© 2026
बुटवल । रुपन्देहीको बुटवल–६, हस्पिटल लाइनमा सञ्चालित मेडिटेक इन्टरनेशनल हस्पिटल एन्ड रिसर्च सेन्टर पछिल्ला वर्षहरूमा लुम्बिनी प्रदेशको निजी स्वास्थ्य क्षेत्रमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्दै गएको छ ।
आधुनिक स्वास्थ्य प्रविधि, अनुभवी चिकित्सक, गुणस्तरीय उपचार सेवा तथा अनुसन्धानमुखी सोचका कारण अस्पतालले बिरामी तथा स्थानीय समुदायको विश्वास जित्न सफल हुँदै गएको छ ।
निजी स्वास्थ्य संस्थाहरूबिच प्रतिस्पर्धा तीव्र बन्दै गएको वर्तमान अवस्थामा मेडिटेकले विशेषज्ञ चिकित्सकहरूको नियमित सेवा, अत्याधुनिक उपकरण र बिरामीमैत्री वातावरण मार्फत आफूलाई विश्वसनीय स्वास्थ्य संस्थाका रूपमा विकास गर्दै लगेको छ ।
अस्पतालले विशेष गरी बुटवल तथा आसपासका जिल्लाका नागरिकलाई सहज, छिटो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य सहित सेवा सञ्चालन गर्दै आएको छ ।
मेडिटेक इन्टरनेशनल हस्पिटल एन्ड रिसर्च सेन्टर, मेडिटेक इन्टरनेशनल एकेडेमी प्रा.लि. को छातामुनि सञ्चालित सेवामुखी संस्थामध्ये एक हो । स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्ने स्पष्ट उद्देश्य सहित स्थापना भएको यस संस्थामा अनुभवी चिकित्सक, दक्ष नर्सिङ जनशक्ति तथा व्यवस्थापन टोली आबद्ध रहेका छन् । अत्याधुनिक उपकरण सहित सुपर स्पेशालिटी सेवा उपलब्ध गराउँदै आएको अस्पतालले छोटो समयमै आफ्नो सेवा क्षेत्र विस्तार गर्न सफल भएको छ ।
२०६५ सालमा स्थापना भएको मेडिटेक इन्टरनेशनल एकेडेमीले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा योगदान पु¥याउने उद्देश्य सहित अस्पताल सञ्चालनमा ल्याएको हो । निजी क्षेत्रबाट सञ्चालित यो अस्पताल स्वास्थ्य सेवाप्रति समर्पित संस्थाका रूपमा परिचित छ ।
हाल अस्पतालमा ५१ शैया क्षमता रहेको छ । जनरल वार्डमा १४, सर्जरी वार्डमा १०, स्त्री तथा प्रसूति वार्डमा ८, पोस्ट अपरेटिभ वार्डमा १० तथा एचसीयूमा ९ शैया सञ्चालनमा रहेका छन् । अस्पतालले फिजिसियन सेवा, हाडजोर्नी तथा नसा रोग उपचार, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी, मुत्ररोग, बालरोग, बाल शल्यक्रिया, स्त्री तथा प्रसूति रोग, छाला रोग, छाती तथा मुटु रोग, नाक–कान–घाँटी रोग लगायत विभिन्न विशेषज्ञ सेवाहरू प्रदान गर्दै आएको छ ।
अस्पतालमा २४सै घण्टा आकस्मिक सेवा उपलब्ध छ । फार्मेसी, एक्स–रे, प्रयोगशाला, एम्बुलेन्स तथा बिरामी भर्ना सेवा नियमित सञ्चालनमा छन् । मेजर तथा माइनर शल्यक्रिया, आईसीयू सेवा तथा दूरबिन प्रविधि मार्फत पित्तथैली र मिर्गौलाको पत्थरीको शल्यक्रिया समेत यहाँ हुँदै आएको छ ।
आकस्मिक उपचारका लागि सात शैयाको छुट्टै व्यवस्था गरिएको छ भने चारवटा मोनिटर र एक भेन्टिलेटर मार्फत गम्भीर बिरामीको उपचार गरिन्छ । अस्पतालका अनुसार जुनसुकै समयमा पनि मेडिकल अफिसरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध गराइन्छ ।
मेडिटेकले इमर्जेन्सी सेवा, प्याथोलोजी, भिडियो एक्स–रे, डट्स सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, बालरोग, नसा रोग, स्त्री तथा प्रसूति रोग, छाती रोग, मधुमेह उपचार, इन्डोस्कोपी, सुरक्षित गर्भपतन सेवा, आईसीयू, एनआईसीयू, परिवार नियोजन सेवा तथा होलोग्राम सहितको मेडिकल रिपोर्ट लगायतका विविध स्वास्थ्य सेवाहरू सञ्चालन गर्दै आएको छ ।
अस्पतालले सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखेको छ । निःशुल्क उपचारका लागि कुल शैयाको १० प्रतिशत छुट्याइएको अस्पताल प्रशासनले जनाएको छ । आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा रहेका बिरामीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गरिएको छ । साथै अस्पतालले विपद् व्यवस्थापन योजनालाई पनि प्राथमिकतामा राख्दै कर्मचारीलाई नियमित तालिम, मनोसामाजिक परामर्श तथा जोखिमयुक्त क्षेत्रमा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले अस्पतालले समय–समयमा निःशुल्क स्वास्थ्य शिविर तथा मोबाइल क्लिनिक सञ्चालन गर्ने गरेको छ । विशेषज्ञ चिकित्सकहरूको सहभागितामा सञ्चालन हुने यस्ता कार्यक्रमबाट सयौं नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।
स्थापनाको प्रारम्भिक चरणमा सीमित सेवा प्रदान गर्ने अस्पतालले हाल विभिन्न विशेषज्ञ तथा विशिष्टीकृत सेवा विस्तार गर्दै आएको छ । सर्वसाधारणले सहज रूपमा उपचार सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले अस्पतालले सेवा र पूर्वाधार दुवै क्षेत्रमा सुधारलाई निरन्तरता दिएको छ । “सम्पूर्ण स्वास्थ्य समस्याको सही समाधान” भन्ने नारा सहित अस्पतालले आधुनिक उपकरण तथा गुणस्तरीय सेवा मार्फत बिरामीको विश्वास जित्ने प्रयास गरिरहेको जनाएको छ ।
भविष्यमा सेवा विस्तार गर्ने योजना अनुसार अस्पतालले तिलोत्तमाको मणिग्राम क्षेत्रमा १ सय शै याको सुविधा सम्पन्न अस्पताल भवन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । भवनको डिजाइन तथा नक्सा स्वीकृत भइसकेको अस्पतालले जनाएको छ । नयाँ पूर्वाधार निर्माणसँगै थप विशेषज्ञ सेवा, आधुनिक उपकरण तथा स्वास्थ्य सुविधाहरू विस्तार गर्ने लक्ष्य लिइएको छ ।
ग्रामीण क्षेत्रमा समेत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सेटेलाइट क्लिनिक सञ्चालन गर्ने योजना अस्पतालको रहेको छ । आर्थिक रूपमा विपन्न तथा असहाय नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य गर्ने तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यका साथ अस्पताल अघि बढिरहेको छ ।
अस्पतालमा दैनिक औसत ५० जना बिरामीले सेवा लिने गरेका छन् । अस्पताल प्रशासनका अनुसार हालसम्म विभिन्न रोगका करिब एक हजार चार सयभन्दा बढी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।
अस्पतालका प्रबन्ध निर्देशक गणेश ज्ञवालीले मेडिटेक इन्टरनेशनल एकेडेमीलाई पश्चिम नेपालकै महत्वपूर्ण शैक्षिक तथा स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार मेडिटेक अन्तर्गत अस्पताल, नर्सिङ कलेज, हेल्थ असिस्टेन्ट कार्यक्रम, ल्याब टेक्निसियन कार्यक्रम तथा विद्यालय सञ्चालनमा रहेका छन् ।
गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भौतिक पूर्वाधार, आधुनिक प्रविधि र दक्ष जनशक्ति विकासलाई प्राथमिकतामा राखिएको जानकारी गराए ।
उनले संस्थाले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा प्रवाह गर्दै आएको उल्लेख गर्दै भविष्यमा थप स्वास्थ्य तथा शैक्षिक कार्यक्रम विस्तार गर्ने योजना रहेको बताए ।
गुणस्तरीय सेवा, अनुभवी जनशक्ति, सामाजिक उत्तरदायित्व र दीर्घकालीन विकास योजनाका कारण मेडिटेक इन्टरनेशनल हस्पिटल एन्ड रिसर्च सेन्टर लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रमा एक भरोसायोग्य संस्थाका रूपमा स्थापित हुँदै गएको छ ।