© 2026
भैरहवा ।
रुपन्देहीमा पहिलोपटक आयोजना गरिएको एकेडेमी क्रिकेट लिग बिहीबारदेखि सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ रंगशालामा सुरु प्रतियोगिताको उदघाटन खेलमा स्टार क्रिकेट एकेडेमीले नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमीलाई १२ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा सेतो ड्रेस र रातो बल प्रयोग गरिएको छ । टेस्ट तथा एकदिवसीय क्रिकेटका लागि आवश्यक खेलाडी तयार पार्ने लक्ष्यसहित आयोजना गरिएको लिगमा जिल्लाका आठ क्रिकेट एकेडेमी सहभागी छन् ।
टस हारेर पहिले ब्याटिङ गरेको स्टारले निर्धारित ३० ओभरमा सबै विकेट गुमाउँदै १५९ रन बनाएको थियो । उसका लागि अमित यादवले सर्वाधिक ४३, समिरजंग ठकुरीले ३९, आशिष यादवले १६ र सहन अलीले १२ रनको योगदान दिए ।
नेपथ्यका रुद्रान्स भट्टराईले तीन तथा अशोक भण्डारीले दुई विकेट लिए । स्वीकार न्यौपाने, प्रेमसागर यादव र अनुकुल खनालले एक–एक विकेट हात पारे ।
१६० रनको लक्ष्य पछ्याएको नेपथ्य तिलोत्तमा २९ ओभरमा १४७ रनमै समेटियो । उसका प्रेमसागर यादवले २९, सुशान्त सुवेदीले २०, अनुज अर्यालले १८, रुद्रान्स भट्टराईले १४ तथा स्वीकार न्यौपाने र दर्शन क्षेत्रीले समान १२ रन बनाए ।
स्टारका बलर प्रेम गुप्ताले चार विकेट लिएपछि नेपथ्यको जित सम्भव भएन । सुमन विष्ट र सहन अलीले पनि समान तीन–तीन विकेट लिए । चार विकेटसहित टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका स्टारका प्रेम गुप्ता प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिताको उदघाटन गर्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, चेम्बर अफ कमर्स रुपन्देहीका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, सचिव उदयकुमार मल्लिक र खेल संयोजक भुवन पाण्डेले तल्लो तहबाटै क्रिकेटको विकास गर्न यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताए ।
उनीहरुले एकेडेमीस्तरमा नियमित प्रतिस्पर्धा गराउँदा नयाँ प्रतिभाको पहिचान हुनुका साथै राष्ट्रियस्तरका खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
मंसिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देहीका आठवटा क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्दैछन् ।