Butwal Today

अदुवा खेती खुम्चिँदा सुठोको बजार महँगियो

२९ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

पाल्पा ।
कुनै समय पाल्पाका ग्रामीण बस्तीमा अदुवा खेती किसानको मुख्य नगदेबाली थियो । खेतबारीमा उत्पादन भएको अदुवालाई घरमै परम्परागत प्रविधिबाट प्रशोधन गरी सुठो बनाएर बिक्री गर्ने चलन थियो । काँचो अदुवाको तुलनामा सुठोको मूल्य दोब्बरभन्दा बढी पाइने भएपछि किसानले घण्टौँ मेहनत गरेर सुठो बनाउँथे । तर, पछिल्लो समय अदुवा खेती नै घट्दै गएपछि पाल्पामा सुठो उत्पादन पनि हराउँदै गएको छ । उत्पादन घटे पनि बजारमा भने सुठोको मूल्य बढ्दै गएको छ ।

यातायातको सुविधा नपुगेका बेला किसानले डोको र बोरामा अदुवा तथा सुठो बोकेर बजारसम्म पु¥याउने गर्थे । गाउँघरमै आगोको राप र तापमा अदुवा सेकाएर सुठो बनाउने परम्परागत प्रविधि थियो । त्यसरी तयार पारिएको सुठो बिक्री गरेर किसानले नुन, तेल, चिनी, मसला तथा घरायसी उपभोगका अन्य सामग्री खरिद गर्ने गर्थे । ग्रामीण अर्थतन्त्रमा अदुवा र सुठोको कारोबार महत्वपूर्ण आम्दानीको स्रोत बनेको थियो ।

निस्दी गाउँपालिका–ज्यामिरेका पुराना किसान डिलबहादुर सारुका अनुसार पहिले गाउँका धेरैजसो घरपरिवार अदुवा खेती र सुठो उत्पादनमा संलग्न थिए । संयुक्त परिवारको प्रचलन रहेकाले घरका सदस्यबीच कामको बाँडफाँट गरेर सुठो बनाउने गरिन्थ्यो । अहिले खेती गर्ने किसानको संख्या घट्दै गएपछि यो परम्परागत सीप पनि हराउँदै गएको उनी बताउछन् ।

उनका अनुसार पहिले अदुवा र सुठोको मूल्य धार्नीका आधारमा निर्धारण हुन्थ्यो । काँचो अदुवा प्रतिधार्नी २० रूपैयाँमा बिक्री हुँदा सुठोको मूल्य ७० रूपैयाँसम्म पुग्थ्यो । पाल्पामा उत्पादन भएको अदुवा तथा सुठो भारतीय बजारका विभिन्न सहरमा पुग्ने गरेको थियो । अहिले पनि सुठोको बजार राम्रो रहे पनि अदुवाको उत्पादन नै घटेकाले प्रशोधन गरेर बिक्री गर्ने किसान कम हुँदै गएको उनको भनाइ छ ।

पूर्वखोला गाउँपालिका–बिरकोटका स्थानीय कोशबहादुर दर्लामी पनि सुठोको बजार मूल्य अहिले आकर्षक भए पनि उत्पादन गर्ने किसानको संख्या घटेको बताउछन् । उनका अनुसार भारतीय बजारमा नेपाली अदुवाको सहज पहुँच हुँदा गाउँगाउँमा अदुवा खेती गर्ने र सुठो बनाउने किसानको संख्या धेरै थियो । भारतीय बजारमा नेपाली उत्पादनको निकासी अवरुद्ध हुन थालेपछि अदुवा खेतीप्रतिको आकर्षण पनि घट्दै गएको हो ।

दर्लामीका अनुसार पछिल्लो समयमा बुटवलको हाटबजारमा सुठो प्रतिधार्नी ८०० रूपैयाँसम्म बिक्री भएको छ । पहिले संयुक्त परिवारमा घरका सदस्यले काम बाँडेर बिहानैदेखि सुठो बनाउने गर्थे । बारीमा आगो बालेर बाँसको चोयाबाट बनाइएको भारमा अदुवा राखी आगोको राप र तापमा सेकाएर सुठो तयार पारिन्थ्यो । यसरी तयार पारिएको सुठोको बजार मूल्य राम्रो हुने भएकाले किसानले मेहनत गर्न पछि पर्दैनथे । अहिले भने त्यो परम्परा बिस्तारै हराउँदै गएको उनी बताउछन् ।

बिरकोटकै पुराना पुस्ताका किसान डिलबहादुर दर्लामी सुठो बिक्री गरेरै तीनतले घर निर्माण गरेको विगत सम्झन्छन् । उनका अनुसार पहिले गाउँका सबै किसानले उत्पादन गरेको अदुवा र सुठो बिक्री गर्न आर्यभञ्ज्याङ बजार पुग्नुपथ्र्यो । यातायातका साधन नहुँदा डोकोमा बोकेर बजार पु¥याउनुपर्ने बाध्यता थियो । पछि सडक र यातायातको सुविधा भएपछि बुटवलसम्म पुगेर बिक्री गर्न थालिएको उनी बताउछन् ।

उनले १० रोपनी बारीमा उत्पादन भएको सबै अदुवा सुठो बनाएर बिक्री गरेका थिए । त्यसबाट प्राप्त आम्दानीले घर निर्माण गर्न सम्भव भएको उनको अनुभव छ । अहिले पनि अदुवा उत्पादन गरेर सुठो बनाउन सक्ने हो भने राम्रो आम्दानी गर्न सकिने उनी बताउछन् ।

कुनै समय पाल्पाको प्रमुख नगदेबालीका रूपमा स्थापित अदुवाको खेती पछिल्लो एक दशकमा निकै खुम्चिएको छ । एक दशकअघि जिल्लाको करिब एक हजार ५०० हेक्टर क्षेत्रफलमा अदुवा खेती हुने गरेको थियो । त्यसबाट वार्षिक ३० करोड रूपैयाँभन्दा बढीको कारोबार हुने गरेको थियो । तर, पछिल्ला वर्षमा भारतीय बजारमा भारत आफैँले अदुवा उत्पादन गर्न थालेपछि नेपाली अदुवाको बजार प्रभावित भएको किसान तथा व्यवसायीको भनाइ छ । यसको प्रत्यक्ष असर पाल्पाको अदुवा खेतीमा परेको छ । अहिले जिल्लामा करिब १०० हेक्टर क्षेत्रफलमा मात्र निर्वाहमुखी तथा घरायसी प्रयोजनका लागि अदुवा खेती हुने गरेको छ ।

रम्भा गाउँपालिका–पिपलडाँडाका पुराना किसान कृष्णबहादुर रानाका अनुसार पहिले भारतीय व्यापारी अदुवा खरिद गर्न पाल्पाका गाउँसम्मै आउने गर्थे । उनीहरूले काँचो अदुवाभन्दा प्रशोधन गरिएको सुठोको मूल्य बढी दिने भएकाले किसान सुठो बनाउन आकर्षित हुन्थे । उनले पनि एक वर्षमा ५० हजार रूपैयाँसम्मको सुठो बिक्री गरेको अनुभव सुनाए ।

सुठो प्रशोधन गरिएको वस्तु भएकाले लामो समयसम्म भण्डारण गरेर राख्न सकिन्छ । काँचो अदुवाजस्तो छिट्टै बिग्रिने समस्या नहुने र बजारमा माग पनि रहने भएकाले यसको व्यावसायिक सम्भावना राम्रो रहेको पुराना किसान तथा व्यापारी बताउँछन् । परम्परागत रूपमा सुठोको प्रयोग रुघाखोकी तथा ज्वरो आउँदा घरेलु उपचारका रूपमा समेत हुने गरेको छ । दमका बिरामीले पनि यसको प्रयोग गर्ने भएकाले विगतमा यसको माग र मूल्य दुवै राम्रो रहेको उनीहरूको अनुभव छ ।

सहलकोटको भाङबारीका स्थानीय दिलबहादुर रानाले पनि बाबुबाजेको पालादेखि चल्दै आएको सुठो बनाउने परम्परालाई निरन्तरता दिँदै आएका छन् । सुठो बनाउन मेहनत र समय धेरै लाग्ने भए पनि त्यसअनुसार मूल्य पाइने भएकाले आफूले यो काम नछाडेको उनी बताउछन् । उनका अनुसार केही वर्षयता अरूणखोलाको बजारमा सुठो प्रतिधार्नी दुई हजार ५०० रूपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । उत्पादन गर्न सक्ने हो भने अहिले पनि सुठोबाट राम्रो आम्दानी लिन सकिने उनको अनुभव छ ।

पाल्पाको अदुवा भारतीय बजारसम्म पु¥याउँदै आएका पुराना भारतीय व्यापारी जगदीश श्रीवास्तवका अनुसार कुनै समय पाल्पाका किसान र भारतीय व्यापारीबीच अदुवाको कारोबारमा निकट सम्बन्ध थियो । उनले वार्षिक करिब चार करोड रूपैयाँ बराबरको काँचो अदुवाको कारोबार गर्दा सुठोको कारोबार २० देखि २५ लाख रूपैयाँसम्म हुने गरेको बताए ।
श्रीवास्तवका अनुसार सुठो बनाउने काममा धेरै समय र श्रम खर्चिनुपर्ने भएकाले किसानले क्रमशः यो काम छाड्दै गएका हुन् ।अहिले पनि केही किसानले परम्परागत रूपमा सुठो उत्पादन गरिरहेका छन् । उनीहरू बुटवलका व्यापारीसँग सम्पर्कमा रहेर बिक्री गर्ने गरेका छन् ।

परम्परागत प्रविधिबाट सुठो उत्पादन गर्दा धेरै श्रम र समय लाग्ने भएकाले यसलाई आधुनिक प्रविधिसँग जोड्नुपर्ने उनको सुझाव छ । विद्युत् माध्यमबाट अदुवा सुकाउने तथा प्रशोधन गर्ने प्रविधि भित्र्याउन सके उत्पादन लागत घटाउनुका साथै गुणस्तरीय सुठो ठूलो परिमाणमा उत्पादन गर्न सकिने उनी बताउछन् । यसले बजार विस्तार, रोजगारी सिर्जना र किसानको आम्दानी बढाउन सहयोग पुग्ने उनको भनाइ छ । त्यसका लागि सरकारले आवश्यक प्रविधि, उपकरण र सहुलियतको व्यवस्था गर्नुपर्ने उनी बताउछन् ।

पाल्पामा अदुवा खेती र सुठो उत्पादनको विगत हेर्दा यसले ग्रामीण अर्थतन्त्रमा पु¥याएको योगदान महत्वपूर्ण देखिन्छ । तर, बजारको अनिश्चितता, भारतीय बजारमा निर्भरता, उत्पादनमा आएको कमी र प्रशोधनका लागि आवश्यक श्रम तथा प्रविधिको अभावले यो व्यवसाय कमजोर बन्दै गएको छ । बजारमा अहिले पनि राम्रो मूल्य पाइने सुठो उत्पादनलाई पुनर्जीवन दिन सके अदुवा खेतीको विस्तारसँगै ग्रामीण क्षेत्रमा रोजगारी र आम्दानीको नयाँ अवसर सिर्जना हुन सक्ने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?