© 2026
सल्यान ।
सल्यानमा धेरैजसो सवारी दुर्घटना तीब्र गतिमा भएको पाइएको छ । जिल्लामा भएका दुर्घटना मध्ये चालकका कारण, सवारीसाधन, यात्रु तथा सडकका कारण हुने गरेको प्रहरीले जनाएको छ । कार्तिक महिनाभरी जिल्लामा १७ वटा सवारी साधन दुर्घटनामा परेका थिए । जसमा पाँच जनाको मृत्यु र ४० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । १७ वटा दुर्घटना मध्ये १३ वटा दुर्घटना चालकका कारण भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । चालकले तीब्र गतिमा गाडी चलाएका कारण नौ वटा र लापरबाही गरेर चलाएक कारण चारवटा दुर्घटना भएको प्रहरीले जनाएको छ । यस्तै ओभरलोडका कारण एउटा, यात्रुले ध्यान नदिएर गाडी चढ्दा एउटा र चिप्लो तथा जीर्ण सडकका कारण दुइवटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।
कार्तिक महिनामा सल्यानमा २६१ सवारीसाधन कारवाहीमा परेको पनि प्रहरीले जनाएको छ । उक्त कारवाहीबाट दुई लाख ३० हजार ५०० रूपैया राजस्व संकलन भएको पनि प्रहरी निरीक्षक भट्टराईले जनाए । प्रहरीले प्राकृतिक सम्पत्तिको दोहन नियन्त्रण तर्फ पनि एउटा सवारीसाधन कारवाही गर्दै एकजना मानिसलाइ पक्राउ गरेको छ । नदिजन्य पदार्थ ओसारपसारमा संलग्न एउटा सवारीसाधनलाई नियन्त्रणमा लिएर आठ हजार रूपैया जरिवानासंगै त्यस कार्यमा संलग्न एकजनालाइ पक्राउ गरिएको प्रहरी तथ्यांकमा उल्लेख छ ।
२२ वट मुद्दा दर्ता, २० जना प्रतिवादी पक्राउ
यसैबीच सल्यान जिल्लामा कार्तिक महिनामा मात्रै २२ वटा मुद्दा दर्ता भएका छन् भने चालु मुद्दाका १३ जना प्रतिवादी पक्राउ परेका छन् । प्रहरी निरीक्षक भट्टराईले दिएको जानकारी अनुसार १२ जना प्रतिवादी फरार छन् भने चारवटा मुद्दा फछ्र्यौट गरिएको छ । दर्ता भएका २२ वटा मुद्दा मध्ये नौ वटा जघन्य तथा गम्भीर अपराधका, नौ वटा आर्थिक अपराधका र चारवटा अन्य प्रकारका मुद्दा छन् ।
फैसला कार्यान्वयनको क्रममा सातजना फरार प्रतिवादीलाइ पक्राउ गरेर उनिहरूबाट ३१ हजार ५०० जरिवाना र तीन बर्ष कैद गरिएको जिल्ला प्रहरी कार्यालयले जनएको हो । कार्तिकमा हराएका महिला एक जना र पुरुष चार जना मध्ये सबै फेला परेको पनि प्रहरीले जनएको छ । ठाडो रूपमा जिल्ला प्रहरी कार्यालयमा परेका ७१ वटा उजुरीहरू सबै फछ्र्यौट भएको तथा घरेलु हिंशाको एउटा उजुरी पनि मिलापत्रबाट टुंगाइएको बताइएको छ ।