Butwal Today

मर्सी सिटी अस्पताल: गुणस्तरीय स्वास्थ्य सेवाको विश्वासिलो केन्द्र

३० जेष्ठ २०८३, शनिबार
अ+
अ-

बुटवल ।  बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।

आधुनिक उपचार प्रणाली, दक्ष चिकित्सक टोली, अत्याधुनिक उपकरण तथा बिरामी मैत्री सेवाका कारण अस्पतालले छोटो समयमै स्वास्थ्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित २०७० साल साउन १ गते स्थापना भएको अस्पतालले सुरुवाती चरणमा ओपिडी, आकस्मिक सेवा तथा प्रयोगशाला सेवाबाट आफ्नो यात्रा सुरु गरेको थियो। स्वास्थ्य क्षेत्रमा आधुनिक प्रविधि र विशेषज्ञ सेवाको आवश्यकता महसुस गर्दै स्थापना गरिएको अस्पतालले समयसँगै आफ्नो सेवा विस्तार गर्दै विभिन्न विशेषज्ञ उपचार सेवा सञ्चालनमा ल्याएको छ ।

अस्पतालका प्रबन्ध निर्देशक गोपाल प्रसाद श्रेष्ठका अनुसार अस्पतालमा दैनिक ३० देखि ४० जना बिरामीले ओपिडी सेवा लिइरहेका छन् ।

मेडिसिन विभागमा दैनिक करिब १५ जना, स्त्री तथा प्रसूति रोग विभागमा ५ देखि ७ जना तथा अन्य सामान्य सेवामा १५ देखि २० जना बिरामी उपचारका लागि आउने गरेका छन् । स्वास्थ्य मन्त्रालयबाट आवश्यक स्वीकृति तथा नियमित नवीकरण प्राप्त गर्दै अस्पतालले सेवा सञ्चालन गरिरहेको छ ।

हाल ५० शैयाबाट सेवा सञ्चालन गरिरहेको अस्पतालले आगामी दिनमा आफ्नो क्षमता विस्तार गरी १०० शैयासम्म पु¥याउने दीर्घकालीन योजना बनाएको छ । बुटवलमै उपलब्ध नभएका अत्याधुनिक उपकरण तथा थप विशेषज्ञ सेवा सञ्चालन गर्ने तयारी पनि अस्पतालले गरिरहेको छ ।

अस्पताल हाल सञ्चालन भइरहेको स्थान साँघुरो भएकाले पार्किङ व्यवस्थापन तथा बाह्य वातावरणबाट उत्पन्न हुने हल्ला चुनौतीका रूपमा रहेको निर्देशक श्रेष्ठ बताउँछन् । यसै कारण अस्पताललाई बुटवल उपमहानगरपालिकाभित्रै उपयुक्त खुला स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।

मर्सी सिटी अस्पतालमा हाल १२२ जना कर्मचारी तथा ११ जना वरिष्ठ विशेषज्ञ चिकित्सक कार्यरत छन् । “स्वास्थ्य सेवा उपचार मात्र नभई सामाजिक दायित्व पनि हो,” भन्ने मान्यतासहित अस्पतालले विपन्न तथा असहाय नागरिकसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने प्रयास गरिरहेको निर्देशक श्रेष्ठको भनाइ छ ।

अस्पतालले विभिन्न विशेषज्ञ सेवासहित अत्याधुनिक प्रविधि र उपकरणमार्फत उपचार सेवालाई प्रभावकारी बनाउँदै आएको छ । यहाँ एनेस्थेसियोलोजी, नाक–कान–घाँटी रोग, मानसिक रोग तथा रेडियोलोजीसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध छन्। साथै युरोलोजी, हाड जोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति रोग, बाल रोग, जनरल सर्जरी, प्रयोगशाला तथा आकस्मिक सेवासमेत सञ्चालनमा रहेका छन् ।

विशेष गरी सर्भाइकल स्पाइन अर्थात् घाँटीको मेरुदण्डसम्बन्धी शल्यक्रिया सेवा अस्पतालको उल्लेखनीय उपलब्धिका रूपमा रहेको छ । त्यसै गरी युरो सर्जरीअन्तर्गत यूआरएस, मिनी पीसीएनएल, लेप्रोस्कोपी तथा लेजर प्रविधिबाट गरिने शल्यक्रिया सेवा सञ्चालनमा छन् । प्लास्टिक सर्जरी, न्युरो ओपिडी तथा सेन्ट्रल अक्सिजन प्रणाली अस्पतालका थप विशेष सेवामध्ये पर्दछन् ।

अस्पतालमा चार शैयाको सघन उपचार कक्ष (आइसियु), आधुनिक मोनिटरिङ प्रणाली तथा १०० एमएम एक्स–रे सेवा उपलब्ध छ । डिजिटल स्वास्थ्य प्रणाली र आधुनिक प्रयोगशालाको प्रयोगले परीक्षण, रोग पहिचान तथा उपचार प्रक्रियालाई थप छिटो, विश्वसनीय र प्रभावकारी बनाएको छ । आगामी दिनमा डेन्टल तथा न्युरो सेवा पूर्ण रूपमा सञ्चालन गर्ने तथा आइसियु र क्रिटिकल केयर सेवा थप विस्तार गर्ने योजना अस्पतालले बनाएको छ ।

मर्सी सिटी अस्पतालले स्वास्थ्य सेवा मात्र होइन, सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्त्व दिएको छ । अस्पतालले आफ्नो कुल शैय्यामध्ये १० प्रतिशत बेड विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि निःशुल्क उपचारका लागि छुट्टाएको छ । दैनिक दुई जना विपन्न बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने व्यवस्था सुरुवातदेखि नै कायम रहेको अस्पतालले जनाएको छ ।

७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क ओपिडी टिकट उपलब्ध गराइन्छ भने पहिलो पटक स्वास्थ्य परीक्षणका लागि आउने गर्भवती महिलालाई पनि निःशुल्क टिकटको व्यवस्था गरिएको छ । पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको छ । चिकित्सकको सिफारिसमा मूत्र रोग सम्बन्धी केही परीक्षणहरू निःशुल्क गरिने तथा सञ्चारकर्मीलाई विशेष सहुलियत प्रदान गरिने व्यवस्था पनि अस्पतालले गरेको छ ।

यसका अतिरिक्त प्रत्येक महिनाको २ गते निःशुल्क रक्तचिनी (ब्लड सुगर) परीक्षण कार्यक्रम सञ्चालन हुँदै आएको छ । समय–समयमा निःशुल्क स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम तथा सामुदायिक स्वास्थ्य अभियान सञ्चालन गरी अस्पतालले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न योगदान पु¥याउँदै आएको छ ।

छोटो समयमै हजारौँ बिरामीलाई सेवा प्रदान गर्दै मर्सी सिटी अस्पतालले समुदायमा विश्वासिलो स्वास्थ्य संस्थाको पहिचान बनाउन सफल भएको छ । विभिन्न जटिल शल्यक्रियाहरू सफलतापूर्वक सम्पन्न गरेको अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयबाट प्राप्त स्वीकृति तथा नियमित अनुगमन र नवीकरण प्रक्रियाले अस्पतालको सेवा गुणस्तर तथा विश्वसनीयतालाई थप सुदृढ बनाएको छ ।

यद्यपि स्वास्थ्य क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, दक्ष जनशक्तिको अभाव, अत्याधुनिक उपकरणको उच्च लागत तथा स्वास्थ्य प्रविधिको तीव्र विकास अस्पतालका प्रमुख चुनौतीका रूपमा रहेका छन् । विशेषज्ञ चिकित्सक तथा प्राविधिक जनशक्ति व्यवस्थापन, उपकरणको नियमित मर्मत सम्भार र सेवाको गुणस्तरलाई निरन्तर अद्यावधिक राख्नु अस्पतालका लागि चुनौतीपूर्ण विषय बनेका छन् ।

यी चुनौतीबिच पनि मर्सी सिटी अस्पतालले आगामी दिनमा अझ आधुनिक, व्यवस्थित र विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।
सुविधा सम्पन्न नयाँ भवन निर्माण, सेन्ट्रल अक्सिजन प्रणाली विस्तार, आइसियु तथा क्रिटिकल केयर सेवा सुदृढीकरण, अत्याधुनिक प्रविधिको प्रयोग तथा दक्ष जनशक्ति वृद्धि अस्पतालका प्राथमिक योजनामा रहेका छन् ।

साथै ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै डिजिटल स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउने तयारी अस्पतालले गरिरहेको छ ।

बिरामीको स्वास्थ्य, सुरक्षा र सन्तुष्टिलाई केन्द्रमा राखेर सेवा प्रदान गर्दै आएको मर्सी सिटी अस्पताल आधुनिक उपचार प्रणाली, दक्ष चिकित्सक टोली, सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता तथा बिरामी मैत्री सेवाका कारण पश्चिम नेपालका नागरिकको रोजाइको स्वास्थ्य संस्था बन्न सफल भएको छ । गुणस्तरीय, सुरक्षित र सर्वसुलभ स्वास्थ्य सेवाको लक्ष्यसहित अस्पताल आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?