© 2026
रोल्पा ।
रोल्पाको लिवाङ बजारमा जुत्ता सिलाउने काम गर्दै आएका राकेश बस्याल खेल मार्फत जीवनलाई परिर्वतनको बाटोमा अगाडि बढेका छन् । आर्थिक अभावका बीच खेल यात्रालाई अगाडि बढाएक बस्याल कराते खेलका खेलाडी हुन् ।
२१ वर्षीय राकेश बस्यालले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशस्तरीय कराते छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ७५ केजी तौल समूहमा प्रथम स्थान हासिल गरेका हुन् । उनले छनोट प्रतियोगितामा पहिलो स्थान प्राप्त गरेपछि राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर आएको हो । आगामी मंसिर १६ गते हुने प्रतियोगितामा उनी कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा देखिने छन् ।
सानै उमेरमा बुवाको मृत्यु त्यस पछिको आर्थिक संघर्षले खारिएका राकेशलाई यहाँ सम्म आईपुग्न आमाको ठुलो योगदान छ । रोजगारी र व्यवसायको खोजीमा दाङबाट रोल्पाको लिवाङ आइपुगेको बस्याल परिवारले यहाँ जुत्ता सिलाउने कामलाई जीविकोपार्जनको माध्यम बनाएको थियो । दिनभर जुत्ता सिलाउने, मर्मत गर्ने र चप्पल सम्बन्धी काम गरेर परिवारको खर्च जुटाउनु उनीहरूको दैनिकी बनेको हो । जलजला बहुमुखी क्याम्पसमा पहिलो सेमेस्टरमा अध्ययनरत राकेशलाई खेलसगै अध्यन्न अगाडी बढाउने चुनौती छ ।
सानै उमेरदेखि करातेप्रति रुचि राख्ने राकेशले आफ्नो खेल यात्रालाई परिवारको आर्थिक अवस्थाका कारण सहज रूपमा अघि बढाउन सकेनन् आर्थिक अभावले प्रशिक्षण, प्रतियोगिता र आवश्यक सामग्री जुटाउन समस्या भए पनि उनले निरन्तर मेहनत गर्दै आफ्नो क्षमता निखार्ने प्रयास गरिरहेका छन् ।
प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन रोल्पाबाट खेल प्रदर्शन गरे पनि नागरिकता दाङबाट बनेका कारण उनले प्रतियोगिताका लागि आवश्यक यातायात खर्च तथा अन्य सहयोग प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । अन्य खेलाडीले आवतजावत खर्च पाए पनि आफूले कुनै आर्थिक सहयोग नपाउँदा प्रतियोगितामा सहभागी हुन पाँच हजार रूपैयाँभन्दा बढी खर्च भएको उनले बताएका छन् । सामान्य आर्थिक अवस्थाको परिवारका लागि उक्त रकम ठूलो भार बनेको छ । खेलप्रति रुचि र राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने चाहना भएकै कारण उनले आफ्नै खर्च जुटाएर प्रतियोगितामा सहभागिता जनाएका हुन् ।
रोल्पाबाट कराते खेलमा राष्ट्रिय स्तरसम्म पुग्ने अवसर पाउनु आफनो लागि ठूलो उपलब्धि भएके बताए । उनले प्रतियोगितामा सफलता हासिल गरेपछि जिल्लाको नाम उजागर गर्ने र खेलकुद क्षेत्रमा नयाँ सम्भावना देखाउने आशा गरेका छन् । राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आगामी दिनमा अझ ठूलो अवसर प्राप्त गर्ने लक्ष्य उनको छ ।
छनोट प्रतियोगितामा राकेशसँगै रोल्पाका अन्य खेलाडी हिमाल सुनार, २० वर्ष, रितु रानामगर, १६ वर्ष, तथा रितु पुनमगर, १८ वर्ष, पनि सहभागी भएका थिए । युवा खेलाडीहरूको सहभागिताले रोल्पामा कराते खेलप्रतिको आकर्षण र सम्भावना बढ्दै गएको देखाएको छ ।