Butwal Today

मायादेवीका १४८ सुकुम्बासी परिवारले १३ वर्षपछि पाए जग्गाधनी प्रमाणपुर्जा

१० मंसिर २०८३, बिहीबार
अ
अ+
अ-

रूपन्देही ।

मायादेवी गाउँपालिका–७ का १४८ सुकुम्बासी परिवारले १३ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् ।

साविक हाटीबगाई गाविस–६ मा बसोबास गर्दै आएका उनीहरूको जग्गा नापजाँच विसं २०७० मै सम्पन्न भएको थियो । नापजाँच र नक्साङ्कनको काम सकिए पनि कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा उनीहरूले लामो समयसम्म जग्गाधनी प्रमाणपुर्जा पाउन सकेका थिएनन् ।

लामो समयदेखि रोकिएको प्रक्रिया पूरा भएपछि गाउँपालिकाले १४८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले लाभग्राही परिवारलाई प्रमाणपुर्जा हस्तान्तरण गरेका हुन् । जिल्ला नापी कार्यालय रूपन्देहीका अनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेर सम्बन्धित परिवारलाई प्रमाणपुर्जा उपलब्ध गराइएको हो ।

प्रमाणपुर्जा पाएसँगै ती परिवारको जग्गामाथिको कानुनी स्वामित्व स्थापित भएको छ । यसबाट जग्गाको स्वामित्वसम्बन्धी पहिचान सुनिश्चित हुनुका साथै सम्पत्तिको सुरक्षा र उपयोग गर्न सहज हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?