Butwal Today

१२औँ उद्योग दिवसका अवसरमा पाल्पाका दुई उद्योगी सम्मानित

११ मंसिर २०८३, शुक्रबार
अ
अ+
अ-

पाल्पा ।

१२औँ उद्योग दिवसका अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, तानसेन पाल्पाले जिल्लाका उत्कृष्ट दुई उद्योगीलाई सम्मान गरेको छ। सम्मानित हुनेहरूमा तानसेन नगरपालिका–४ का मनोजराज शर्मा पौड्याल (पौड्याल ढाका उद्योग) र रामपुर नगरपालिका–६ का कृष्णकुमार अर्याल (कृष्ण उन्नत भैँसी विकास तथा बीउबिजन उत्पादन स्रोत केन्द्र) रहेका छन्।

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिर, प्रदेशसभा सदस्यद्वय वीरबहादुर राना र खेमबहादुर सारु तथा घरेलु तथा साना उद्योग कार्यालयका वरिष्ठ उद्योग अधिकृत केशवबहादुर सुनारले उद्योगी पौड्याल र अर्याललाई जनही ३५ हजार रुपैयाँ नगद, दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान तथा पुरस्कृत गरेका हुन्।

सम्मानित पशुपालक उद्योगी अर्यालले विगत २० वर्षदेखि गाईभैँसीपालन गर्दै पूर्वी पाल्पाको रामपुरमा प्रेरणाको स्रोतका रूपमा पहिचान बनाएका छन्। हाल अर्यालले उन्नत जातका ५० वटा गाईभैँसी पालन गर्दै आएका छन्। उनले चार जनालाई नियमित रोजगारी दिनुका साथै समय–समयमा १० देखि २० जनालाई थप रोजगारी दिँदै आएको बताए।

उद्योगी अर्यालले आफ्नो पेसाप्रति पूर्ण सन्तुष्टि व्यक्त गर्दै गाईभैँसीपालनबाटै छोरालाई एमबीबीएस चिकित्सक र छोरीलाई बीएन नर्सिङ पढाउन सफल भएको बताए। साथै, यसै पेसाबाट समाजमा राम्रो सम्मानसमेत पाएको उनको भनाइ छ। उनले आफ्नै २० रोपनी र ८० रोपनी जग्गा लिजमा लिएर कुल १०० रोपनीमा घाँसखेती गर्दै आएको बताए।

पाल्पा ढाका कपडाका लागि परिचित जिल्ला हो। जिल्लामा १४ वटा ढाका उद्योग सञ्चालनमा रहेका छन्। सम्मानित उद्योगी पौड्यालले आफू तानसेनमा बसेर विगत ४० वर्षदेखि पाल्पाली ढाका उद्योग सञ्चालन गर्दै आएको बताए। पौड्यालले आफ्नो ढाका उद्योगमा ४० जनालाई नियमित रोजगारी दिँदै आएका छन्। उनको उद्योगमा काम गर्ने अधिकांश महिला रहेका छन्।

पौड्यालले ढाका उद्योगमा उत्पादन हुने कपडाका बुट्टा तथा डिजाइन आफैँ तयार गर्दै आएको बताए। केन्द्र, प्रदेश तथा स्थानीय सरकारले उद्योगमैत्री वातावरण सिर्जना गरिदिए सयौँलाई रोजगारी दिन सक्ने उनले बताए। उद्योगी पौड्यालले तीनै तहका सरकारबाट सहयोगको अपेक्षा रहेकोसमेत बताए।

घरेलु तथा साना उद्योग कार्यालय, पाल्पामा हालसम्म दुई हजार ७६० वटा उद्योग दर्ता भएका छन्। गत आर्थिक वर्षमा मात्रै ८४ वटा नयाँ उद्योग थपिएका छन् भने १०८ वटा उद्योग पालिकामा स्थानान्तरण तथा खारेजी भएका छन्। कार्यालयका प्रमुख तथा वरिष्ठ उद्योग अधिकृत केशवबहादुर सुनारका अनुसार जिल्लाका उद्योगहरूमा २२ करोड २० लाख रुपैयाँ लगानी भएको छ। घरेलु तथा साना उद्योग कार्यालय, पाल्पाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?