Butwal Today

बंगलादेशतर्फको बिजुली निर्यात बन्द

१ मंसिर २०८३, मंगलवार
अ
अ+
अ-

काठमाडौं । वर्षायाममा बंगलादेशतर्फ निर्यात हुँदै आएको ४० मेगावाट विद्युत् निर्यातको अवधि सकिएसँगै रोकिएको छ । सुख्खायाम सुरु भएसँगै आन्तरिक माग बढ्ने र नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको उत्पादन घट्ने भएपछि नेपालले अब भारतबाटै विद्युत् आयात गर्नुपर्ने अवस्था आउने भएको छ । नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच भएको पाँचवर्षे सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा दैनिक ४० मेगावाट विद्युत् निर्यात हुँदै आएको थियो । यस वर्ष सम्झौताको अवधि आइतबार सकिएसँगै बंगलादेशतर्फको निर्यात रोकिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले अब अर्को वर्षको वर्षायाममा मात्रै बंगलादेशतर्फ विद्युत् निर्यात हुने बताए । सुख्खायाम सुरु हुनुका साथै चाडपर्व सकिएपछि उद्योग तथा कलकारखानासहित अन्य क्षेत्रमा विद्युत्को माग बढ्ने भएकाले निर्यात गर्न नसकिने अवस्था आएको उनको भनाइ छ । श्रेष्ठका अनुसार चाडपर्वका समयमा नेपालको विद्युत् प्रणालीमा माग १ हजार ८०० देखि १ हजार ९०० मेगावाटसम्म सीमित थियो । अब औद्योगिक तथा अन्य क्षेत्रको गतिविधि बढेसँगै विद्युत् माग २ हजार ४०० देखि २ हजार ५०० मेगावाटसम्म पुग्ने अनुमान छ । तर, उपलब्ध विद्युत् उत्पादन क्षमता २ हजार ६०० देखि २ हजार ७०० मेगावाट हाराहारी मात्रै रहेकाले निर्यातका लागि पर्याप्त विद्युत् बचत नहुने उनले बताए ।

‘सुख्खायाम सुरु भइसकेको छ । चाडपर्व र बिदा सकिएसँगै विद्युत् प्रणालीमा माग बढ्छ । उद्योग तथा कलकारखाना सञ्चालनमा आएपछि माग २ हजार ४०० देखि २ हजार ५०० मेगावाटसम्म पुग्न सक्छ । हामीसँग उपलब्ध उत्पादन पनि २ हजार ६०० देखि २ हजार ७०० मेगावाटभन्दा बढी छैन । भारततर्फ हुने निर्यात पनि घट्दै जान्छ । अबको एक हप्तादेखि १० दिनभित्र भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने ।

प्राधिकरणका अनुसार आगामी वर्षायाम सुरु नभएसम्म भारत र बंगलादेशतर्फ विद्युत् निर्यात हुने सम्भावना छैन । सुख्खायाममा नदी तथा खोलामा पानीको बहाव घट्दा जलविद्युत् आयोजनाको उत्पादन पनि घट्ने भएकाले आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था आउनेछ ।

यस वर्ष बंगलादेशतर्फको विद्युत् निर्यात भोटेकोसी बाढीका कारण पनि प्रभावित भएको थियो । भदौ १० गते आएको बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा क्षति पु¥याएपछि बंगलादेश निर्यातका लागि स्वीकृति पाएका त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रको उत्पादन प्रभावित भएको थियो । त्यसपछि ४० मेगावाट विद्युत् निर्यात रोकिएको थियो ।
प्राधिकरणले भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य जलविद्युत् केन्द्रमा उत्पादित विद्युत् बंगलादेश निर्यात गर्न स्वीकृति पाएपछि कात्तिक ६ गते साँझदेखि निर्यात पुनः सुरु गरेको थियो । तर, सम्झौताअनुसारको अवधि सकिएपछि अहिले निर्यात पूर्ण रूपमा रोकिएको छ ।यसैबीच, नेपालले भारततर्फ भने विद्युत् निर्यातबाट उल्लेख्य आम्दानी गर्दै आएको छ । प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभागको तथ्यांकअनुसार गत असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको थियो । उक्त विद्युत् बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रूपैयाँ आम्दानी भएको थियो ।

गत वर्ष २०८२ को असोजमा भारततर्फ विद्युत् निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रूपैयाँ बराबरको कारोबार भएको थियो । यस वर्षको सोही अवधिमा निर्यात आम्दानी बढेको प्राधिकरणको तथ्यांकले देखाउँछ । हाल भारततर्फ विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त कुल क्षमता १ हजार १७९ मेगावाट पुगेको छ । वर्षायाममा उत्पादन बढी हुँदा भारत र बंगलादेशमा विद्युत् निर्यात गर्दै आएको नेपालले सुख्खायाममा भने आन्तरिक माग व्यवस्थापनका लागि भारतकै विद्युत्मा निर्भर हुनुपर्ने अवस्था दोहोरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?