Butwal Today

धुर्कोटमा अत्याधुनिक प्रशासनिक भवन निर्माण

११ मंसिर २०८३, शुक्रबार
अ
अ+
अ-

गुल्मी ।

गुल्मीको धुर्कोट गाउँपालिकामा अत्याधुनिक सुविधा सम्पन्न नयाँ प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । संघीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको उक्त भवनबाट अब नागरिकलाई सहज, छरितो र प्रभावकारी सेवा प्रवाह गरिने भएको छ । धुर्कोट गाउँपालिका–४, स्थित बर्बोटमा निर्माण गरिएको उक्त तीन तले भवन सात करोड २३ लाख रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । सुनिल–समिर–प्राकृतिक–श्रेष्ठ जेभीले निर्माणको जिम्मा लिएको उक्त भवन निर्माण कार्य सम्झौता भएको पाँच वर्षपछि मात्र सम्पन्न भएको हो ।
जिल्लाको पश्चिमी क्षेत्रमा रहेको धुर्कोट गाउँपालिकाले यसअघि साँघुरा कोठा र सीमित भौतिक संरचनाबाट प्रशासनिक सेवा सञ्चालन गर्दै आएको थियो । नयाँ भवन निर्माण भएसँगै गाउँपालिकाका सबै शाखा तथा इकाइलाई व्यवस्थित गर्दै एकै स्थानबाट नागरिकलाई सेवा प्रवाह गर्न सहज हुने गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले बताए । “नयाँ प्रशासनिक भवन निर्माण हुनु धुर्कोटवासीका लागि महत्वपूर्ण उपलब्धि हो, यसलाई अझै नागरिकमैत्री बनाउँदै प्रशासनिक सेवालाई थप प्रभावकारी,पारदर्शी र जनउत्तरदायी बनाउने हाम्रो योजना छ”, गाउँपालिका अध्यक्ष पोखरेलले भने ।तीन तलाको उक्त भवनमा बैठक कक्ष, सभाहल सहित २८ वटा कोठा रहेका छन् । कार्यालयका विभिन्न शाखा तथा इकाइ सञ्चालनका लागि पर्याप्त कोठाको व्यवस्था गरिएको छ । भवनमा लिफ्ट, क्यान्टिन, पार्किङ लगायतका सुविधा समेत उपलब्ध छन् । अपाङ्गता भएका व्यक्तिहरूले सहज रूपमा कार्यालयका विभिन्न कक्षमा पुगेर सेवा लिन सक्ने गरी भवनलाई अपाङ्मैत्री बनाइएको छ ।
निर्माण व्यवसायी नारायणप्रसाद पोखरेलका अनुसार भवनमा प्रशासनिक कामकाजका लागि आवश्यक पूर्वाधार तथा सुविधा समेटिएका छन् । आकर्षक डिजाइनमा निर्माण गरिएको भवन गाउँपालिकाको मुख्य केन्द्र बर्बोटमा रहेको छ ।
गाउँपालिका उपाध्यक्ष सीता गिरीले नयाँ भवन निर्माणले नागरिकलाई सेवा लिन सहज हुनुका साथै कर्मचारीलाई पनि व्यवस्थित वातावरणमा काम गर्न सहयोग पुग्ने बताएकी छन् । भवन निर्माण सम्पन्न भई गृहप्रवेश समेत भइसकेको छ । भवनको केही बाहिरी संरचनाको काम बाँकी रहेकाले ती काम पूरा गरी चाँडै नयाँ भवनबाट नियमित सेवा प्रवाह सुरु गरिने प्रमुख प्रशाकीय अधिकृत रुद्र बहादुर पछाईले जानकारी दिए । नयाँ प्रशासनिक भवनको मुख्य प्रवेशद्वार अगाडि पानीको फोहोरा र सुन्तलाको फलको आकृतिमा स्तम्भ निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?