© 2026
सल्यान । सल्यानको कुमाखमा आयोजित चौथो कुमाख कप २०८३ तथा कुमाख मेला, २०८३ को आयव्यय विवरण सार्वजनिक गरिएको छ । कुमाख मेला व्यवस्थापन समितिले मेलाका लागि भएको आम्दानी, खर्च र बचतको विवरण सार्वजनिक गरेको हो । मेला व्यवस्थापन समितिका अध्यक्ष खेम डिसीले सार्वजनिक गरेको विवरण अनुसार चौथो कुमाख कप सञ्चालनका लागि विभिन्न स्रोतबाट पाँच लाख ९९ हजार ९६३ रुपैयाँ आम्दानी भएको छ । कार्यक्रम सम्पन्न गर्दा विभिन्न शीर्षकमा चार लाख ५९ हजार ७४५ रुपैयाँ खर्च भएको उनले जनाएका छन् ।
आम्दानी र खर्चको विवरण अनुसार मेलाबाट एक लाख ४० हजार २१८ रुपैयाँ बचत भएको समितिले जनाएको छ । सार्वजनिक विवरण अनुसार कुमाख गाउँपालिकाबाट ५० हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ भने सहयोगी दाताहरूबाट तीन लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको छ । खर्चतर्फ भलिबल प्रतियोगिताको पुरस्कारमा मात्रै दुई लाख सात हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै प्रमाणपत्र, मेडल, कप तथा खेलकुद सामग्री खरिद, सुरक्षा व्यवस्थापन, निर्णायक खर्च, सांस्कृतिक सम्मान, जेनेरेटर भाडा तथा इन्धन लगायतका शीर्षकमा रकम खर्च भएको विवरणमा उल्लेख छ ।
समितिले मेलाबाट बचत भएको रकम कुमाख मन्दिरमा संस्थागत गर्ने जनाएको छ । साथै आगामी दिनमा कुमाखको प्रचारप्रसार तथा व्यवस्थापनका लागि स्थानीय सरोकारवालाको सल्लाह र सुझाव अनुसार उक्त रकम खर्च गरिने अध्यक्ष डिसीले जनाएका छन् । सल्यानको धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय पहिचानसँग जोडिएको कुमाख क्षेत्रको प्रचारप्रसार र विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको थियो । स्थानीय कला, संस्कृति, पर्यटन तथा खेलकुदको विकासमा योगदान पुर्याउने लक्ष्यसहित मेलालाई व्यवस्थित, सभ्य, भव्य र वातावरणमैत्री रूपमा सञ्चालन गरिएको समितिले जनाएको छ ।