© 2026
बुटवल । कुनै समय उपचारका लागि राजधानी काठमाडौँ वा छिमेकी मुलुक भारत धाउनुपर्ने बाध्यता भोगेका रुपन्देही वासी आज आफ्नै क्षेत्रमा अत्याधुनिक स्वास्थ्य सेवा पाउन थालेका छन् । यस परिवर्तनको प्रमुख आधारमध्ये एक हो भैरहवा स्थित सिद्धार्थनगर सिटी अस्पताल ।
वि.सं. २०६७ साउनमा लुम्बिनी रोडस्थित एउटा भाडाको घरबाट १५ शैयाको सानो स्वास्थ्य संस्थाका रूपमा सुरु भएको अस्पताल आज लुम्बिनी प्रदेशकै अग्रणी बहु विशेषज्ञ (मल्टी–स्पेसियालिटी) तथा अत्याधुनिक रेफरल अस्पतालका रूपमा स्थापित भएको छ ।
सीमित स्रोतसाधन, पूर्वाधार अभाव र विभिन्न चुनौतीबिच सुरु भएको अस्पतालले डेढ दशकको अवधिमा उल्लेखनीय फड्को मारेको छ ।
अस्पतालको सुरुवाती यात्रा सहज थिएन । भाडाको साँघुरो भवन, सीमित उपचार कक्ष, पार्किङको अभाव तथा आधुनिक उपकरण जडान गर्न नसकिने अवस्थाबिच सेवा सञ्चालन गरिएको थियो ।
२०७२ सालको विनाशकारी भूकम्प र त्यस पछिका पराकम्पका बेला पुरानो भवनमा उपचाररत बिरामी र स्वास्थ्यकर्मीको सुरक्षाप्रति चिन्ता झन् बढेको थियो ।
अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेल ती दिन सम्झँदै भन्छन्, “हामीसँग सेवा गर्ने दृढ इच्छाशक्ति थियो, तर पूर्वाधारले साथ दिँदैनथ्यो । भाडाको घरमा अस्पताल सञ्चालन गर्दा बिरामीलाई आवश्यक सुविधा दिन निकै कठिन हुन्थ्यो ।
भूकम्पका बेला बिरामीको सुरक्षालाई लिएर हामी सधैँ चिन्तित रहन्थ्यौँ । तर जनताको विश्वास र हाम्रो टोलीको निरन्तर प्रयासले आज हामी आधुनिक, सुरक्षित र सुविधा सम्पन्न भवनबाट सेवा दिन सक्षम भएका छौँ ।”
समयसँगै अस्पतालले पूर्वाधार, जनशक्ति र प्रविधिमा निरन्तर लगानी गर्दै आफ्नो सेवा विस्तार ग¥यो । यही यात्राको परिणाम स्वरूप २०७८ सालदेखि अस्पताल १०० शैयाको क्षमतामा सञ्चालनमा आएको छ । अस्पतालले सामान्य उपचार सेवामा मात्र सीमित नरही जटिल रोगको उपचार तथा शल्यक्रिया सेवा पनि विस्तार गरेको छ ।
हाल अस्पतालमा विशेषज्ञ चिकित्सक सहित न्युरो सर्जरी, कार्डियोलोजी, ट्रमा तथा आकस्मिक सेवा, क्रिटिकल केयर, आईसीयू, आधुनिक अपरेशन थिएटर तथा उन्नत डायग्नोस्टिक सेवाहरू सञ्चालनमा छन् । एक समय सामान्य बिरामीसमेत अन्यत्र रिफर गर्नुपर्ने अवस्था रहेको क्षेत्रमा अहिले जटिल मस्तिष्क, मुटु तथा हड्डी सम्बन्धी उपचार सम्भव भएको छ ।
अस्पतालले हालसम्म ६ लाखभन्दा बढी बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरिसकेको जनाएको छ । त्यस्तै १ लाख ५० हजारभन्दा बढी शल्यक्रिया सफलता पूर्वक सम्पन्न भएका छन् । अस्पताल प्रशासनका अनुसार न्युरो सर्जरी, कार्डियाक उपचार, ल्याप्रोस्कोपिक शल्यक्रिया तथा जटिल अर्थोपेडिक उपचारमा प्राप्त सफलताले अस्पतालप्रतिको जनविश्वास अझ बलियो बनेको छ ।
प्रबन्ध निर्देशक पौडेलका अनुसार बिरामीलाई सामान्य देखि जटिल रोगसम्मको उपचार आफ्नै क्षेत्रमा उपलब्ध गराउनु अस्पतालको मुख्य उद्देश्य हो । “उपचारका लागि राजधानी वा विदेश धाउनुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्यका साथ हामीले विशेषज्ञ सेवा विस्तार गरेका छौँ,” उनले भने ।
सिद्धार्थनगर सिटी अस्पताल अत्याधुनिक स्वास्थ्य प्रविधि र उपकरणले सुसज्जित छ । अस्पतालमा ६४ स्लाइस सीटी स्क्यान, डिजिटल एक्स–रे, अल्ट्रासाउन्ड, एडभान्स्ड क्याथ ल्याब, मोडुलर अपरेशन थिएटर, भेन्टिलेटर सहितको आईसीयू, स्वचालित प्रयोगशाला प्रणाली तथा आधुनिक न्युरो सर्जिकल उपकरण सञ्चालनमा छन् । यी प्रविधिका कारण जटिल रोगको पहिचान र उपचार अझ प्रभावकारी बनेको अस्पतालले जनाएको छ ।
अस्पतालमा हाल १४ भन्दा बढी प्रमुख विभाग सञ्चालनमा छन् । जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बालरोग, डायलाइसिस, नाक–कान–घाँटी, छाला तथा यौनरोग, दन्तरोग, कार्डियोलोजी, न्युरो सर्जरी तथा अर्थोपेडिक सेवाले दैनिक सयौँ बिरामीलाई सेवा प्रदान गरिरहेका छन् । प्रत्येक विभागमा अनुभवी विशेषज्ञ चिकित्सकको नेतृत्व रहेको अस्पतालले जनाएको छ ।
उपचार सेवासँगै स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा पनि अस्पतालले योगदान पु¥याउँदै आएको छ । अस्पताल अन्तर्गत पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनमा रहेको छ । अध्ययनरत विद्यार्थीहरूले आधुनिक आईसीयू, आकस्मिक कक्ष तथा अपरेशन थिएटरमा प्रत्यक्ष अभ्यास गर्ने अवसर प्राप्त गरिरहेका छन् ।
आगामी दिनमा नर्सिङ, प्यारामेडिकल तथा अन्य स्वास्थ्य सम्बन्धी शैक्षिक कार्यक्रम विस्तार गरी अस्पताललाई शिक्षण संस्थाका रूपमा विकास गर्ने योजना रहेको छ ।
सामाजिक उत्तरदायित्वलाई पनि अस्पतालले प्राथमिकतामा राखेको छ । ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी नियमित निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना कार्यक्रम, रक्तदान अभियान तथा ग्रामीण स्वास्थ्य पहुँच कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।
विपन्न तथा असहाय बिरामीलाई उपचारमा विशेष सहुलियत र आवश्यकता अनुसार निःशुल्क सेवा प्रदान गर्ने व्यवस्था पनि गरिएको छ । विशेषगरी मातृ तथा शिशु स्वास्थ्य सुधारमा अस्पतालले महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासी बताउँछन् ।
यद्यपि स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव, विशेषज्ञ चिकित्सक तथा नर्सहरूको वैदेशिक पलायन, अत्याधुनिक उपकरणको उच्च लागत र मर्मत सम्भारका चुनौती अस्पतालका लागि अझै कायम छन् । तर यी चुनौतीका बीच पनि अस्पतालले आफ्नो सेवा विस्तारलाई निरन्तरता दिएको छ ।
भविष्यका लागि अस्पतालले थप महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ । निकट भविष्यमै एमआरआई सेवा सञ्चालन गर्ने, सुपर स्पेसियालिटी सेवा विस्तार गर्ने, आईसीयू तथा क्रिटिकल केयर शैया थप गर्ने र अत्याधुनिक डायग्नोस्टिक सेन्टर स्थापना गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
डेढ दशक अघि १५ शैयाको सानो स्वास्थ्य संस्थाबाट सुरु भएको सिद्धार्थनगर सिटी अस्पताल आज लुम्बिनी प्रदेशकै एक विश्वासिलो स्वास्थ्य केन्द्रका रूपमा स्थापित भएको छ ।
आधुनिक प्रविधि, विशेषज्ञ जनशक्ति, शैक्षिक योगदान र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउँदै आएको अस्पतालले आगामी दिनमा अझ प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित आफ्नो यात्रा जारी राखेको छ ।