Butwal Today

शौचालयको फोहोरबाट जैविक मल

११ मंसिर २०८३, शुक्रबार
अ
अ+
अ-

बुटवल ।

शौचालयबाट निस्कने फोहोर र गाईवस्तुको गोबरलाई प्रशोधन गरेर कृषि उत्पादनमा उपयोग हुने जैविक मल बनाउन सकिन्छ भन्ने उदाहरण बुटवलमा देखिएको छ । सहरमा फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला बुटवल सेनिटरी प्रालिअन्तर्गत सञ्चालित नेपाल बायो कम्पोष्टले शौचालयजन्य फोहोरलाई आम्दानी र उत्पादनको स्रोतमा रूपान्तरण गर्दै आएको छ । कम्पनीले मासिक करिब १० टन जैविक मल उत्पादन गर्नुका साथै दैनिक ३२ हजार लिटर शौचालयजन्य फोहोरको व्यवस्थापन गरिरहेको छ ।
फोहोरलाई व्यवस्थापन गर्ने परम्परागत सोचभन्दा माथि उठेर त्यसलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने उद्देश्यसहित सुरु गरिएको यो उद्योगले सहरी सरसफाइ, वातावरण संरक्षण र जैविक कृषि प्रवद्र्धनलाई एकैसाथ जोडेको छ । शौचालयबाट निस्कने फोहोरलाई उचित प्रशोधन नगर्दा वातावरण र मानव स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्नुका साथै त्यसबाट कृषि प्रयोजनका लागि मल उत्पादन गर्ने काम उद्योगले गरिरहेको छ ।
कम्पनीले घरघरका शौचालयबाट संकलन गरेको फोहोरलाई गाईवस्तुको गोबरसँग मिसाएर प्रशोधन गर्ने गरेको छ । प्रशोधन प्रक्रियामा मेसिनको सहायताले फोहोरबाट डस्ट निकालिन्छ । त्यसमा वनमारा, धुलो, पिना, हड्डीको धुलो, निम तथा सुर्तीको धुलो र ब्याक्टेरियाको विकासमा सहयोग गर्ने इएम मिसाइन्छ । त्यसपछि तयार मिश्रणलाई करिब ४५ दिनसम्म कुहाउने प्रक्रिया अपनाइन्छ । यसरी तयार भएको मललाई सुनवलस्थित प्रयोगशालामा परीक्षण गरेपछि प्याकेजिङ गरेर बजारमा पठाउने गरिएको छ ।
नेपाल बायो कम्पोष्टका अध्यक्ष यामबहादुर थापाका अनुसार उद्योगले पछिल्लो एक वर्षदेखि नियमित रूपमा मासिक करिब १० टन जैविक मल उत्पादन गर्दै आएको छ । उत्पादित मल एक, पाँच र २५ किलोका प्याकेटमा बजारमा बिक्री भइरहेको छ । शौचालयजन्य फोहोर र गोबरलाई प्रशोधन गरेर मल उत्पादन गर्न सकिने भएकाले यसले फोहोर व्यवस्थापनको समस्या समाधानमा मात्र नभई रासायनिक मलको विकल्पका रूपमा जैविक मलको प्रयोग बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
‘फोहोरलाई व्यवस्थापन गर्नुपर्ने बोझका रूपमा मात्र हेर्नु हुँदैन, त्यसलाई प्रशोधन गर्न सके उपयोगी वस्तु उत्पादन गर्न सकिन्छ,’ अध्यक्ष थापाको भनाइ छ । उनका अनुसार उद्योगले एकातिर दैनिक ठूलो परिमाणमा शौचालयजन्य फोहोर व्यवस्थापन गरिरहेको छ भने अर्कोतिर कृषि क्षेत्रमा प्रयोग गर्न सकिने मल उत्पादन गरेर बजारमा पु¥याइरहेको छ ।
कम्पनीले यो परियोजना रामनगर सामुदायिक वनसँग सम्झौता गरेर २०७८ सालदेखि सञ्चालनमा ल्याएको हो । तत्कालीन अध्यक्ष क्याप्टेन किशन थापाको कार्यकालमा सामुदायिक वनको साधारणसभाबाट निर्णय भएपछि परियोजना अघि बढाइएको थियो । तीन वर्षका लागि गरिएको सम्झौताअनुसार कम्पनीले सामुदायिक वनलाई मासिक ३५ हजार रूपैयाँ भाडा र मल बिक्रीबाट हुने नाफाको ५० प्रतिशत उपलब्ध गराउने सहमति गरेको थियो ।
पाँच कठ्ठा क्षेत्रफलमा सञ्चालन भइरहेको परियोजनामा एक लाख लिटर क्षमताको प्रशोधन केन्द्र निर्माण गरिएको छ । अध्यक्ष थापाका अनुसार प्रशोधन केन्द्र निर्माणमा करिब तीन करोड रूपैयाँ र सडक निर्माणमा २५ लाख रूपैयाँ लगानी भएको छ । निजी क्षेत्रको लगानीमा स्थापना गरिएको यो उद्योगले फोहोर व्यवस्थापनलाई व्यावसायिक उत्पादनसँग जोड्ने प्रयास गरेको छ ।
परियोजना सञ्चालनका सुरुआती दिनमा विभिन्न चुनौती सामना गर्नुपरेको अध्यक्ष थापा बताउँछन् । विशेषगरी कोरोना महामारीका कारण भएको बन्दाबन्दीले उद्योग सञ्चालन र व्यवस्थापनमा समस्या उत्पन्न गरेको थियो । तर, विभिन्न कठिनाइका बाबजुद उद्योगलाई निरन्तरता दिँदै अहिले व्यावसायिक उत्पादन र बजार विस्तारको चरणमा पु¥याइएको उनको भनाइ छ । उद्योग सञ्चालनले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्नुका साथै फोहोर व्यवस्थापनमा निजी क्षेत्रले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने सन्देश दिएको छ ।
जैविक मल उत्पादनसँगै परियोजनाले वन संरक्षणमा समेत योगदान पु¥याएको कम्पनीको दाबी छ । वन क्षेत्रमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति नियन्त्रण गर्न र फोहोरका कारण हुन सक्ने आगलागीको जोखिम न्यूनीकरण गर्न परियोजनाले सहयोग पु¥याएको बताइएको छ । वन क्षेत्रबाट संकलित जैविक पदार्थलाई समेत उपयोग गर्दै मल उत्पादन गरिएकाले फोहोरको पुनःप्रयोग र वन संरक्षणलाई एकीकृत रूपमा अघि बढाउने प्रयास भएको छ ।
यद्यपि, उद्योगले उत्पादन र व्यवस्थापनको कामलाई निरन्तरता दिइरहे पनि दीर्घकालीन सञ्चालनका लागि नीतिगत र कानुनी समस्या कायमै छन् । राष्ट्रिय वन अनुसन्धानअन्तर्गतको क्षेत्रमा सञ्चालन भइरहेको परियोजनामा जग्गाको भोगाधिकार र व्यवस्थापनसम्बन्धी स्पष्ट व्यवस्था नहुँदा भविष्यमा उद्योग सञ्चालनलाई निरन्तरता दिने विषय चुनौतीपूर्ण बनेको अध्यक्ष थापाको भनाइ छ । निजी क्षेत्रले ठूलो लगानी गरेर वातावरण र सार्वजनिक सरसफाइसँग जोडिएको काम गरिरहेको अवस्थामा जग्गा व्यवस्थापन र भोगाधिकारसम्बन्धी विषयमा स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको उनको धारणा छ ।
स्थानीय सरकारले गर्नुपर्ने शौचालयजन्य फोहोरको व्यवस्थापनमा निजी क्षेत्रले लगानी गरेर काम गरिरहेको अवस्थामा यस्ता उद्योगलाई प्रोत्साहन र सहजीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ । फोहोर संकलनदेखि प्रशोधन, उत्पादन र बजार व्यवस्थापनसम्मको प्रक्रिया आफैँमा लगानी र प्राविधिक दक्षता आवश्यक पर्ने क्षेत्र हो । त्यसैले यस्ता उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सरकारी निकायको नीतिगत सहयोग, प्राविधिक सहजीकरण र बजार विस्तारमा सहकार्य आवश्यक देखिन्छ ।
नेपाल बायो कम्पोष्टको अभ्यासले सहरी फोहोर व्यवस्थापनलाई खर्चिलो दायित्वका रूपमा मात्र नभई आर्थिक सम्भावनाको क्षेत्रका रूपमा पनि विकास गर्न सकिने देखाएको छ । दैनिक हजारौँ लिटर शौचालयजन्य फोहोर व्यवस्थापन गर्दै त्यसबाट मासिक १० टन जैविक मल उत्पादन गर्नु आफैँमा फोहोरको पुनःप्रयोगमा आधारित व्यावसायिक अभ्यास हो । यस्ता उद्योगलाई प्रोत्साहन र विस्तार गर्न सके सहरको सरसफाइ, वन तथा वातावरण संरक्षण, स्थानीय रोजगारी सिर्जना र जैविक कृषि प्रवद्र्धनमा एकसाथ योगदान पुग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?