला वनमाराको उचित प्रशोधन र प्रयोग वैकल्पिक उपाय बन्न सक्ने बस्नेतको भनाइ छ । यसको पात र डाँठमा पाइने रासायनिक तत्त्व तथा विशिष्ट गन्धका कारण तयार पारिएको झोल केही अवस्थामा बोटबिरुवामा लाग्ने कीरा नियन्त्रणमा प्रयोग गर्न सकिने उनले बताए ।
वनमाराको जरा बाक्लो हुने भएकाले माटो समात्न र भूक्षय नियन्त्रणमा समेत उपयोगी हुन सक्ने विज्ञहरूको भनाइ छ । यद्यपि, यसको उपयोग गर्दा अनियन्त्रित रूपमा थप फैलिन नदिने सावधानी आवश्यक हुन्छ । किसानलाई यसको सही व्यवस्थापन, प्रशोधन र सुरक्षित उपयोगबारे जानकारी दिनुपर्ने बस्नेत बताउँछन् ।
वनमारा नियन्त्रणका नाममा पूर्ण रूपमा नष्ट गर्ने प्रयास मात्रै पर्याप्त नहुने विज्ञहरूको सुझाव छ । यसको फैलावट रोक्ने, उपयोगी पक्षको अध्ययन गर्ने र किसानलाई जैविक मल तथा अन्य सम्भावित उपयोगबारे जानकारी दिने कार्यक्रम आवश्यक देखिएको छ ।
वनजंगलबाट खेतबारी र घरआँगनसम्म फैलिएको वनमारा नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारी निकायबाट प्रभावकारी सचेतना र प्राविधिक सहयोग नपुगेको स्थानीय किसानको गुनासो छ । यसको उपयोगिता र जोखिम दुवै पक्षबारे किसानलाई जानकारी गराउन सके खेतीयोग्य जमिनको संरक्षणसँगै रासायनिक मलको विकल्प खोज्नसमेत सहयोग पुग्ने उनीहरूको अपेक्षा छ ।