Butwal Today

महिलाहरुको संघर्षले जन्मिएको सहकारीः आज

सयौं सदस्यहरुको सहारा वन्यो
१० मंसिर २०८३, बिहीबार
अ
अ+
अ-

बाणगंगा।
महिलाहरु मिलेर सुरु गरेको एउटा सानो प्रयास आज कपिलवस्तुको बाणगंगामा एक सफल सहकारीको उदाहरण बनेको छ । ‘महिलाले के गर्न सक्छन र ?’ भन्ने प्रश्न र चुनौतीबीच अघि बढेको बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाले अहिले दुध संकलन, प्रशोधन, बचत तथा ऋण र कृषि उद्यममार्फत धेरै महिलालाई आत्मनिर्भर बन्ने बाटो देखाएको छ ।
बाणगंगा नगरपालिका–५ कोपवामा रहेको सहकारी २०७१ चैत ९ गते स्थापना भएको हो । सहकारी सञ्चालन हुनुअघि उक्त स्थानमा तल्लो भवनमा तरकारी सङ्कलन केन्द्र थियो । अहिले सोही स्थानमा दुई तल्ले भवन रहेको छ । सहकारीकी अध्यक्ष नर्मदा बोहराका अनुसार सहकारी स्थापना हुनुअघि नजिकै केही पुरुषले व्यक्तिगत रूपमा डेरी सञ्चालन गरेका थिए । तर, त्यो सफल हुन सकेन । त्यसपछि केही महिला एकजुट भएर सहकारी सञ्चालन गर्दै दुध संकलन सुरु गरे । अध्यक्ष बोहराले भनिन– ‘सुरुमा केही पुरुषले महिलाले कसरी गर्न सक्छन् र, हामीले त गर्न सकेनौँ भन्ने प्रश्न उठाए तर, हामीले निरन्तर मेहनत ग¥यौँ र सफल हुन सक्यौँ, आज बाणगंगामा एउटा उदाहरणीय सहकारी बन्न सफल भएका छौँ ।
सहकारी सुरु हुँदा एकजना कर्मचारी र २७ जना महिला सेयर सदस्य थिए । २०७३ सालसम्म बचत संकलन र ऋण लगानीमा केन्द्रित सहकारीले २०७४ सालदेखि डेरी सञ्चालनमा ल्यायो । सुरुमा दैनिक ५ सय लिटर दुध संकलन गर्ने लक्ष्य राखिएको थियो तर प्रारम्भमा १ सय ८५ लिटर मात्रै दुध संकलन भयो । अपेक्षाभन्दा कम दूध संकलन भएपछि सहकारीले घरदैलो अभियानमार्फत कृषकसँग समन्वय ग¥यो । त्यसपछि दुध संकलन बढ्दै कोभिड–१९ अघि दैनिक २ हजार २ सय लिटरसम्म पुगेको अध्यक्ष बोहरा बताउँछिन् । २०७४ सालदेखि दुधबाट कुल्फी, दही, पनिर, खुवा, कुरौनी, चिया र कफी लगायत परिकार बनाउन थालियो । दुध संकलन गरेर बिक्री गर्दा बराबर मात्रै हुने अवस्था रहेपनि दुग्धजन्य परिकार उत्पादन गर्न थालेपछि मुनाफा बढ्दै गएको उनको अनुभव छ । अहिले घिउ, मही र नौनीसमेत उत्पादन तथा बिक्री हुँदै आएको छ । कोभिड–१९ का समयमा बिक्री नभएपछि सहकारीले ठूलो क्षति व्यहोर्नुप¥यो । दुई चिलिङ भ्याट भरिएपछि करिब १ हजार लिटर दुध बिक्री हुन नसकेर खोलामा फाल्नुपरेको अध्यक्ष बोहरा सम्झिन्छिन् । त्यस समयमा साना किसानलाई समेत दुध नल्याउन आग्रह गर्नुपरेको थियो । तर, कठिन परिस्थितिमा पनि डेरी बन्द नगरी सहकारीले आफ्नो सेवा निरन्तर दियो । हाल सहकारीमा १ हजार ४ सय ५१ सेयर सदस्य र ८२ समूह आबद्ध छन् । सहकारीले बिना धितो १ लाख ५० हजार रुपैयाँसम्म र धितो राखेर १२ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउँदै आएको छ । सदस्यलाई दाना तथा चापट सुपथ मूल्यमा उपलब्ध गराउनुका साथै एक फोनकै भरमा घरमै पु¥याउने व्यवस्था गरिएको छ ।
सहकारीबाट ऋण लिएर कृषकहरू तरकारी खेती, गाईभैँसी, बाख्रा तथा कुखुरापालनमा संलग्न हुँदै आएका छन् । सहकारीकै आठ जना सेयर सदस्य अहिले व्यवसायी तथा उद्यमी बनेका छन् । कृषक सिप कला बेल्बासे, तुलसी थापा र भोजराज भुसालले सहकारीबाट ऋण लिएर व्यवसाय सुरु गरेका हुन् । उनीहरूले सहकारीबाट ऋणसँगै सीप र व्यवसाय सञ्चालन सम्बन्धी ज्ञान प्राप्त गरेको बताउँछन् ।
संकलित दुध बुटवल, डिडिसी, ग्लोबल डेरी, जितपुर चारनम्बर, बनगाई र तौलिहवासम्म पुग्ने गरेको छ । सहकारीले उत्पादन गरेका दुग्धजन्य परिकार बुटवल, पाल्पा र काठमाडौंसम्म बिक्री हुने गरेका छन् । यसका अतिरिक्त चाडपर्वमा जिउँदो तौल प्रणालीमार्फत खसी, बोका तथा बिउ पाठीको खरिद बिक्री, घाँसको बीउ वितरण हुँदै आएको छ । २७ जना महिला सेयर सदस्यबाट सुरु भएको बिहानी सहकारी आज हजारौँ सदस्यको भरोसा बनेको छ । महिलाको एकता, मेहनत र आत्मविश्वासले सम्भावनालाई सफलतामा बदल्न सकिन्छ भन्ने उदाहरण बिहानी सहकारीले प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?