© 2026
वास्तवमा छुद्र वचन कसैका लागि पाच्य हुँदैन । छुद्र वचन मन पराउने सायद यो दुनियाँमा कोही छैनन् होला । जसले छुद्र वचनको प्रयोग गर्दछ त्यसले स्वयं आफूले पनि त्यस्तो वचन मन पराएको देखिँदैन ।
आफूलाई मन नपर्ने कुरा किन मानिसले अरूकालागि प्रयोग गर्दछन् ? यो आश्चर्यको कुरा हो । छुद्र वचन मात्र होइन छुद्र व्यवहार पनि कोही कसैलाई मन पर्दैन । तर, त्यही छुद्र व्यवहार अरूका लागि मानिसले निरन्तर प्रयोग गरिरहेको हुन्छ ।
यसको रहस्य के होला ? एक मानवले अर्को मानवप्रति सहिष्णुता देखाउन नसकेर हो वा आफूमा भएको दम्भका कारणले यस्तो छुद्र वचन र व्यवहार देखाउने गर्दछन् ? आफूलाई मन नपर्ने कुरा गरेर अरूको मन कुँड्याउनु राम्रो मानिँदैन तर अत्यधिक मानिसहरूले वेला मौकामा त्यही गरिरहेको देखिन्छ र सुनिन्छ ।
जुन मानिसको मनमा जस्तोसुकै दम्भ भए पनि यो मानिसको आफ्नो प्रवृत्ति हो । मानिसमा विभिन्न प्रवृत्ति हुन्छन् त्यस मध्यको एउटा हो दम्भ देखाउनु । यो कसैका लागि पनि फाइदाजनक प्रवृत्ति होइन भन्ने धेरैलाई थाहा छ तर किन यसैलाई धेरैले दर्साउने गर्दछन् ? यो बुझ्न कठिन विषय बनेको छ ।
यसले कुनै पनि मानिसलाई उकालो चढ्न कत्ति पनि सिकाउँदैन बरु ओरालो झर्न मात्र सिकाउँछ । प्रवृत्तिगत रूपले ओरालो झर्नु भनेको जीवनमा आर्जन गरेको श्रेयमा क्षय हुनु हो ।
यसरी ओरालो झर्नेहरूलाई अरूले हात समाएर झारेको होइन आफ्नै प्रवृत्तिका कारणले आफै निरन्तर झर्ने गर्दछन् । ओरालो झर्न मन नपराउनेहरूले पनि छुद्र वचन र व्यवहारका कारण आफै ओरालो लागिरहेका हुन्छन् । हामीले त सकेसम्म यस्तो नहोस् भन्ने कामना गर्ने हो तर हाम्रो कामनाले के नै हुन्छ र ?
दम्भ देखाउनेहरू यसलाई छोड्न सकेका हुँदैनन् । दम्भ नदेखाउनु राम्रो भन्ने उपदेशले पनि काम लाग्दैन । कतिलाई त आफू अर्कै दुनियाँको मानव देखाउनका लागि पनि यस्तो दम्भ देखाउँछन् भन्ने लाग्दछ ।
एउटा मानिसले अर्को मानिसलाई मानवका रूपमा नदेख्नु आफैमा रहेको ठुलो दोष हो भन्ने लाग्दछ । यो दोषले आपसमा समन्वय कायम हुन सक्दैन ।
कतिपय राजनीतिक दल र उनका नेता कार्यकर्ताहरूमा अरू क्षेत्रमाभन्दा बढ्ता दम्भ देखाउने गरेको देखिन्छ र सुनिन्छ । सामान्य नागरिकले दम्भ देखाएको भए त्यो कति पाच्य हुन्थ्यो ? यो बेग्लै कुरा हुन जान्थ्यो । कुनै पनि दलको नेता वा कार्यकर्ता भनेको अन्य सामान्य नागरिक भन्दा केही सचेत व्यक्ति हो ।
यस्ता कार्यकर्ताहरूमा केही बढता सचेत वर्गको रूपमा गनिन्छन् भने केही कम सचेतमा गनिन्छन् । त्यसको बेग्लै पाटोमा मूल्याङ्कन हुनेछ तर यहाँ सामान्य नेता कार्यकर्ताहरूले यस प्रकारको दम्भ देखाएको बुझियो भन्ने आजको प्रसङ्गको कुरा हो । यस्तो खालको दम्भ देखाउनेहरूमा अति ख्याति प्राप्त नेता तथा कार्यकर्ताहरूले नै भन्ने कुरा उल्लेख गरियो ।
जसले समाजसेवा र जनसेवा भन्दछन् उनीहरू नै दम्भ देखाउन लालायित भएकाले जीवनको एउटा आश्चर्य त्यही भएको मान्नुपर्दछ । अघि पछिको समयभन्दा निर्वाचनका समयमा बढ्ता दम्भ प्रदर्शन हुने गर्दछ । आज निर्वाचनको प्रसङ्ग नभएकाले कम भयो भनौँला तर उनीहरूको मनबाट त्यो दम्भ पूरै हटेको छैन । त्यस कारण कुनै दिन त्यस्तो अवसर पाउँदासाथ त्यही प्रवृत्ति देखिने हो ।
राजनीतिमा स्थायी दुस्मन र स्थायी मित्र कोही हुँदैन भनिन्छ । जब कोही दीर्घकालीन दुस्मन हुँदैन भने दम्भका साथ सहयात्रीलाई सत्तोसराप गर्नुको कुनै कारण हुँदैन । यसको सहज अवतरणका लागि यसरी बुझे पनि हुने भयो । निर्वाचन आयो भने बोलेको सुहाए पनि नसुहाए पनि बोल्नै पर्ने हुने रहेछ ।
यस्ता कुरामा सधैँ ध्यान दिएर अन्य विषयमा बहस र छलफल कहिले गर्ने ? यसरी दम्भ देखाएर अर्कालाई अनर्गल लान्छनाको हुरी चलाउनुको साटो ठिक्क, मिल्ने र सुहाउने कुरा गरे त भैहाल्ने थियो ।
सुन्नेहरूलाई पनि सरल र सहज कुरा सुनिने थियो होला । चाहे निर्वाचन होस् चाहे अन्य समयमा होस् यस्ता छुद्र बचन नउकेलेर बस्न नसक्नेहरूलाई के भन्ने ? लान्छना नलगाए वा लान्छना लगाउन नपाएमा खाएको पच्दैन भने किन अपशब्द उकेल्नु परेको छ र ? यस्ता कुरा उखेल्दै गर्दा कहिले आफ्ना आन्द्रा र भूँडी छताछुल्ल हुन लामो समय लाग्ने छैन ।
यसको सहज तरिका के हो भने आफूले आफ्नो काम कुरा गर्ने हो । आफूले गर्न सक्ने र गरेका कामहरूको वारेमा बताउन सक्नुपर्दछ । अरूलाई गालीगलौज गर्नुको साटो आफ्नो काम के हो र गर्न सकिने काम कुराहरू के हुन ? आफ्नो कर्तव्य के हो ? यसका वारेमा जानकार हुनुपर्दछ । आफूले आफ्नो कर्तव्य जान्न नपर्ने अनि अरूलाई तथानाम लान्छना लगाएर दोषजति अरूको थाप्लामा किन थुपार्ने ?
निर्वाचनका समयमा जसलाई जति शेर छटाकमा गाली गरेपनि जति लिटर आक्षेप लगाएरपनि आखिर कुनै दिन उसैको बुई चढनु पर्ने हुँदोरहेछ । आरम्भका दिनहरूमा त उसकै बुई चढेर सत्ताको यात्रा थालेको त हो नि ।
लान्छना लगाएको पात्रको आधारले आफू उभिनुपर्ने रहेछ । अहिले त्यही सिद्ध भएको छ । भोलीको आफ्नो सहारालाई पनि धुलो चाट्ने गरी थान्को लगाउनु के आश्चर्यको कुरा हो ? दम्भलाई अर्को शब्दमा बोक्रे खालको अभिमान पनि भनिन्छ । यस्तै यसलाई जालझेल, घमन्ड, आडम्वरी स्वाङ समेत भनिन्छ ।
अलिक पर पुगेर यसको अर्थ छाम्ने हो भने जालझेल र कपट भन्न समेत सकिन्छ । यसरी हेर्दा दम्भ शब्दले यो प्रवृत्ति अंगीकार गरौं भन्ने एकाध कोही होला तर अत्यधिक संख्यामा यसको विपरित हुनेछन् । तर जानेरपनि दम्भ त्याग्न नसकेकाहरूलाई के उपमा दिने होला ? हरेक मानिसले मानिसको वृहत्तर हितको कामना गरोस र त्यही माफिकको बोली व्यवहार गरोस भन्ने हाम्रो चाहना हो । यसैको अर्को नाम लोकतन्त्र हो ।
लोकतन्त्रमा अरू समय र अरू व्यवस्था जस्तो यो व्यवस्था होइन । यसमा आफ्नो दलको नीति अनुसार जनसेवामा लाग्ने हो । कसैले कुनै गल्ती वा कमजोरी गर्न पुग्यो भने स्वस्थ आलोचना गर्न सकिन्छ ।
स्वस्थ आलोचनाले जो कसैलाई पनि सुध्रने मौका दिन्छ । हामीले कसैलाई चौबाटोमा लगेर पछार्ने होइन हरेकलाई सुध्रने मौका दिनुपर्दछ । हामीले कसैलाई पछार्ने होइन सुध्रने अवसर दिनुपर्दछ । हरेक मानिसबाट सद्व्यवहार हुन सक्यो भने हाम्रो परिवार वा समाज कस्तो होला ? हामीयस्ता कुराको कल्पना गर्न सक्छौं ? यसलाई सम्भव ठान्छौं ? यदि सम्भव ठान्छौ.भने किन छुद्रतातिर ध्यान दिने ?
जुन व्यक्ति वा तहले समाज सुधारको लागि केही त्याग गर्नुपर्ने हो, त्यही व्यक्ति वा वर्ग समाजको रीतिस्थिति भत्काउन लागेको देखिन्छ । यो जसले समाज बनाउने जिम्मा लिएर जनताबाट अनुमोदन चाहेको हुन्छ त्यही व्यक्ति निर्माणमा नभएर ध्वंसमा विश्वास गर्दा रहेछन् ।
ध्वंसमा विश्वास गर्ने जमात रहेसम्म निर्माणको कुरा जति गरे पनि केही सुधार देखिँदैन । समाज परिवर्तन वा नयाँ समाज निर्माणका लागि केही गुमाउनु पर्छ भन्नेहरूमा आएको दम्भले समाज दिनदिनै भ्रष्ट हुँदैछ । समाज विग्रदै छ ।
नैतिकता लोप हुँदैछ । नेतृत्व गर्नेहरू आफै आचरणमा रहन नसक्ने अवस्था भएको समयमा उनीहरूले समाजलाई गति दिन्छन भन्नु गलत हो । आफैमा पालेको भ्रममात्र हो । यस्ता भ्रमबाट मुक्त हुनुपर्दछ ।
जसले समाज रूपान्तरण गर्छ भनेर सर्वसाधारण व्यक्तिहरू पछाडि लागे त्यो उनीहरूले दिएको सास्ती हो । त्यो समय वर्वाद गरेको हो भन्यो भने कुनै अन्यथा हुनेछैन । एकपटक दम्भमा रमाउनेहरूलाई नजिकबाट हेरौं, छामौं । उनीहरूको नाडीमा समाज सुधारको नशा कति दु्रतगतिमा चलेको पाइन्छ ? यसबाट थाहा हुन्छ उनीहरूको धडकन ।
त्यही धडकनबाट सुधारको आभाष मिल्दछ । आफ्नो कुरा सालिन ढंगबाट राख्न नसक्नेहरू सबैले गालीको सहारा लिने गर्दछन् । गालीको सहारा भनेको छुद्रता हो । छुद्रता समाजको धमिरा हो ।
जसले भित्रैबाट बस्तु नष्ट गर्दछ । दम्भले आजसम्म कसैको हित गरेको नदेखेको हुनाले अव एउटै स्वरमा भनौं भो अब दम्भ नदेखाएपनि हुन्छ । तिम्रो दम्भ सदाकालागि बन्द गरे भनेर भन्नुपर्दछ । यही नै नागरिकको चोखो वचन हुनेछ ।