© 2026
सल्यान ।
सल्यानको कालीमाटी गाउँपालिका, ७ मा विद्युत् विस्तारको विषयलाई लिएर जनप्रतिनिधि र नेपाल विद्युत् प्राधिकरणबीच विवाद चर्किएको छ । विद्युत् विस्तारको माग गर्दै वडाध्यक्ष मित्रलाल रिजाल सहित करिब १५÷२० जना स्थानीय बिहीबार बिहान ११ बजेदेखि नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रको कार्यालयमा धर्नामा बसेका छन् । उनीहरूले माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने र कार्यालयको सेवा प्रवाह समेत सञ्चालन हुन नदिने बताएका छन् ।
पुरानो ट्रान्सफर्मर अन्यत्र लैजाने क्रममा वडाध्यक्षले रोकेको र उक्त ट्रान्सफर्मर फिर्ता नभएसम्म थप काम अघि नबढाउने प्राधिकरणको अडानपछि विवाद धर्नासम्म पुगेको हो ।
वडा नं ७ को घुइँयाबारीका केही बस्तीमा विद्युत् पुगे पनि बाँकी बस्ती अझै अन्धकारमा रहेको भन्दै स्थानीयले लामो समयदेखि विस्तारको माग गर्दै आएका छन् । विवादको पछिल्लो कारण भने घुइँयाबारीमा क्षमता वृद्धि गरी नयाँ ट्रान्सफर्मर जडान गरेपछि निकालिएको पुरानो २५ केभीए क्षमताको ट्रान्सफर्मर बनेको छ ।
वडाध्यक्ष रिजालका अनुसार घुइँयाबारीमा विद्युत् सेवा विस्तारका क्रममा कम क्षमताको ट्रान्सफर्मरले पर्याप्त सेवा दिन नसकेपछि प्रदेश सरकारबाट १०० केभीए क्षमताको ट्रान्सफर्मर ल्याएर जडान गरिएको थियो । त्यसपछि निकालिएको पुरानो २५ केभीए क्षमताको ट्रान्सफर्मर वडाकै र्याङ बस्तीमा जडान गर्ने योजना रहेको उनले बताए ।
‘२५ केभीए क्षमताको ट्रान्सफर्मर पहिले नै थियो । हामीले प्रदेशबाट १०० केभीएको ट्रान्सफर्मर ल्याएर घुइँयाबारीमा जडान गरेपछि पुरानो ट्रान्सफर्मर र्याङमा राख्न खोजेका हौँ । त्यो ट्रान्सफर्मर सुरक्षित रूपमा राखिएको छ,’ रिजालले भने ।
उनका अनुसार विद्युत् प्राधिकरणका वितरण केन्द्र प्रमुखले आफ्नो कार्यकाल रहुन्जेल थप विद्युत् विस्तारको काम नहुने अभिव्यक्ति दिएका छन् । उक्त अभिव्यक्ति फिर्ता लिएर बाँकी बस्तीमा विद्युत् विस्तारको काम अघि बढाउनुपर्ने आफूहरूको माग रहेको उनले बताए । ‘जफत गरिएको हो भने यतिका दिनसम्म किन कारबाही गरिएन ? माग पूरा नभएसम्म धर्ना निरन्तर जारी रहन्छ,’ उनले भने ।
तर नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले भने ट्रान्सफर्मर विवादका कारण काम प्रभावित भएको बताएका छन् । उनका अनुसार घुइँयाबारीमा सुरुमा २५ केभीए क्षमताको ट्रान्सफर्मर जडान गरी विद्युत् सेवा सञ्चालन गरिएको थियो । ग्राहकको संख्या बढ्दै जाँदा न्यून भोल्टेजको समस्या देखिएपछि स्थानीयकै माग अनुसार १०० केभीए क्षमताको ट्रान्सफर्मर जडान गरिएको हो ।
रावलका अनुसार पुरानो २५ केभीए क्षमताको ट्रान्सफर्मर कार्यालयमा फिर्ता ल्याउने क्रममा वडाध्यक्ष रिजाल नेतृत्वको समूहले कर्मचारीलाई दबाब दिँदै गाडीबाट झारेर रोकेको थियो । उक्त ट्रान्सफर्मर फिर्ता नभएसम्म घुइँयाबारीमा अन्य काम अघि बढाउन नसकिने उनको भनाइ छ ।
‘जबरजस्ती ट्रान्सफर्मर राखेकाले विवाद भएको हो । पहिलो कुरा, प्राधिकरणले ठेक्का गरिसकेपछि त्यहाँ एआईआईबी परियोजना मार्फत काम हुने हो र ट्रान्सफर्मर पनि त्यही परियोजनाले राख्ने हो । आवश्यक परे समन्वय गरेर हामी पनि काम गर्छौं,’ रावलले अघि भने, ‘निर्माणाधीन अवस्थामा लाइन विस्तारको काम भइरहेका बेला बलजफ्ती ट्रान्सफर्मर राखेपछि चर्काचर्की भएको हो । जफत गरिएको ट्रान्सफर्मर फिर्ता गरेमा काम अगाडि बढाउन कुनै समस्या छैन ।’
उनका अनुसार एआईआईबी को लगानि मार्फत कालीमाटी गाउँपालिकालाई पूर्ण विद्युतीकरण गर्ने योजना छ । सोही योजनाअन्तर्गत घुइँयाबारीदेखि याङसम्म उच्च क्षमताको लाइन विस्तारको काम भइरहेको छ भने र्याङमा पोल निर्माण गरी ट्रान्सफर्मर जडान गर्ने योजना पनि आयोजनाकै रहेको छ । त्यसैले उक्त क्षेत्रमा थप विद्युत् विस्तारका लागि वितरण केन्द्रको छुट्टै लगानी आवश्यक नरहेको उनले बताए ।
रावलले कार्यालयमा अतिरिक्त ट्रान्सफर्मर मौज्दात नरहेको र जिल्लाका विभिन्न स्थानमा ट्रान्सफर्मर जलेर विद्युत् सेवा अवरुद्ध भएका बेला पुरानो ट्रान्सफर्मर अन्यत्र प्रयोग गर्न आवश्यक रहेको बताए । कार्यालयले जिल्लाभर ३९६ वटा ट्रान्सफर्मर मार्फत विद्युत् सेवा प्रवाह गरिरहेको र अतिरिक्त ट्रान्सफर्मर नभएको उनको भनाइ छ ।
उनले ट्रान्सफर्मर एउटा बस्तीबाट अर्को बस्तीमा लैजाने क्रममा यसरी अवरोध हुन थाले अन्य स्थानमा पनि समस्या उत्पन्न हुने बताए । विवादका कारण कर्मचारीलाई पुनः घुइँयाबारी क्षेत्रमा पठाएर काम गराउने अवस्था नरहेको समेत उनले उल्लेख गरे ।
यस विषयमा वितरण केन्द्रले जिल्ला प्रशासन कार्यालय सल्यानलाई पत्र लेख्दै जफत गरिएको ट्रान्सफर्मर फिर्ता ल्याउन सहयोग र समन्वय गरिदिन आग्रह गरेको छ । प्रशासनलाई पठाइएको पत्रमा २०८३ कात्तिक २१ गते ट्रान्सफर्मर फिर्ता ल्याउने क्रममा वडाध्यक्ष रिजाल नेतृत्वको समूहले कर्मचारीलाई दबाब दिँदै गाडीबाट ट्रान्सफर्मर झारेर नियन्त्रणमा लिएको उल्लेख छ ।
पत्रमा कार्यालय प्रमुखलाई गाली गरिएको, कर्मचारीको मनोबल गिराउने गतिविधि भएको र त्यसले कार्यालयको सेवा प्रवाह तथा विद्युतीकरणको काम प्रभावित भएको दाबी गरिएको छ ।
वितरण केन्द्रले घुइँयाबारीलाई प्राथमिकतामा राखेर काम गर्दै आएको जनाउँदै २०८३ असार २० गतेदेखि पहिलोपटक उक्त क्षेत्रमा विद्युत् पहुँच पु¥याइएको र साउन २२ गतेदेखि समुदायस्तरमै कर्मचारी व्यवस्थापन गरी मिटर वितरण सेवा सुरु गरिएको पत्रमा उल्लेख गरेको छ ।
यता, वडाध्यक्ष रिजालले भने प्राधिकरणले अन्य बस्तीमा विद्युत् विस्तारको काम सम्पन्न गरिसकेको अवस्थामा र्याङमा विद्युत् पु¥याउन पुरानो ट्रान्सफर्मर राखिएको बताएका छन् । प्राधिकरणले आवश्यक प्रक्रिया पूरा गरी उक्त बस्तीमा पनि छिट्टै विद्युत् सेवा विस्तार गर्नुपर्ने उनको माग छ ।
दुवै पक्षले विद्युत् विस्तारको काम अघि बढाउनुपर्ने आवश्यकता स्वीकार गरे पनि पुरानो ट्रान्सफर्मरको व्यवस्थापन र त्यसको प्रयोगको विषयमा सहमति हुन नसक्दा विवाद थप चर्किएको हो ।