© 2026
पाल्पा ।
कुनै समय पाल्पाका गाउँबस्तीमा बाँसका चोयाबाट डोको, सुपो, मान्द्रो र भकारी बनाउने कालीगढलाई भ्याइनभ्याइ हुन्थ्यो । घरमै बसेर बाँसका सामग्री निर्माण गर्ने र गाउँदेखि बजारसम्म बिक्री गरेर जीविकोपार्जन गर्ने उनीहरू अहिले भने बजारको अभावमा पेसाबाटै विस्थापित हुन थालेका छन् । प्रविधिको विकास, जीवनशैलीमा आएको परिवर्तन र प्लास्टिकजन्य सामग्रीको बढ्दो प्रयोगले परम्परागत सीपमा आधारित पेसा सङ्कटमा परेको छ ।
माथागढी गाउँपालिका–चिदीपानीस्थित चन्द्रवनका ६० वर्षीय धनबहादुर नेपाली कुनै समय बाँसका सामग्री निर्माण गरेर आफ्नै घरबाट बिक्री गर्ने गर्थे । बाँसको चोयाबाट विभिन्न सामग्री बनाउन सिपालु उनी दिनभर काममै व्यस्त हुन्थे । तर, पछिल्लो समय आफ्ना उत्पादनले बजार पाउन छाडेपछि उनको पेसा सङ्कटमा परेको छ । आम्दानीको स्रोत गुम्दा आर्थिक अवस्था कमजोर बनेको र दैनिक गुजारा चलाउनसमेत अरूको भर पर्नुपर्ने अवस्था आएको उनी बताउँछन् ।
नेपालीका अनुसार उनीजस्तै गाउँका २० जनाभन्दा बढी सीप भएका व्यक्ति अहिले बेरोजगार भएका छन् । कुनै समय बाँसका चोयाबाट डोको, सुपो, मान्द्रो र भकारीलगायतका सामग्री निर्माण गरी बिक्री गरेर जीविका चलाउनेको संख्या तीन सयभन्दा बढी थियो । तर, समयसँगै बजारमा प्लास्टिकबाट निर्मित सामग्री आउन थालेपछि परम्परागत सामग्रीको माग घट्दै गयो । कम मूल्यमा पाइने प्लास्टिकका सामग्रीसँग प्रतिस्पर्धा गर्न नसक्दा पुस्तौँदेखि सीप र पेसा जोगाउँदै आएका कालीगढ कामविहीन बन्न पुगेका हुन् ।
तानसेन बजारको तल्लो भागमा रहेको एउटा बस्तीमा गुल्मीबाट आएका परिवारको बसोबास थियो । बाँसका सामग्री निर्माण गर्ने उनीहरूको बस्ती नै यस पेसाका लागि परिचित थियो । आवश्यकताअनुसारको बाँस स्थानीय क्षेत्रमा नपाइएपछि स्याङ्जाको धनुबासे गाउँबाट बाँस ल्याएर चोया काढ्ने र त्यसबाट विभिन्न आकार तथा साइजका डोको, सुपो, धान राख्ने भकारी र सुकाउन प्रयोग गरिने मान्द्रो बनाउने गरिन्थ्यो । तर, आफ्ना उत्पादनले बजार पाउन छाडेपछि उनीहरू वैकल्पिक पेसातर्फ लाग्न बाध्य भए ।
बाँसका सामग्री निर्माणमा लामो समय बिताएका स्थानीय उद्यमी गोपाल चित्रे बजार गुम्नुको प्रमुख कारण प्लास्टिकजन्य सामग्रीको बढ्दो प्रयोग भएको बताउँछन् । उनका अनुसार पहिले गाउँमा पानीको निकै दुःख थियो । टाढाबाट डोकोमा पानी बोकेर ल्याउनुपथ्र्यो । चैत–वैशाखमा खेतबारीमा मल बोक्ने चलन थियो । त्यसैले प्रत्येक घरमा वर्षमा कम्तीमा दुई जोर डोको आवश्यक पथ्र्यो । डोको बनाउन लगाउन ग्राहक दिनभरि कालीगढको प्रतीक्षामा बस्ने अवस्था थियो ।
‘पहिले डोकोको माग धेरै थियो, अहिले प्लास्टिकका सामग्रीले बजार खाइदिए,’ चित्रे भन्छन्, ‘अहिले गाउँका घरघरमा धारा पुगेका छन् । मल बोक्ने काममा पनि डोकोको सट्टा ट्र्याक्टर प्रयोग हुन थालेको छ । त्यसैले डोकोको आवश्यकता नै घट्यो ।’
पहिले चोयाको भकारीमा धान राख्ने चलन रहे पनि अहिले धेरैले बोरामा धान राख्न थालेका छन् । यसले भकारीको मागसमेत घटाएको गोपालका छिमेकी बोमबहादुर चित्रे बताउँछन् । उनका अनुसार अहिले पनि केही पुराना ग्राहकले चोयाका सामग्री खोज्ने गरे पनि विगतको जस्तो माग र कारोबार छैन ।
तानसेन नगरपालिका–पिपलडाँडाका नन्दबहादुर चिदी पनि बाँसका सामग्री निर्माण गर्ने पेसा सङ्कटमा परेको बताउँछन् । निगालो बाँसको चोया काढेर गर्मीमा छहारीमा र जाडोमा घाम ताप्दै साथीभाइसँग कुराकानी गरेरै दिनमा तीनवटासम्म मध्यम आकारका डोको बुन्ने गरेको अनुभव उनीसँग छ । आफ्नै बाबुबाट चोयाको काम सिकेका चिदीले यही सीपलाई जीविकोपार्जनको माध्यम बनाएका थिए । तर, अहिले उत्पादनको बिक्री पहिलेको तुलनामा निकै कम भएको उनको अनुभव छ ।

बाँसका सामग्री निर्माण गर्ने स्थानीय कालीगढ मात्र होइन, बाहिरी जिल्लाबाट सामग्री बिक्री गर्न आउनेहरू पनि बजारको सीमिततासँग जुधिरहेका छन् । धादिङको नीलकण्ठ नगरपालिका निवासी ४६ वर्षीय रामबहादुर बुढामगर विगत चार वर्षदेखि वर्षभरि बुनेर राखेका बाँसका सामग्री बिक्री गर्न पाल्पा आउने गरेका छन् । उनीसहित १० जनाको समूह तानसेनदेखि माथागढी गाउँपालिकासम्म सामग्री बिक्रीका लागि आउने गरेको छ ।
तानसेन नगरपालिका, ग्रामीण क्षेत्रका बगनासकाली गाउँपालिकाका तीनवटा वडा र माथागढी गाउँपालिकाका दुईवटा वडाका बस्तीमा पुग्दा आफूहरूले ल्याएका सामग्री बिक्री हुने गरेको बुढामगर बताउँछन् । बाँसका सामग्री बिक्रीबाट हुने आम्दानीमै आफ्नो र परिवारको जीविकोपार्जन तथा भविष्य जोडिएको उनको भनाइ छ । स्थानीय कालीगढले पेसा छाड्दै गएको अवस्थामा बाहिरी जिल्लाबाट आउने यस्ता समूहले भने बाँकी रहेको बजारको खोजी गरिरहेका छन् ।
बाँसका सामग्रीमध्ये निगालोबाट बनाइएका भकारी बढी टिकाउ र बलिया हुने स्थानीयको अनुभव छ । अन्य बाँसको तुलनामा निगालोको चोयाबाट निर्माण गरिएका भकारी लामो समयसम्म प्रयोग गर्न सकिने भएकाले पहिले यसको माग बढी हुने गरेको बगनासकाली गाउँपालिकाका स्थानीय कपिल खनाल बताउँछन् । तर, टिकाउ र गुणस्तरीय हुँदाहुँदै पनि आधुनिक सामग्रीको प्रयोग बढेपछि परम्परागत उत्पादनको बजार खुम्चिएको उनको भनाइ छ ।
बाँसका सामग्री निर्माणको सीपलाई व्यावसायिक बनाउने प्रयास पनि नभएका होइनन् । घरेलु तथा साना उद्योग कार्यालयमार्फत स्थानीयलाई रोजगारको अवसर सिर्जना गर्ने र बाँसका सामग्रीको प्रयोग बढाउने उद्देश्यले तीन–तीन महिनाका तालिम सञ्चालन हुने गरेका थिए । त्यही तालिमबाट सीप सिकेर बाँसबाट कुर्सी र टेबुललगायतका सामग्री निर्माण गर्न थालेको रम्भा गाउँपालिका–ताहुका स्थानीय देवप्रसाद श्रेष्ठ बताउँछन् ।
उनका अनुसार सुरुका वर्षमा बाँसका सामग्री निर्माण गर्ने व्यवसाय राम्रोसँग फस्टाएको थियो । तर, पछिल्लो समय विदेशी तथा आयातित सामग्रीको प्रयोग बढ्दै जाँदा स्थानीय उत्पादनले बजार पाउन छाडे । आयातित सामग्रीको तुलनामा स्थानीय उत्पादन बलियो र टिकाउ भए पनि बजारको सुनिश्चितता नहुँदा सीप भएका व्यक्तिले समेत पेसालाई निरन्तरता दिन नसकेको श्रेष्ठ बताउँछन् ।
बाँसको चोयामा आधारित पेसा सङ्कुचित हुनुमा घर निर्माणको शैलीमा आएको परिवर्तनले पनि प्रभाव पारेको छ । दुई दशकअघिसम्म गाउँघरका अधिकांश घरगोठका छाना खरले छाउने गरिन्थ्यो । खरको छाना छाउन चोया आवश्यक पथ्र्यो । चोया काढेर बिक्री गर्ने र त्यसैबाट आम्दानी गर्नेहरूका लागि यो पनि राम्रो अवसर थियो । अहिले खरका छाना विस्थापित भएर टिन र ढलानका छाना प्रयोग हुन थालेपछि चोयाको माग पनि घटेको छ ।
निस्दी गाउँपालिका–झिरुवासका रामबहादुर पाटामगर विगतमा फुर्सदको समयमा चोया काढेर बिक्री गर्दा हुने आम्दानीले व्यक्तिगत खर्च चलाउने गरेको बताउँछन् । अहिले चोया काढेर बिक्री गर्ने अवसरसमेत घटेको उनको अनुभव छ । पहिले अतिरिक्त समयको सदुपयोग गर्दै आम्दानी गर्न सकिने यो काम अहिले बजारको अभावमा झन्झटिलो बन्दै गएको उनी बताउँछन् ।

स्थानीयस्तरमा उपलब्ध बाँसबाट निर्माण गर्न सकिने सामग्रीको उपयोग बढाउन सके परम्परागत सीपको संरक्षणसँगै रोजगारी सिर्जना गर्न सकिने जनप्रतिनिधिको भनाइ छ । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा बाँस बहुउपयोगी वस्तु भएकाले यसको उपयोग र प्रवद्र्धनका लागि नीतिगत व्यवस्था आवश्यक रहेको बताउँछन् ।
‘बाँसबाट निर्माण गरिएका सामग्रीको प्रयोग बढाउन सङ्घीय सरकारले नीतिगत निर्णय गर्नुपर्छ,’ थापा भन्छन्, ‘त्यसो हुन सके यस्ता सामग्रीले बजार पाउनेछन्, उद्यमीले अवसर पाउनेछन्, स्वदेशी उत्पादनले प्रोत्साहन पाउनेछ र युवाले स्थानीयस्तरमै रोजगारी पाउनेछन् ।’
स्थानीय कालीगढका अनुसार बाँसका सामग्रीको बजार विस्तार गर्न सके पुरानो सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सकिन्छ । अहिले प्लास्टिक र आयातित सामग्रीको सहज उपलब्धताले परम्परागत उत्पादनलाई विस्थापित गरिरहेको छ । तर, स्थानीय कच्चा पदार्थ, सीप र श्रममा आधारित उत्पादनलाई बजारसँग जोड्न सके ग्रामीण अर्थतन्त्रमा योगदान पुग्न सक्छ । अन्यथा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको चोया काढ्ने र बाँसका सामग्री बनाउने सीपसँगै त्यसमा आश्रित परिवारको रोजगारीसमेत हराउँदै जाने जोखिम बढेको छ ।