Butwal Today

देवदह मेडिकल कलेज: मेडिकल शिक्षा र स्वास्थ्य सेवामा अब्बल 

२७ जेष्ठ २०८३, बुधबार
अ+
अ-

बुटवल । दुई दशक अघिसम्म देवदह नगरपालिकाको सानो बस्ती भलुहीको दक्षिण पूर्वमा भलुही खोला र रोहिणी खोलाको दोभानमा रहेको क्षेत्रमा दिउँसै स्याल कराउँथे । वन र खोलाले घेरिएको यो ठाउँ भलुही बजारकै लागि पनि दुर्गम जस्तो थियो ।

तर अहिले त्यो स्थानमा विशाल भवनहरू ठडिएका छन् । दिनहुँ सयौं मानिसको ओहोरदोहोर हुने गरेको छ र त्यो क्षेत्र बिरामीहरूको स्वास्थ्य उपचारको भरपर्दो केन्द्र बनेको छ । भलुहीलाई एउटा सामान्य गाउँदेखि व्यवस्थित बजारमा बदल्न मात्र नभएर देवदहमै पनि अन्तर्राष्ट्रिय स्तरको मेडिकल शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ देवदह मेडिकल कलेजले ।

वि.सं.२०६३ सालमा अस्पताल स्थापना गरी आंशिक रूपमा स्वास्थ्य सेवा दिन सुरु गरे पनि २०६४ सालमा देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटको नाममा देवदह मेडिकल कलेजको स्थापना भएको थियो । सुरुवाती चरणमा सिटिइभिटी अन्तर्गतका एचए र पिसिएल नर्सिंङ पढाइ सुरु गरेको कलेजले २०७१ सालदेखि काठमाडौँ विश्वविद्यालयको विस्तारित कार्यक्रम अन्तर्गत एमबिबिएस पढाउन सुरु गरेको थियो । २०७६ सालसम्म मेडिकल कलेजले नाम मात्रको शिक्षा र स्वास्थ्य सेवा प्रदान गरिरहेको थियो ।

कलेजले आफैले विद्यार्थी भर्ना गरेर पढाउन पाएको थिएन भने पूर्वाधार र दक्ष जनशक्तिको कारण बिरामीहरूको उपचार गर्न र विश्वास जित्न सकिरहेको थिएन । २०७६ सालमा अस्पताललाई नयाँ समूहले व्यवस्थापन गर्न थालेपछि भने देवदह मेडिकल कलेजको मात्र नभएर यो क्षेत्रकै मुहार फेरिएको छ ।

२०७६ साल माघ १ गतेदेखि गोपाल बहादुर पोखरेलको नेतृत्वमा नयाँ व्यवस्थापनले देवदह मेडिकल कलेज सम्हाल्दै आइरहेको छ । हाल चिकित्सा शिक्षा ऐनको परिवर्तित व्यवस्थाले गर्दा प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू बन्द गरिएको छ । अहिले काठमाडौँ विश्वविद्यालय अन्तर्गत चिकित्सा विज्ञानका स्नातक र स्नातकोत्तर तहमा कलेजले अध्यापन गराइरहेको छ ।

स्नातक तहमा एमबिबिएस, बीएस्सी नर्सिङ, बिएस्सी एमएलटी, बिएस्सी एमआईटी र विभिन्न विषयमा स्नातकोत्तर (पोस्ट ग्राजुएट) पढाइ हुने गरेको देवदह मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर जिरेल बताउँछन् । एमबिबिएसको दशौ ब्याचमा ९० जना, बीएस्सी नर्सिङ्को चौथो ब्याचमा ५० जना, बिएस्सी एमएलटीमा १० जना र बिएस्सी एमआईटीमा ५ जनाका साथै पोस्ट ग्राजुयट तहको तेश्रो व्याचमा विभिन्न विषयमा १९ जना भर्ना भएर कलेजमा अध्ययन गरिरहेका छन् ।

एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरू मध्ये ३३ प्रतिशत विदेशी विद्यार्थी रहेका छन् । निकट भविष्यमा सुपर स्पेसियालिटी तह अन्तर्गत डिएम एमसिएच जस्ता कार्यक्रम सञ्चालन गर्ने कलेजको योजना रहेको जिरेल बताउँछन् ।

देवदह मेडिकल कलेजले मेडिकल शिक्षालाई मात्र नभएर स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको कलेजका अध्यक्ष तथा मुख्य लगानीकर्ता गोपाल बहादुर पोखरेल बताउँछन् । पोखरेलका अनुसार देवदह मेडिकल कलेज शिक्षण अस्पताल हाल ५०० बेड (शैया) क्षमतामा सञ्चालनमा छ र यसमा विशेष सुविधायुक्त २०० शैयाको सेवा थप गर्ने प्रक्रिया अघि बढिसकेको छ ।

अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा प्रदान गर्दै आएको छ । दैनिक रूपमा बहिरङ्ग र अन्तरङ्ग विभाग अन्तर्गत सयौ बिरामीले विशेषज्ञ सेवा, उपचार र परामर्श पाइरहेका छन् । भर्ना हुनुपर्ने बिरामीका लागि जनरल वार्डदेखि अत्याधुनिक सुविधायुक्त प्राइभेट क्याबिनको व्यवस्था छ । अत्याधुनिक शल्यक्रिया कक्ष, सघन उपचार कक्ष, र चौबीसै घण्टा खुला रहने फार्मेसी तथा एम्बुलेन्स सेवाले गर्दा यहाँ आउने बिरामीले एउटै छानामुनि सम्पूर्ण उपचार सेवा पाइरहेका छन् ।

अस्पतालमा रहेका विभिन्न विभागहरूबाट बिरामीले विशिष्टीकृत सेवा प्राप्त गरिरहेका छन् । अस्पतालमा मुटु, कलेजो, मधुमेह, मृगौला तथा पेट सम्बन्धी रोगहरूको निदान र उपचारका लागि जनरल मेडिसिन विभाग, विभिन्न प्रकारका जटिल तथा साधारण शल्यक्रियाहरूका लागि सर्जरी विभाग, सर्जरी विभाग अन्तर्गत जनरल सर्जरी, जिआई सर्जरी साथै युरो सर्जरी र न्युरो सर्जरी सेवा उपलब्ध छन् ।

गर्भवती महिलाको जाँच, सुरक्षित प्रसूति सेवा तथा महिलाजन्य रोगहरूको उपचारका लागि स्त्री तथा प्रसूति रोग विभाग, नवजात शिशुदेखि बालबालिकाका सम्पूर्ण रोगको उपचार र खोप सेवाका लागि बालरोग विभाग सञ्चालन गरिएको छ । यस अस्पतालको हाडजोर्नी तथा नशारोग विभागले भाँचिएको, मर्किएको, बाथ रोग तथा जोर्नी प्रत्यारोपण सम्बन्धी सेवा प्रदान गरिरहेको छ ।

सुविधा सम्पन्न आईसीयू बेडहरू, नवजात शिशुका लागि एनआईसीयू र भेन्टिलेटर सुविधा यहाँ उपलब्ध छन् । अस्पतालको हाडजोर्नी विभागमा अति जटिल किसिमका शल्यक्रिया समेत हुने भएकोले देशका कुना काप्चा र भारतबाट समेत विरामीहरू आउने गरेको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत बताउँछन् ।

प्रविधिको विकाससँगै देवदह मेडिकल कलेजले आफ्ना सुविधाहरूलाई पनि आधुनिक बनाएको छ । शल्यक्रियाका दौरान बेहोस बनाउने र दुखाइ व्यवस्थापन गर्नको लागि एनेस्थेसियोलोजी विभाग रहेको छ । अस्पतालमा अत्याधुनिक डायग्नोस्टिक सुविधाहरू छन्, जसले गर्दा रगत, दिसा–पिसाबको जटिल परीक्षण तुरुन्तै सम्भव भएको छ ।

रोगको सही पहिचानका लागि भिडियो एक्सरे, एमआरआई, सिटी स्क्यान, ईसीजी, इन्डोस्कोपी, क्लोनोस्कोपी सेवा उपलब्ध रहेको छ । अत्याधुनिक प्रयोगशाला सेवाको लागि रेडियोलोजी र प्याथोलोजी विभाग संचालनमा छन् । अस्पतालले निकट भविष्यमै ट्रमा सेन्टर र क्याथल्याब सञ्चालन गर्ने गरी तयारी गरिरहेको छ ।

स्थापनाकालताका दक्ष जनशक्तिको अभावबाट समेत गुज्रिएको देवदह मेडिकल कलेजमा अहिले भने समस्या छैन । कलेजमा नेपाल तथा भारतका प्रतिष्ठित शिक्षण संस्थाहरूबाट अनुभव प्राप्त प्राध्यापक, कन्सल्टेन्ट डाक्टरहरू, आवासीय चिकित्सकहरू पूर्णकालीन रूपमा कार्यरत छन् ।

नर्सिङ स्टाफ, प्यारामेडिक्स, ल्याबटेक्निसियन र प्रशासनिक कर्मचारीहरूको ठूलो र समर्पित टोलीले चौबीसै घण्टा बिरामीको सेवा र विद्यार्थीको उज्यालो भविष्यका लागि काम गरिरहेको छ । अनुभवी फ्याकल्टीकै कारण यहाँका विद्यार्थीहरूले क्लिनिकल र प्रयोगात्मक अभ्यास गर्ने उत्कृष्ट अवसर पाएका छन् । कलेजले सकेसम्म स्थानीय जनशक्तिलाई अवसर दिने गरेको अध्यक्ष पोखरेलको भनाइ छ ।

कलेजमा करिब ५०० जना कर्मचारीहरू कार्यरत छन्, यी मध्ये ६० प्रतिशत स्वास्थ्य जनशक्ति र ४० प्रतिशत प्रशासनिक तथा प्राविधिक जनशक्ति रहेका छन् ।

सस्तो र गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवालाई मूल मन्त्र बनाएको कलेजले सामाजिक उत्तरदायित्वलाई महत्त्व दिएको पोखरेल बताउँछन् । कलेजले देवदहका बासिन्दाहरूलाई अस्पतालले प्रदान गर्ने सबै किसिमका सेवामा निश्चित प्रतिशत छुट र सहुलियत प्रदान गर्ने निर्देशिका तयार गरेको र यसै अनुसारको सुविधा प्रदान गरिरहेको छ ।

गरिब तथा विपन्न परिवारका बिरामीहरूलाई अस्पतालले उपचार खर्चमा आवश्यकताको आधारमा शतप्रतिशत सम्म छुट दिने गरेको छ । साथै अस्पतालमा प्रत्येक महिनाको १५ गते निःशुल्क मधुमेह शिविर, आवश्यकता पहिचान गरी समुदायमा आधारित निःशुल्क स्वास्थ्य शिविर र विद्यालयस्तरीय निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन  गर्दै आइरहेको छ ।

अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागु भएकोले सेवा लिन आउनेहरू मध्ये लगभग ४० प्रतिशतले बिमा सुविधा लिने गरेका छन् । नेपाल सरकारले जेठ १६ गते देखि लागु हुने गरी निजी स्वास्थ्य सेवा प्रदायक संस्थालाई आकस्मिक सेवा बाहेक अरू सेवामा बिमा सुविधा नदिने परिपत्र गरेको छ, यसबाट बिरामीको स्वास्थ्य उपचारमा असर पुग्ने अस्पतालका अध्यक्ष पोखरेलको चिन्ता छ ।

अस्पतालले शैक्षिक संस्थाहरू, सहकारी र उद्योगहरूसंग सहकार्य गरेर आफ्नो सेवा विस्तार गरिरहेको छ । अस्पतालबाट सेवा लिए बापत संस्थाका सदस्यहरूलाई न्यून शुल्कमा स्वास्थ्य उपचार तथा परामर्श सेवा प्रदान गरिरहेको छ ।

यसैगरी ओपिडी सेवा निःशुल्क गरिएको छ भने अन्य उपचारमा समेत छुटको व्यवस्था गरेको छ । अस्पतालले टाढाबाट आउने बिरामीहरूलाई लक्षित गरेर निःशुल्क बस सेवा समेत सञ्चालन गरिरहेको छ ।

आइतबारदेखि बिहीबारसम्म कपिलवस्तुको चन्द्रौटादेखि नवलपरासीको त्रिवेणीसम्म निःशुल्क बस सञ्चालन गर्ने गरेकोले यातायात भाडाकै कारण अस्पताल आउन नसकेका बिरामीहरूलाई अस्पतालसम्म आउन र उपचार प्राप्त गर्ने सुविधा प्राप्त भएको छ । बिरामी र कुरुवाका लागि पर्याप्त पार्किङ, क्यान्टिन र बस्ने ठाउँको राम्रो व्यवस्था मिलाइएको अस्पताल प्रशासन बताउँछ ।

अस्पतालमा अहिलेसम्म साढे २ अर्ब रुपैयाँ लगानी भैसकेको छ । अस्पतालले शैक्षिक र स्वास्थ्य सुविधालाई विश्वस्तरको बनाउने गरी पूर्वाधार विस्तारमा जोड दिइरहेको छ । मेडिकल कलेजको गुरुयोजना अनुसार काम सम्पन्न गर्न अब थप साढे २ अर्ब लगानी गर्ने गरी काम अघि बढेको अध्यक्ष पोखरेल बताउँछन् ।

अस्पतालमा लगानी गर्न कुनै समस्या नभएको भए पनि सरकारको मेडिकल शिक्षा र स्वास्थ्य सेवा सम्बन्धी अस्थिर नीतिको कारण खुलेर काम गर्न नसकिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?