© 2026
सल्यान।
सल्यानमा पूर्वप्रधानमन्त्री स्वर्गीय मरिचमान सिंह श्रेष्ठको शालिक निर्माण तथा अनावरणमा एक लाख ९९ हजार ५२० रुपैयाँ खर्च भएको छ । सल्यानको श्रीनगरस्थित रुकुम चोकमा शालिक स्थापना गर्दै चोकको नामाकरण समेत गरिएको हो । स्थानीय युवाहरूको पहल तथा सल्यानी युवा सञ्जालको सक्रियतामा सञ्चालित अभियानबाट ३० हजार ५२० रुपैयाँ बचत भएको आर्थिक विवरण सार्वजनिक गरिएको छ ।
अभियानका क्रममा शुभेच्छुक हरूबाट दुई लाख ३१ हजार रुपैयाँ संकलन भएको थियो । संकलित रकममध्ये शालिक निर्माण, भौतिक संरचना, अनावरण समारोह तथा व्यवस्थापकीय काममा उक्त रकम खर्च भएको निर्माण तथा अभियान संयोजक युवराज खड्काले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । बचत रकम मध्ये सोरठी नाच तथा पञ्चेबाजाको भुक्तानी दिन बाँकी रहेको जनाइएको छ ।
खर्च विवरण अनुसार शालिक निर्माण तथा भौतिक संरचना व्यवस्थापनमा एक लाख ३२ हजार २०० रुपैयाँ खर्च भएको छ । शालिक अनावरण तथा उद्घाटन कार्यक्रम व्यवस्थापनमा ३० हजार ३०० रुपैयाँ, शालिक निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्न लगातार सात दिनसम्म खटिएको निर्माण टोलीको व्यवस्थापन, खाना, खाजा तथा श्रमिक परिचालनमा १५ हजार रुपैयाँ र अन्य व्यवस्थापकीय तथा विविध खर्चतर्फ २२ हजार ५०० रुपैयाँ खर्च भएको संयोजक खड्काले जनाए ।
यसैबीच अभियानका क्रममा शुभेच्छुक हरूबाट शालिक निःशुल्क निर्माण, सीसीटीभी क्यामेरा, होर्डिङ बोर्ड, बिरुवा, रेलिङको साङ्लो, १५ बोरा सिमेन्ट, दुई बन्डल छड तथा एक ट्र्याक्टर बालुवा लगायतका जिन्सी सामग्री सहयोग स्वरूप प्राप्त भएको उनले जनाए । ती सामग्रीको मौद्रिक मूल्य आर्थिक विवरणमा समावेश गरिएको छैन ।
शालिकको बुधबार मंसिर २ गते औपचारिक अनावरण गरिएको थियो । शारदा नगरपालिका १, दारीमचौरका ९८ वर्षीय ज्येष्ठ नागरिक लोकबहादुर थापाले शालिकको अनावरण गरेका थिए । समारोहमा पञ्चेबाजा बजाइनुका साथै स्थानीयवासीले परम्परागत सोरठी नृत्य प्रस्तुत गरेका थिए ।
सल्यानको खलंगा ९हाल शारदा नगरपालिका, २० मा वि।सं। १९९७ मा जन्मिएका श्रेष्ठ वि।सं। २०४३ देखि २०४६ सम्म नेपालको प्रधानमन्त्री थिए । उनी नेपालको २७ औँ तथा पञ्चायती व्यवस्थाको अन्तिम प्रधानमन्त्री थिए ।
उनको योगदान र व्यक्तित्वलाई भावी पुस्तासम्म परिचित गराउने उद्देश्यले शालिक निर्माण गरिएको सल्यानी युवा संजालले जनाएको छ । शालिक निर्माणबाट बचत भएको रकम मरिचमान सिंह श्रेष्ठ फाउन्डेसनमा हस्तान्तरण गरी आगामी दिनमा उनीसँग सम्बन्धित स्मृति, सम्मान, अध्ययन तथा अन्य संस्थागत गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ ।