गुल्मी । पशुपालन व्यवसायलाई प्रोत्साहन गर्नका लागि गुल्मीको सत्यवती गाउँपालिकाले दूध तथा मासु उत्पादन गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने भएको छ ।
आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिकाले विगत वर्षमा तोकिएको मापदण्ड पूरा गरेका किसान, समूह, सहकारी तथा फर्मबाट उत्पादित दूध र मासुको बिक्रीमा आधारित अनुदान कार्यक्रम वितरण गर्न लागेको हो ।
त्यसका लागि गाउँपालिकाले सूचना जारी गरी वार्षिक १५० किलो जीवित तौलका खसी–बोका बिक्री गर्ने किसानलाई प्रतिकिलो २० रुपियाँ अनुदान उपलब्ध गराइने जनाएको छ । त्यसका अतिरिक्त पालिकाले व्यवस्थापकीय कार्य गर्ने समूह तथा सहकारीलाई प्रतिकेजी ५ रुपैयाँ प्रदान गरिने जनाइएको छ ।
गाउँपालिकाले मासिक रूपमा सहकारी वा डेरी उद्योग मार्फत कम्तीमा २०० लिटर दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर तीन रुपैयाँका दरले अनुदान उपलब्ध गराउने गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले जानकारी दिएका छन् । त्यसै गरी दूध सङ्कलन तथा व्यवस्थापन गर्ने समूह वा सहकारीलाई प्रतिलिटर २५ पैसा उपलब्ध गराइने भएको छ ।
त्यसै गरी पालिकाले दर्ता भएको बाख्रा फर्ममा १० देखि ४० वटासम्म माउ बाख्रा पाल्ने कृषकलाई प्रतिमाउ २०० रुपैयाँ र ४० भन्दा बढी माउ बाख्रा पाल्ने कृषकलाई प्रतिमाउ ३०० रुपैयाँका दरले अनुदान उपलब्ध गराउने जनाएको छ । त्यस्तै दर्ता भएका बङ्गुर फर्ममा तीनदेखि १० वटा माउ बङ्गुर पाल्ने कृषकलाई प्रतिमाउ ५०० रुपैयाँ र १० वटा भन्दा बढी माउ बङ्गुर पाल्ने कृषकलाई प्रतिमाउ ७५० रुपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको हो ।
अनुदान प्राप्त गर्नका लागि गाउँपालिकाले कृषकहरूलाई सम्बन्धित वडा कार्यालय वा गाउँपालिकाको पशुपन्छी विकास शाखामा आवश्यक कागजात सहित प्रस्ताव पेस गर्न आग्रह गरेको छ । पालिकाले अनुदान कृषकहरूलाई २०८२ साउन १ गतेदेखि २०८३ जेठ मसान्तसम्मको उत्पादनलाई आधार मानेर अनुदान उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पौडेलले जानकारी दिएका छन् ।