Butwal Today

स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समयमै हुनुपर्छ: ओली

१० मंसिर २०८३, बिहीबार
अ
अ+
अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन संविधानले तोकेको कार्यकालअनुसार निर्धारित समयमै हुनुपर्ने बताएका छन् ।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको सम्पादकसँगको छलफलमा ओलीले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संवैधानिक व्यवस्थाअनुसार नै हुनुपर्नेमा जोड दिए ।

उनले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन नियमित र निष्पक्ष हुनुपर्ने बताउँदै चुनावमा हारजितलाई स्वाभाविक रूपमा लिनुपर्ने धारणा राखे । निष्पक्ष निर्वाचन भएमा कुनै पनि दल वा उम्मेदवारको हारजित सामान्य प्रक्रिया भएको उनको भनाइ थियो ।

निर्वाचनलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्नुपर्ने उल्लेख गर्दै ओलीले जनताको अभिमतको सम्मान गर्नु नै लोकतन्त्रको मूल मर्म भएको बताए ।

उनले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिम साता र प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिरमा हुनुपर्ने धारणा राखे । संवैधानिक कार्यकाल र निर्वाचनको समयतालिका परिवर्तन गरेर प्रदेशसभा निर्वाचन अगाडि सार्न नहुने उनले बताए ।

ओलीले एमालेभित्र नीति र विचारमा एकरूपता रहेको दाबी गर्दै पार्टीमा रहेर बाहिर जथाभावी बोल्ने प्रवृत्ति अन्त्य गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?