© 2026
काठमाडौँ ।
युरोपमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बेल्जियमको राजधानी ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेपाली मौलिक परिकार सेलरोटी र छोइलासँगै नेपालको कला, संस्कृति र पर्यटकीय गन्तव्यले सहभागीको ध्यान आकर्षित गरेको छ ।
ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलङ्काका राजदूतावाससँगको सहकार्यमा ‘हिमाली शिखरदेखि समुद्री तटसम्म’ शीर्षकमा कार्यक्रम आयोजना गरेको हो ।
युरोपेली सङ्घ ९ईयू० र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि, बेल्जियमस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधि, सहभागी देशका शुभेच्छुक र सञ्चारकर्मीसहित करिब एक सय जनाको कार्यक्रममा सहभागिता थियो ।
कार्यक्रममा बेल्जियम, नेदरल्यान्ड्स र लक्जेम्बर्गका लागि नेपालका राजदूत सेवा लम्सालले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, साहसिक पर्यटन, समृद्ध सम्पदा र आरोग्य पर्यटनका विशेषताबारे जानकारी गराइन् ।
नेपालले सन् २०२७ लाई अन्तर्राष्ट्रिय आरोग्य वर्षका रूपमा मनाउन लागेको जानकारी दिँदै उनले सहभागीलाई नेपालको आध्यात्मिक तथा आरोग्य पर्यटनको अनुभव लिन आग्रह गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि युरोपेली बाह्य कार्य सेवाका उपमहानिर्देशक डोमिनिक पोर्टरले नेपालसहित दक्षिण एसियाली देशसँग युरोपेली सङ्घको सहकार्यबारे चर्चा गर्दै दिगो पर्यटन प्रवर्द्धनमा जोड दिएका थिए । नेपाली राजदूतावासका अनुसार कार्यक्रममा सहभागी देशका पर्यटकीय सम्भावना र आपसी सहकार्यका विषयमा समेत चर्चा भएको थियो ।
कार्यक्रममा भुटानका राजदूत छोक्की छोडेन, श्रीलङ्काका राजदूत चन्दना वीरसेना र माल्दिभ्सका राजदूत उज्मा फतिमथ धियानाले आआफ्ना देशका पर्यटकीय विशेषताबारे जानकारी गराएका थिए ।
औपचारिक कार्यक्रमपछि चारै देशका मौलिक संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति गरिएको थियो । नेपालको लाखे नाच र परम्परागत धिमे बाजाको प्रस्तुतिले सहभागीको ध्यान खिचेको थियो ।
चारै देशले आआफ्ना पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि छुट्टाछुट्टै प्रदर्शनी कक्षसमेत राखेका थिए । नेपाली कक्षमा पर्यटनसम्बन्धी पुस्तिका, पोस्टर, नक्सा, मिथिला कला, हस्तकलाका सामग्री, पश्मिना, चिया र कफीलगायत नेपाली उत्पादन प्रदर्शन गरिएको थियो । नेपालको पर्यटनसम्बन्धी श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिएको थियो ।
नेपाली पर्यटन कक्षमा सहभागीले विशेष चासो देखाउँदै दूतावासका प्रतिनिधिसँग नेपालको भ्रमणका अवसर र प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी लिएका थिए ।
कार्यक्रममा चारै देशले आफ्ना परम्परागत परिकारसमेत प्रस्तुत गरेका थिए । प्रत्येक देशले दुई प्रकारका परिकार प्रस्तुत गरेकामा नेपालका तर्फबाट सेलरोटी र छोइला राखिएको थियो । नेपाली स्वादका यी परिकार सहभागीले रुचाएका थिए ।
प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, परम्परागत कला र खानामार्फत नेपालसहित चार दक्षिण एसियाली देशको पर्यटन प्रवर्द्धन गर्ने तथा युरोपेली पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।