नवलपरासी,पश्चिम् । केराको बजार मूल्य आकासिँदै जाँदा पनि किसानले भने पुरानै मूल्य पाउन बाध्य भएको गुनासो गरेका छन्। उत्पादनदेखि उपभोक्तासम्म पुग्दा बिचौलियाको बढ्दो प्रभावका कारण किसान प्रत्यक्ष मारमा परेको बताएका हुन् ।
केरा उत्पादक सङ्घ नवलपरासीका अध्यक्ष लख्खु यादवका अनुसार आफूहरूले अहिलेसम्म केराको मूल्य दर्जनको ५० रुपैयाँभन्दा बढी पाउन सकेका छैनन् । “बजारमा अहिले केराको मूल्य ३ सय रुपैयाँसम्म पुगेको सुनिन्छ, तर हामी किसानले अहिले सम्म दर्जनको ५० रुपैयाँ भन्दा बढी पाउन सकेका छैनौ,” यादवले भने, “बिचको पैसा कहाँ गयो, सरकारले छानबिन गर्नुपर्छ।”
काठमाडौँको कालिमाटी स्थित कालिमाटी फलफूल तथा तरकारी विकास समितिको आइतबारको मूल्य सुची अनुसार प्रति दर्जन केराको मूल्य न्यूनतम २४० देखि अधिकतम २६० र औसतमा २५० रुपैयाँ सम्म उल्लेख गरिएको छ ।
काठमाडौँ बाहेक अन्य स्थानमा ढुवानी खर्चका हिसाबले मूल्य केही कम हुने भएपछि प्रति दर्जन ५० रुपैयाँ भन्दा माथि पर्न नसक्दा किसान निकै मर्कामा पर्ने गरेका छन् । स्थानीय बजारमा समेत पाकेको केरा १४० देखि १९० रुपैयाँ सम्म बिक्री भएको उपभोक्ताहरूको भनाई छ ।
अध्यक्ष यादवका अनुसार सिँचाइ अभाव र भारतबाट आयात हुने केराका कारण स्थानीय किसान झन् समस्यामा परेका छन्। उत्पादन लागत बढ्दो भए पनि बिक्री मूल्यमा सुधार नहुँदा किसान निरुत्साहित बन्दै गएका छन् ।
स्थानीय किसानहरूका अनुसार मल, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको छ, तर त्यसअनुसारको मूल्य नपाउँदा खेतीबाट लाभ लिन कठिन भइरहेको छ। बिचौलियाले खेतबाट सस्तोमा खरिद गरेर बजारमा अत्यधिक मूल्यमा बिक्री गर्ने प्रवृत्तिले किसान र उपभोक्ता दुवैलाई असर पुर्याएको उनीहरूको भनाइ छ ।
पश्चिम् नवलपरासीमा झन्डै २ हजार बिघामा केरा खेती हुँदै आएको यादवको भनाई छ ।यहाँ उत्पादित केरा दाङ,नारायणगढ,पोखरा र काठमाडौँ सम्म पुग्ने गरेको किसानको भनाई छ ।
किसानहरूले बजार अनुगमन कडाइ गर्न, मूल्य निर्धारणमा पारदर्शिता ल्याउन र बिचौलिया नियन्त्रणका लागि प्रभावकारी नीति लागू गर्न सरकारसँग माग गरेका छन् ।
साथै, सिँचाइ सुविधा विस्तार र आयात नियन्त्रणमार्फत स्थानीय उत्पादनलाई संरक्षण गर्नुपर्नेमा उनीहरूको जोड छ। यस विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण आवश्यक रहेको किसानहरूको भनाइ छ ।