© 2026
बांणगगा ।
कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको १७औँ कपिलवस्तु महोत्सवको तयारी भइरहेको छ । मंसिर १७ गतेदेखि २९ गतेसम्म बुद्ध रंगशालामा हुने महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन, व्यापार व्यवसायको विस्तार तथा जिल्लाको पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । महोत्सवलाई विगतका संस्करणभन्दा भव्य, व्यवस्थित र दर्शकमैत्री बनाउने लक्ष्यसहित आयोजकले भौतिक संरचना निर्माण, स्टल व्यवस्थापन, सांस्कृतिक कार्यक्रम तथा विभिन्न आकर्षणका कामलाई तीव्रता दिएको छ ।
कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्रीले यसपटकको महोत्सव विगतका संस्करण भन्दा उत्कृष्ट हुने दाबी गरेका छन् । उनले दर्शकको सहजता र सुविधालाई विशेष प्राथमिकता दिँदै महोत्सवको मैदान करिब ४० प्रतिशत विस्तार गरेर काम भइरहेको जानकारी दिए । मैदान विस्तारले दर्शकको आवागमन, कार्यक्रम अवलोकन तथा महोत्सवको समग्र व्यवस्थापनमा सहजता पुग्ने आयोजकको विश्वास छ । महोत्सवका निर्देशक तथा कपिलवस्तु उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेलका अनुसार २८ वटा उपसमितिमार्फत हालसम्म करिब ५५ प्रतिशत तयारीका काम सम्पन्न भइसकेका छन् । अहिले महोत्सव स्थलमा देखिने गरी स्टल निर्माण, प्रवेशद्वार, मुख्य मञ्च, बालउद्यान तथा सौन्दर्यीकरणका काम तीव्र गतिमा भइरहेका छन् । महोत्सवलाई मनोरञ्जनात्मक र आकर्षक बनाउन सांस्कृतिक कार्यक्रम तथा प्रतियोगितालाई पनि प्राथमिकता दिइएको छ । १५औँ कपिलवस्तु डान्स आइडलसँगै दोस्रो कपिलवस्तु मम्मी आइडलका अडिसनहरू चरणबद्ध रूपमा सञ्चालन भइरहेका छन् । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने भएकाले दर्शकले मनोरञ्जनका साथै सांस्कृतिक विविधताको अनुभव गर्न पाउने आयोजकले जनाएको छ । यसपटक महोत्सवको प्रवेशद्वारलाई विशेष आकर्षणका रूपमा निर्माण गरिँदै छ । करिब ३५ फिटभन्दा अग्लो स्तुपाको आकारमा बन्ने प्रवेशद्वारमा दर्शकले चढेर अवलोकन गर्न र ओर्लन सक्ने व्यवस्था मिलाइनेछ । यसले महोत्सव स्थललाई आकर्षक बनाउनुका साथै दर्शकका लागि फोटो तथा भिडियो खिच्ने नयाँ गन्तव्यसमेत बन्ने अपेक्षा गरिएको छ ।महोत्सवमा करिब ४ सय वटा स्टल रहनेछन् । तीमध्ये २ सय वटा व्यावसायिक स्टलमार्फत विभिन्न वस्तु तथा सेवाको प्रदर्शनी र बिक्री वितरण गरिनेछ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले विशेष छुटसहित करिब ६० वटा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ । त्यस्तै, कृषि उत्पादनको प्रदर्शनी तथा बजारीकरणलाई प्रोत्साहन गर्न कृषकहरूका लागि निःशुल्क स्टलको व्यवस्था गरिनेछ । स्थानीय कृषक, उद्यमी तथा साना व्यवसायीलाई आफ्नो उत्पादन उपभोक्तासम्म पु¥याउने अवसर प्रदान गर्नु महोत्सवको महत्वपूर्ण उद्देश्य रहेको आयोजकको भनाइ छ ।