© 2026
गुल्मी ।
गुल्मीको मदाने गाउँपालिका–३, सिर्सेनी सीमस्थित प्रभात युवा क्लबले आफ्नो ३१ औँ वार्षिकोत्सवको अवसरमा बृहत् खेलकुद महोत्सव तथा परम्परागत भैलो प्रतियोगिता आयोजना गरेको छ । गत ३० गतेदेखि सुरु भएको कार्यक्रममा वडास्तरीय खुला पुरुष तथा महिला भलिबल, हाजिरीजवाफ, महिला कुर्सी दौड र घैँटो फोर प्रतियोगिता सम्पन्न भएका छन् ।
समाजसेवी तथा क्लबका पूर्वअध्यक्ष उदनाथ भट्टराईले उद्घाटन गरेको उक्त महोत्सवमा आज हरिबोधिनी एकादशीको अवसर पारेर परम्परागत भैलो प्रतियोगितासमेत आयोजना गरिएको खेलकुद संयोजक धर्मेन्द्र केसीले जानकारी दिए । सोही अवसरमा क्लबले ८० वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई सम्मानसमेत गरेको छ ।
क्लबका अध्यक्ष सन्दिप भुसालका अनुसार प्रतियोगिताका विजेताहरूलाई विभिन्न राशिको पुरस्कार व्यवस्था गरिएको छ । कार्यक्रमको खर्च व्यवस्थापनमा स्थानीय दाता, अग्रज, समाजसेवी र पूर्वप्रतिनिधिहरूको उल्लेख्य आर्थिक तथा भौतिक सहयोग रहेको र अपुग रकम क्लबको कोषबाट व्यहोरिएको उनले बताए ।
विसं २०५२ मा स्थापना भएको यस क्लबले २०५४ सालमै भैलो खेलेर र जनश्रमदान जुटाएर गाविसका अन्य क्षेत्रभन्दा पहिले आफ्नो टोलमा मोटरबाटो पुर्याएको इतिहास रहेको पूर्वअध्यक्ष ऋषि भट्टराईले स्मरण गरे । अग्रजहरूको निरन्तर उत्प्रेरणा नै क्लबको सक्रियता र जीवन्तताको मुख्य आधार रहेको उनको भनाइ छ ।