Butwal Today
सन्दर्भ: माता तीर्थ औँसी 

आमा: निःस्वार्थ प्रेमको प्रतीक

४ बैशाख २०८३, शुक्रबार
अ+
अ-

बुटवल । प्रतिनिधिसभा सदस्य श्रद्धा कुँवरका लागि आमाको माया शब्दमा वर्णन गर्न सकिने विषय होइन ।

उनी आमालाई हरेक श्वासमा महसुस हुने एक अमूल्य धरोहर मान्छिन् । कुँवर भन्छिन्, “म आज जहाँ छु, आमाकै आशीर्वाद र त्यागका कारण उभिएको छु । उहाँ भौतिक रूपमा साथ नभए पनि मेरा हरेक सपना र पाइलाहरूमा उहाँकै स्मृतिको छाया छ ।”

उनका अनुसार यो पर्वले सन्तान र आमाबिचको दूरी जोड्ने पुलको काम गर्छ । कुँवरका लागि त हरेक दिन माता तीर्थ औँसी हो, किनकि उनी आमाको सम्झनाबिना कुनै पनि कामको सुरुवात गर्दिनन् । आमाले आफूप्रति देखेका सपनाहरू पूरा गर्नु नै आफ्नो जीवनको मुख्य लक्ष्य रहेको उनी बताउँछिन् ।

पेसाले शिक्षक रहेकी बुटवलकी इन्दिरा अर्यालको दैनिकी धेरै बालबालिकासँग बित्छ । अरूका सन्तानको भविष्य उज्यालो बनाउन लागिपरेकी इन्दिरालाई यो विशेष दिनले भने मन भारी बनाइदिन्छ ।

सानै उमेरमा आमा गुमाएकी उनलाई आफूले कमाउने हुँदा आमालाई केही खुवाउन वा खुसी पार्न नपाएकोमा गहिरो पछुतो छ ।

“आमाको महत्त्व संसारमा सबैभन्दा माथि छ,“ उनी भावुक हुँदै भन्छिन्, “आज आमा नहुँदा मन अमिलो हुन्छ, तर म अरूमा आमाको भाव खोज्ने प्रयास गर्छु र हरेक दिन उहाँकै स्मरणबाट दिनको सुरुवात गर्छु ।” उनी भन्छिन्, “आमाले मेरा लागि धेरै गर्नुभयो, तर मैले कमाउँदा उहाँका लागि केही गर्न पाइएन ।” त्यो अपूरो भावनाले उनलाई अझै पनि पोलिरहन्छ । यद्यपि, उनी आफूले दिने माया र ममतामार्फत अरू बालबालिकामा ‘आमा’ को भाव जीवित राख्ने प्रयास गरिरहेकी छन् ।

व्यवसायी जमिल खानको बुझाइमा आमाको विकल्प संसारमा केही हुन सक्दैन । आमाले आफ्ना सारा खुसीहरू सन्तानका लागि लुटाएर उसलाई सुखी बनाउन हरपल प्रयास गर्ने उनी बताउँछन् । खान भन्छन्, “पर्वको बहानामा भए पनि आमा र सन्तानलाई जोड्ने यो परम्परा अत्यन्तै सुन्दर छ ।

टाढा रहेका सन्तानले पनि यो दिनलाई विशेष मानेर आमालाई सम्झनु र भेट्नु आफैँमा महत्वपूर्ण छ ।” उनका अनुसार, विभिन्न कारणले आमाबाट टाढा रहेका सन्तानका लागि माता तीर्थ औँसी एउटा यस्तो अवसर हो, जसले भेट, सम्झना र सम्बन्धलाई पुनः जोड्ने काम गर्छ ।

त्यस्तै, चर्चित गायिका शिलु भट्टराईका लागि आमाका प्रत्येक वचन भगवान्को वाणी समान लाग्छन् । उनी जहाँ पुगे पनि यो दिन आमालाई भेट्न र आशीर्वाद लिन पुग्छिन् । “हरेक काम गर्नुअघि आमाको सम्झना गर्नाले ममा जिम्मेवारीबोध र सफलताको ऊर्जा थपिन्छ,” उनी भन्छिन् । उनका लागि आमाको आशीर्वाद नै सफलताको आधार हो ।

व्यस्तताबिच पनि माता तीर्थ औँसीका दिन आमासँग भेट्न पुग्ने उनी बताउँछिन्, “आमालाई सम्झन कुनै तिथि आवश्यक हुँदैन, तर यो दिन विशेष रूपमा भावनासँग जोडिएको छ ।”

औषधी व्यवसायी दिनेश श्रेष्ठले भने पछिल्लो समय यो पर्व देखावटी बन्दै गएकोमा चिन्ता व्यक्त गर्छन् । एकातिर सामाजिक सञ्जालमा आमासँगका तस्बिर राखेर श्रद्धाभाव प्रदर्शन गर्ने होडबाजी छ भने अर्कोतिर वृद्धाश्रममा रहेका आमाहरू आफ्नै सन्तानको मायाका लागि तड्पिरहेका छन् ।

श्रेष्ठ भन्छन्, “आमालाई साँच्चै मनबाट माया गरौँ, प्रदर्शनमा मात्र होइन । वृद्धाश्रममा सन्तानको बाटो कुरिरहेका आमाहरूको दृश्यले हाम्रो संस्कारमाथि प्रश्न उठाइरहेको छ ।”

माता तीर्थ औँसीको धार्मिक र सांस्कृतिक महत्त्व पनि उत्तिकै गहिरो छ । पौराणिक कथाअनुसार, पहिले माता तीर्थ क्षेत्रमा गोठालाहरूले गाईवस्तु चराउने मैदान थियो ।

एक पटक वैशाख कृष्णपक्षको औँसीका दिन एक गोठालाले फालेको रोटीको टुक्रा अचानक हरायो । अचम्मको कुरा, जसका आमा थिएनन्, उनीहरूले फालेका टुक्राहरू मात्र हराउँथे भने आमा हुने गोठालाको रोटी सुरक्षित रहन्थ्यो ।

यस घटनाबाट मानिसहरूमा यो विश्वास जाग्यो कि मृत आमाहरूले यस दिन आफ्ना सन्तानले दिएका चिजहरू ग्रहण गर्छन् । सोही समयदेखि मृत आमाको सम्झनामा त्यहाँ कुण्ड निर्माण गरियो र ‘माता तीर्थ’ नामले प्रचलनमा आयो । आज पनि आमा नहुनेहरू उक्त कुण्डमा नुहाउने, तर्पण दिने र दान गर्ने गर्दछन् । त्यहाँ ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरिएको छ, जसले सबैका लागि आमाको ममताको प्रतिनिधित्व गर्छ ।

आमा हुनेहरूका लागि यो दिन आशिष थाप्ने र कृतज्ञता प्रकट गर्ने अवसर हो भने आमा नहुनेहरूका लागि श्रद्धा र तर्पणको दिन हो । आमाको ममतालाई कुनै तिथि वा मितिमा मात्र सीमित गर्न त सकिँदैन, तर माता तीर्थ औँसीले व्यस्त आधुनिक जीवनमा एक पटक पछाडि फर्केर जननीलाई सम्मान गर्ने अवसर भने पक्कै दिन्छ ।

आमालाई सामाजिक सञ्जालमा मात्र होइन, मनको मन्दिरमा सजाएर राख्नु नै यो पर्वको वास्तविक सार्थकता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?