© 2026
नेपालगन्ज । बाँके जिल्लाका विभिन्न पाँच स्थानीय तहमा गरिएको पछिल्लो अध्ययनले बालबालिकाको पोषण अवस्था चिन्ताजनक देखिएको छ ।
मङ्सिरदेखि पौषसम्म २ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा गरिएको घरदैलो अध्ययनमा धेरै ठाउँमा कुपोषणको दर अपेक्षाकृत उच्च देखिएको हो ।
सर्वेक्षणले एकातिर अधिकांश बालबालिका सामान्य अवस्थामा रहेको देखाए पनि अर्कोतर्फ गम्भीर कुपोषण अझै ठुलो चुनौतीका रूपमा रहेको स्पष्ट पारेको छ ।
खजुरामा गर्भवती आमासमेत कुपोषित
बाँकेको खजुरा गाउँपालिका–३ सृजनाटोलकी कल्पना सुनारको कथा कुपोषणको यथार्थ चित्र हो । बच्चा जन्मेको दुई महिनामै उनलाई घर बाहिर काम गर्नुपर्ने बाध्यता आयो । श्रीमान् बिरामी भएपछि परिवार धान्न उनलाई दिनभरि काममा जानुप¥यो ।
बच्चालाई स्तनपान र हेरचाह गर्न नपाउँदा ज्वरो आउने, तौल घट्ने समस्या देखियो । पछि मात्र बच्चामा कुपोषण भएको थाहा भयो ।
यस्तै समस्यालाई सम्बोधन गर्न स्थानीय सरकारसँगै विभिन्न गैरसरकारी संस्थाहरू सक्रिय छन् । विग्रुप नामक संस्थाले सञ्चालन गरेको पोषण परियोजनामार्फत आमा समूहहरूलाई सचेत बनाउँदै आएको छ । यस परियोजनाबाट कल्पनाको बच्चाको स्वास्थ्यमा सुधार आएको छ ।
तर चुनौती अझै बाँकी छ । खजुरा गाउँपालिकामा ४४१६ बालबालिकामध्ये २५४ मा कुपोषण देखिएको छ । स्वास्थ्य तथा सामाजिक विकास प्रमुख लक्ष्मी केसीका अनुसार यो अवस्था गम्भीर छ । गर्भवती महिलामासमेत कुपोषण भेटिएको छ—५१९ जनामध्ये २३ गम्भीर र ६२ मध्यम कुपोषित छन् ।
डुडुवामा ९ प्रतिशत कुपोषण
डुडुवा गाउँपालिकामा ३५०१ बालबालिकामध्ये १८० मध्यम र ८० गम्भीर कुपोषित छन् । स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीका अनुसार ९ प्रतिशत कुपोषण हुनु निकै चिन्ताजनक हो । बालबालिकामा उमेरअनुसार तौल र उचाइ नबढ्ने समस्या देखिएको छ ।
स्थानीय स्तरमा आमा समूहहरूलाई सशक्त बनाउने काम भइरहेको छ । विष्णु आमा स्वास्थ्य समूहकी अगुवा किरण पासी भन्छिन्, “पहिले बच्चाको नापतौलबारे थाहा थिएन, अहिले नियमित जाँच गराउँछौँ।” यस्तै अनुभव माया मिश्रको पनि छ—जाउलो र लिटो बनाउने सीपले बच्चाको स्वास्थ्य सुधारिएको छ ।
बैजनाथमा २११ कुपोषित बालबालिका
बैजनाथ गाउँपालिकामा ४३९९ बालबालिकामध्ये १६८ मध्यम र ४३ गम्भीर कुपोषित छन् । यहाँ कुपोषणलाई ‘शाम’ (गम्भीर) र ‘माम’ (मध्यम) मा वर्गीकरण गरेर उपचार तथा परामर्श दिने गरिएको छ । जहाँ चार वटा पोषण उपचार केन्द्र सञ्चालनमा छन् ।
अभिभावकलाई खानपानबारे सचेत गराउने, पोषण प्याकेज वितरण गर्ने र आवश्यक परे भेरीस्थित पोषण पुनर्स्थापना केन्द्रमा पठाउने व्यवस्था छ । स्थानीय आश्रा भार भन्छिन्, “पोषण बगैँचा बनाएपछि हाम्रो घरमै तरकारी उत्पादन हुन थालेको छ, बच्चाको स्वास्थ्यमा सुधार आएको छ ।”
जानकीमा सुधारको सङ्केत
जानकी गाउँपालिकामा ४१२० बालबालिकामध्ये १७५ मध्यम र ३६ गम्भीर कुपोषित छन् । स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाका अनुसार कुपोषण ५.५ प्रतिशतमा सीमित भएको छ, जुन विगतको तुलनामा सुधार हो ।
यहाँ दाल, घिउ, अण्डा सहितको पोषण प्याकेज वितरण गरिएको छ । साथै, कुखुरा पालनमार्फत आत्मनिर्भर बनाउने योजना अघि बढाइएको छ । आमा समूहकी कल्पना खड्का भन्छिन्, “बच्चाको हेरचाह गर्ने तरिका सिकेपछि धेरै सुधार आएको छ ।”
राप्ती सोनारीमा घट्दो दर, तर चुनौती कायम
राप्ती सोनारी गाउँपालिकामा ४३०० बालबालिकामध्ये २५ गम्भीर र १५६ मध्यम कुपोषित छन् । राप्ती सोनारी स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीका अनुसार कुपोषण दर घट्दो क्रममा भए पनि दीर्घकालीन समाधान आवश्यक छ ।
उपाध्यक्ष मनिषा सिंह थारुका अनुसार छोरीहरूमा कुपोषण बढी देखिएको छ, जसको कारण लैङ्गिक विभेद हो । “छोरालाई पोसिलो खाना दिने, छोरीलाई नदिने चलन अझै देखिन्छ,” उनले भनिन् ।
बहु आयामिक समाधानको आवश्यकता
स्वास्थ्यकर्मीहरूका अनुसार कुपोषणले बालबालिकाको शारीरिक मात्र होइन, मानसिक विकासमा पनि गम्भीर असर पार्छ । यसले देशको भविष्यलाई नै जोखिममा पार्न सक्छ ।
यसका लागि किशोरी अवस्थादेखि पोषणमा ध्यान दिने, नियमित गर्भजाँच, आइरन चक्की सेवन, सन्तुलित आहार, सरसफाइ र समयमै उपचार आवश्यक छ । आमासँगै बुबालाई पनि पोषण शिक्षा दिनुपर्नेमा जोड दिइएको छ ।
बाँकेमा कुपोषणविरुद्ध विभिन्न प्रयास भइरहे पनि समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन । स्थानीय सरकार, गैरसरकारी संस्था र समुदायबिचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने देखिन्छ ।
आगामी दिनमा पनि यस्ता पोषण खोज तथा सुधार कार्यक्रमलाई निरन्तरता दिइएमा मात्र बालबालिकाको स्वस्थ भविष्य सुनिश्चित गर्न सकिने देखिन्छ ।