Butwal Today

मधुमेहको जोखिम र सचेतना

२९ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

‘मधुमेहविरुद्ध सचेतना आजको आवश्यकता’ भन्ने नाराका साथ विश्व मधुमेह दिवस शनिवार नेपालमा मनाइएको छ । हरेक वर्षको नोभेम्वर १४ लाई विश्व मधुमेह दिवसका रूपमा मनाउने गरिए अनुसार नेपालमा पनि मधुमेह दिवस बिहिबार विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको हो । मधुमेह जसलाई ‘सुगर’ भनिन्छ, यसले विश्वलाई आक्रामक तरिकाले निशाना बनाईरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक १० सेकेण्डमा करिव ७ जना मधुमेह रोगी थपिदै गएको छ भने यसले क्यान्सर जस्तैगरि आफ्नो प्रभाव विश्वमै फैलाउँदै लगेको छ । मधुमेह नियन्त्रणका लागि स्वास्थ्य सचेतनावाहेक अर्को विकल्प अहिलेसम्म फेला परेको छैन् । औषधी सेवनले यसको जोखिमबाट बच्न सकिन्छ तर धेरै सावधानी अपनाउनु पर्ने आवश्यकता छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याँक अनुसार नेपालमा १० प्रतिशत मानिसमा मधुमेह हुनसक्ने अनुमान गरिएको छ । चिकित्सकहरूले मधुमेश हुने सबैभन्दा जिम्मेवार कारणमा हाम्रो जीवनशैली रहेको औंल्याएका छन् ।

मधुमेहलाई खानदानी रोग भनेर चित्रण पनि गरिन्छ । बंशाणुगत कारण मधुमेहको जोखिम धेरै बढेको छ । ४० वर्ष उमेर पूरा भएकाहरूमा यो रोगको खतरा ८० प्रतिशत बढी हुने भएकोले यसको रोकथामका लागि सवैले सजगता अपनाउनु जरुरी छ । सवैभन्दा उत्तम उपाय मधुमेहबाट बच्ने भनेको यसको विषयमा सचेतना र स्वास्थ्य मापदण्ड पालना हो । नेपालमा शनिवार दिवसका अवसरमा देशका विभिन्न स्थानमा चेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । यसबाट कम्तीमा पनि मधुमेह रोगवाट वच्न सकिने अवसरका रूपमा दिवसलाई लिन सकियो भने निश्चित रूपमा यसवाट टाढै रहन मद्दत पुग्न सक्छ ।

जेहोस् मधुमेहको लक्षण, रोकथाम, रोग लाग्नवाट बच्न अपनाउनु पर्ने सचेतना र सावधानीका विषयमा आज आम नेपाली जनता चनाखो भैसकेका छन् । उता रोगका विषयमा ज्ञान भएरपनि खानपानमा नियन्त्रण नगर्ने र लापरवाही गर्नेहरूको संख्या पनि बढेको छ । धेरै भात खाने र अल्छी तथा जभाभावी खानेहरूलाई यो रोगको संभावना बढी हुन्छ । तसर्थ अव नेपालीहरू सचेत हुने बेला आएको छ । स्वास्थ्यमा थोरैमात्र ख्याल गरेर रोगवाट टाढै हुने प्रयास गरियो भनेपनि रोगवाट मुक्ति हुन संभव छ ।

तसर्थ अवको समय नेपालीले आफ्नो स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिनैपर्छ । होइन भने खानपानमा ध्यान नदिने र जथाभावी गर्ने हो भने मधुमेहसंगै यसवाट उत्पन्न हुने अन्य धेरै रोगको शिकार हुनुपर्ने अवस्था नआउला भन्न सकिदैन् । तसर्थ आजको आवश्यकता रोग लाग्नै नदिनेतर्फको सचेतता पहिलो प्राथमिकता हो । अतः मधुमेह नियन्त्रणका लागि हामीले हाम्रो खानामा पनि विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूको भनाई छ । मधुमेह समयमा नै थाहा भयो र यसलाई नियन्त्रणमा लिन सकियो भने यसका कारण हुनसक्ने अरू विभिन्न गम्भीर रोगबाट बच्न सकिन्छ । मधुमेह धेरै बढ्दा मिर्गौला, कलेजो, मुटु, आँखा लगायतका हाम्रा महत्वपूर्ण अंगमा ठूलो असर गर्न सक्ने भएकाले मधुमेहबाट समयमा नै बचौँ । आफूपनि बचौं र अरूलाई पनि उचित सल्लाह, परामर्श दिएर मधुमेहबाट बचाऔं । मधुमेह हुने प्रमुख कारणमा मोटोपना पनि एक हो ।

अहिले विश्वभर मानिसहरूमा मोटोपनाको चिन्ता देखिन थालेको छ । त्यसैगरी आधुनिक हुने नाममा लापरवाही गर्दा पनि मधुमेहको शिकार हुनुपरेको छ । मधुमेहको अर्को कारण भनेको तनाव पनि एक हो । नेपालमा वर्षेनी यही रोगका कारण १० हजार बढीको मृत्यु भैरहेको तथ्याँक छ । तसर्थ अवको दिनमा मधुमेह नियन्त्रणमा ध्यान दिनु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?